बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छैटौं अधिवेशनका क्रममा प्रतिनिधिसभाले १०३ घण्टा २५ मिनेट खर्चिएर के–के गर्‍यो ?

बिहीबार, १८ असार २०७७, १९ : ४४
बिहीबार, १८ असार २०७७

काठमाडौं । संघीय संसदको छैटौं अधिवेशन अकस्मात अन्त्य गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्तिसंघर्षको परिणामस्वरुप छैटौं अधिवेशन बिहीबार अन्त्य गरिएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी हुन् । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते बस्ने गरी तोकेको अवस्थामा बिहीबार नै राष्ट्रपतिबाट संसद अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाइएको थियो । 

५६ दिनमा २६ बैठक
संघीय संसदको छैटौं अधिवेशनसँगै प्रतिनिधिसभाको बैठक गत वैशाख २६ गते शुक्रबार प्रारम्भ भएको थियो । त्यसयता ५६ दिनमा २५ दिन प्रतिनिधिसभा बैठक बसेको थियो । ती २५ दिनमा २६ पटक बैठक बसेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस अवधिमा कुल १०३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भएको र यही अधिवेशनमा संघीय संसदको दुवै सदनको संयुक्त बैठक दुई पटक बसेर ५ भण्टा १० मिनेट संसदीय काम कारवाही भएको पनि सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभामा वैशाख २९, ३० र ३१ गते आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल भई अर्थमन्त्री डा. युवराज खतिवडाबाट जवाफ दिने काम भएको थियो ।

यस्तै, राष्ट्रपतिले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति पेश भएको धन्यवाद प्रस्तावलाई जेठ २ गतेको बैठकले सर्वसम्मतिबाट पारित गरेको थियो । जेठ ४ र ५ गते सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको थियो भने जेठ ६ गते नीति तथा कार्यक्रम बहुमतबाट पारित भएको थियो ।

जेठ १५ गतेको बैठकमा आर्थिक वर्ष २०७७÷८८ का लागि राजश्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) पेश भएको थियो । जेठ १८ गते बजेटउपर छलफल भएको थियो । सांसदहरुले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १९ गतेको बैठकमा दिएका थिए ।

जेठ १९ गतेको बैठकमा विनियोजन विधेयकमाथि दफावार छलफल भई सम्बन्धित मन्त्रीहरुले जेठ २६, २७ र २८ गते जवाफ दिएका थिए । जेठ २८ गतेको बैठकले उक्त विधेयक बहुमतबाट पारित गरेको थियो ।

१४ विधेयक दर्ता
संघीय संसदको छैटौं अधिवेशनमा प्रतिनिधिसभामा १० सरकारी र ४ गैरसरकारी गरी जम्मा १४ विधेयक दर्ता भए । तीमध्ये ६ वटा विधेयक संसदको दुवै सदनबाट पारित भइसकेको छ । दुई वटा विधेयक सभामा प्रस्तुत भइसकेको र दुई वटा विधेयक प्र्रस्तुत हुन बाँकी रहेको संसद सचिवालयले जनाएको छ ।

सभाको दोस्रो, तेस्रो, चौथो र पाँचौं अधिवेशनमा दर्ता भएर विभिन्न चरणमा रहेका २४ विधेयकमध्ये एउटा विधेयक दुवै सदनबाट पारित भइसकेको र ९ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ । एउटा विधेयक भने प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पठाइएको सचिवालयले जनाएको छ ।

यसैगरी तीनवटा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा प्रस्तुत भएको छ भने दुईवटा विधेयकको सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रतिनिधिसभामा टेबल भएको अवस्था छ । तीनवटा विधेयक प्रतिनिधिसभामा प्रस्तुत भइसकेको र चार वटा सरकारी र एउटा गैरसरकारी विधेयक भने प्रस्तुत हुन बाँकी रहेको सचिवालयले जानकारी दिएको छ ।

त्यसैगरी राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभाको तेस्रो, चौथो, पाँचौ र छैटौं अधिवेशनमा प्राप्त विभिन्न ८ विधेयकमध्ये दुईवटा विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा फिर्ता पठाइएको छ । सचिवालयका अनुसार ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ भने एउटा विधेयक सम्बन्धित समितिमा विचाराधीन रहेको जनाइएको छ । एउटा विधेयकमाथिको सैद्धान्तिक छलफल समाप्त भइसकेको र तीनवटा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुलमात्र भएको अवस्था रहेको पनि सचिवालयले जनाएको छ ।
१० वटा विधेयक पारित
संसदको छैटौं अधिवेशनका क्रममा प्रतिनिधिसभाबाट १० वटा विधेयक पारित भएका छन् । तीमध्ये ८ विधेयक प्रतिनिधिसभामा उत्पत्ति भएका हुन् भने दुई वटा विधेयक राष्ट्रियसभामा उत्पत्ति भएका हुन् ।
प्रतिनिधिसभाबाट उत्पत्ति भई पारित विधेयकहरु
१. रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) विधेयक, २०७७
२. नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७
३. आर्थिक विधेयक, २०७७
४. विनियोजन विधेयक, २०७७
५. राष्ट्र ऋण उठाउने विधेयक, २०७७
६. ऋण तथा जमानत (चौबीसौं संशोधन) विधेयक, २०७७
७. केही अध्यादेश खारेज गरी नेपाल ऐनको साबिकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७
८. लोकसेवा आयोग विधेयक, २०७७

राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभाबाट पारित 
९. नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७७
१०. संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) विधेयक, २०७७

उल्लेखित विधेयकमध्ये नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि गत जेठ ३१ गते प्रतिनिधिसभा बैठकमा दफावार छलफल भई मत विभाजन हुँदा उक्त विधेयकलाई पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा २५८ मत र प्रस्तावको विपक्ष अर्थात् ‘मत दिन्न’ भन्ने पक्षमा ‘शून्य’ मत परेकाले उक्त विधेयक प्रतिनिधिसभाको कुल सदस्य संख्याको दुई तिहाईभन्दा बढी मतबाट पारित भएको थियो ।

छैटौं अधिवेशन अवधिमभा पूर्व सदस्य विश्वनाथप्रसाद अग्रवाल, शिवनारायण उराव, दुर्योधनसिंह चौधरी, मेघराज नेपाली (निषाद) र प्रतिनिधिसभा सदस्य ज्ञानकुमारी छन्त्यालको निधन भएकोमा शोक प्रस्तावहरु पारित भएको पनि सचिवालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप