बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टोखाले सलह मार्नेलाई प्रतिकिलो ५० प्रोत्साहन भत्ता दिने

बिहीबार, १८ असार २०७७, ११ : ४६
बिहीबार, १८ असार २०७७

टोखा नगरपालिकाले सलह किरा सङ्कलन गरेर आफ्नो वडामा बुझाउने व्यक्तिलाई प्रतिकिलो रु ५० प्रोत्साहन भत्ता दिने भएको छ । 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नेपालको कृषि क्षेत्रको चुनौतीका रूपमा देखिएको सलह किरा नियन्त्रणका लागि उक्त योजना अगाडि सारेको हो ।
 
नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सलह किराले ठूलो क्षेत्रमा कृषिबाली नष्ट गर्न थालेपछि यसको नियन्त्रणका लागि प्रोत्साहनस्वरुप रकम उपलब्ध गराउने घोषणा गरिएको जानकारी दिए । 

टोखाले सलह किरा नियन्त्रणका लागि किराको बासस्थान पहिचान गरी बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ७ बजेसम्म मालथियन, क्लोरोपाइरिफस, बोरिक एसिडलगायतका विषादी प्रयोग गर्न किसानलाई आग्रह गरेको छ ।
 
यस्तै सलह बसेको रुख तथा बोटविरुवा हल्लाई किरा भगाउने, सलह किरा बढी प्रोटिनयुक्त भएकाले मारेर हाँस तथा कुखुराको दानाका रूपमा प्रयोग गर्न कृषकलाई सुझाव दिएको छ । 

टोखाले सलह किरा साँझपख बोटबिरुवामा झुण्ड अवस्थामा बस्ने भएकाले यसलाई भगाउन थाल, मादल, टिन ठटाउने, खेतीबालीलाई संरक्षणका लागि झुलले बालीलाई ढाक्नुपर्ने बताएको छ । टोखामा ११ वडा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप