शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन ढिलो बोल्यौ भन्नेहरुलाई साम्राज्ञीको जवाफ, ‘म पागल छु ? यति ढिलो गरी बोल्न ?’

बिहीबार, १८ असार २०७७, ०८ : ४३
बिहीबार, १८ असार २०७७

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्मी क्षेत्रबारे जे जति कुराको खुलासा गरेकी छिन् त्यसबारे ढिलो मुख खोलेको भन्नेहरुलाई जवाफ दिएकी छिन् । आफूले त्यस्तो रहरले नभई बाध्यताले गर्नुपरेको पाि बताइन् ।

बुधबार बेलुका आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै आफूलाई धेरैले किन त्यति बेला नै मुख नखोलेको र किन ढिलो बोलेको भनेर प्रश्न सोधिरहेको बताइन् । यसबारे जानकारी दिँदै उनले भनिन्, ‘म पागल छु ? यति ढिलो बोल्न ? मैले पहिले नै यसबारे बोल्न खोज्दा मलाई धेरैजनाले रोक्नुभयो । एउटा अन्तरवार्तामा मैले यसबारे थोरै कुरा कोट्याउँदा पनि मेरो संघर्षलाई घुमाएर मलाई नै नराम्रो बनाउन खोजियो । थुप्रै नचाहिँदो समाचारहरु आए । त्यो कुराले मेरो परिवारलाई असाध्यै नराम्रो लागेको थियो ।’

यसबारे उनले थपिन्, ‘उहाँहरुलाई नराम्रो यसकारण लाग्यो किनभने उहाँहरुलाई सही कुरामा पनि यति धेरै ‘पावर र पोलिटिक्स’ चल्ने कुरा र साँचो कुरालाई तोडमाड गरेर आफैंलाई नराम्रो बनाइने कुरा थाहा भयो । उहाँहरु दुःखी हुनुहुन्थ्यो । त्यसपछि उहाँहरुले नै यस्तो कुरा छोड्न भन्नुभयो ।’

उनले आफूलाई यस्ता कुराहरु लुकाउन मन नलाग्ने बताउँदै यसबारे झन् बोल्न मन लाग्ने पनि बताइन् । तर आफ्नो परिवार नै दुःखी भएका बेला, उहाँहरु र आफ्नै लागि भएपनि चुप लागेर बस्नु परेको उनले बताइन् । यसबारे उनी थप्छिन्, ‘एक त बच्चा थिएँ, मैले सही कुरा गर्दा पनि मान्यता दिँइदैन रहेछ भन्ने कुरा मेरो दिमागमा सेट भयो ।’

यद्यपि, यी सबै हुँदा पनि आफूले काम गर्न नछोडेको उनले बताइन् । उनले करिब दुई महिना मात्र खाली बसेर लगातार काम गरेको पनि बताइन् । आफूले खाली नबस्ने दौरानमा नयाँ फिल्मको अनुभव बटुल्ने मौका पाएको जानकारी दिइन् ।


तीनवटा फिल्ममा अभिनय गरेपछि उनलाई फिल्मी क्षेत्रका मानिसहरु त एउटै हुँदा रहेछन् भन्ने लागेको भयो । बाहिरबाट मात्र हेर्दा राम्रो र रमाइलो तर भित्र वास्तविकता त भयानक हुँदो रहेछ भन्ने लाग्यो । त्यसपछि फिल्ममा अब काम नगर्ने सोच पनि बनाइसकेको उनले बताइन् ।

तर आमाले यत्रो दुःख गरेर एउटा नाम कमाइरहेको, आफ्नो खुट्टामा उभिसकेको, यति अघि बढिसकेपछि किन पछाडि फर्कने भनेको आड दिएको र साथीहरुले पनि राम्रो फिल्ममा अभिनय गरेपछि र समय आएपछि उनको कुरा सबैले सुन्न थाल्ने बताएपछि पुनः फिल्ममा लाग्ने निश्चय गरेको उनले बताइन् ।

त्यसपछिका फिल्मको अनुभव निकै राम्रो भएको उनले बताइन् । शिशिर राणा, आर्यन सिग्देल, पुनम क्षेत्री गौतमले उनको आँखा खोलिदिएको उनले बताइन् । उनीहरुलाई देखेर नेपाली फिल्मी क्षेत्रमा राम्रो मान्छेहरु पनि छन् र राम्रो फिल्म बनाउनेहरु पनि टन्नै छन् भन्ने आशा पलाएको उनले जानकारी दिइन् ।

आफूले नयाँ मान्छेहरुसँग काम गरेता पनि, राम्रो फिल्ममा अभिनय गरेता पनि उनलाई कताकता नराम्रो काम गरेको जस्तो भान हुन थालेको उनले बताइन् । क्वारेन्टिनको बेलामा आफ्नो दिमागमा पुराना कुराहरु खेल्न थालेको र यो कुरालाई आफूले कहिले पनि बिर्सन नसकेको उनले बताइन् । उनले भनिन्, ‘नराम्रो कुरा तपाईंसँग सधैं भरी रहिरहन्छ । यी ट्याटुजस्तै हुन्छन् । त्यो पनि दिमागमा । तसर्थ मैले आफ्नो अनुभव साझा गर्नै पर्यो ।’

आफ्ना भावनालाई पोेखेपछि आफूले निकै हल्का महसुस गरेको उनले बताइन् । आफूलाई बुझिदिने र समर्थन गर्ने सबैलाई उनले धन्यवाद पनि दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप