बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मुसहर समुदायद्वारा जनकपुरमा प्रदर्शन, प्रहरीद्वारा हवाई फायर

बिहीबार, १८ असार २०७७, १७ : ५९
बिहीबार, १८ असार २०७७

जनकपुर । न्यायको माग गर्दै दलित समुदायले जनकपुरमा प्रदर्शन गरेका छन् । बिहिबार प्रदेश नम्बर २ भरकै मुसहर समुदायले मलर सदा, शम्भु सदा र राजु सदाको न्यायको लागि सरकारको विरोधमा प्रदर्शन गरेका हुन् । कोरोना महामारीको क्रममा सप्तरीमा मलर सदा खान नपाएर भोकै मर्नुपरेको थियो भने धनुषाका राजु सदाले प्रादेशिक अस्पताल जनकपुरस्थित आईसोलेसनमा उपचार अभावमा मृत्यूवरण गरेका थिए ।

त्यस्तै शम्भु सदा सबैलास्थित ईलाका प्रहरी कार्यालयको शौचालयको भेन्टिलेटरमा  झुण्डिएको अवस्थामा भेटिएका थिए  । यी सबै मृत्यू राज्यको लापरवाहीको कारणले भएको आरोप लगाउदै दलित संघर्ष समितिले प्रदर्शन गरेको हो । उनीहरुले प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालय समेत घेराउ गरेका थिए ।

दोषीलाई कारवाहीको माग गर्दै जनकपुरको संकट मोचन मन्दिर अघिबाट सुरु भएको जुलुस ब्रह्मपुरी चोक, मुख्यमन्त्रीको कार्यालय घेराउ गर्दै मिल्स एरिया, भानुचोक, शिवचोक र जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा मिल्स एरियामा प्रदर्शनकारीको भिडले प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । भीड अनियन्त्रित भएपछि हवाई फायर र ३ राउण्ड अश्रुग्यास समेत हानिएको उनले बताए । 

मृत्यु भएका शम्भु सदाको पोस्टमार्टमको लागि फरेन्सिक रिपोर्टको प्रतिक्षामा अस्पताल रहेको छ । उनको परिवारलाई प्रदेश सरकारले क्षतिपूर्ति स्वरुप ५ लाख रुपैयाँ दिएको छ भने राजु सदाको परिवारलाई पनि ५ लाख रुपैया क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप