बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउन माग

बिहीबार, १८ असार २०७७, १३ : ५९
बिहीबार, १८ असार २०७७

काठमाडौं । बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनुपर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टी गर्नुपर्ने बताएका हुन् । सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खरबौँ लगानी भएपनि यसलाई हेर्ने छुट्टै मन्त्रालय नभएको बताए ।

यात्रुबाहक, मालबाहक लगायत विभिन्न प्रकाशका यातायातका साधन सञ्चालनमा रहेपनि यसका लागि छुट्टै नीति नभएको उनले बताए । नीजिले पनि सार्वजनिक भाडाको काम गरिहरेको उल्लेख गर्दै उनले यातायात व्यवसायीहरुलाई १० प्रतिशत पुनर्कर्जा र ढृुवानीमा भ्याट छुट दिएर टिडिएस मात्रै लाग्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरे ।

सांसद विमला राई पौडेलले अति विशिष्ट व्यक्तिहरुका लागि राम्रो सुरक्षा प्रवन्ध गर्ने चलन रहेपनि पछिल्लो समय स्वास्थ्यकर्मीहरुमाथि आक्रमण भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । अहिलेको संकटको समयमा अति विशिष्ट व्यक्ति भनेका स्वास्थ्यकर्मी भएपनि उनीहरुमाथि आक्रमण भइरहेको उनले बताइन् । स्वास्थ्यकर्मी नै सुरक्षित नभए आमनागरिक कसरी सुरक्षित हुन्छन् भन्दै उनले ध्यानाकर्षण गराइन् ।

सांसद शान्तिकुमारी अधिकारीले असारले विकासले विनास निम्त्याएको बताइन् । जेठ १५ मा बजेट सार्वजनिक भएर असारमा पास हुने भएपनि पुसमा मात्रै सम्झौता गर्न सुरु हुने परम्परा तोड्नुपर्ने बताइन् । साउन र भदौ महिनामा कर्मचारीहरु पालैपालो विदामा बस्ने हुँदा काममा ढिलाई भइरहेको उनले बताइन् । सम्बन्धित मन्त्रालयहरुले अख्तियारी चाँडो दिएर कार्तिकभित्र कम सुरु गरी जेठ मसान्तमा काम सक्नुपर्ने नीति बनाउन जरुरी रहेको उनले बताइन् ।

सांसद शेरबहादुर कुँवरले अस्तव्यस्त क्वारेन्टिनका कारण कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको बताए । संकलन भएका स्वावको पीसीआर परीक्षणका लागि महिनौँ दिनसम्म कुर्नुपर्ने अवस्थाले समुदायस्तरमा कोरोना फैलिने डर भएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप