शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधामन्त्रीले राजीनामा दिनुहुन्न, उहाँकै पक्षमा बहुमत छः गोकुल बाँस्कोटा

बिहीबार, १८ असार २०७७, २० : ५७
बिहीबार, १८ असार २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने मागमा कुनै तर्क नभएको बताएका छन् । 

उनले सरकारले गर्ने काम निरन्तर गरिरहेकाले पार्टीमा राजीनामाको माग उठनुमा कुनै तर्क नभएको बताए । 

नेता बाँस्कोटाले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिन नपर्ने र नदिने पनि बताए । 

उनले भने, ‘खास गरीकन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ दुईवटै पद छोडनुपर्छ भन्ने कुरा हो, यो चाहिं जम्माजम्मीमा काम नलाग्ने कुतर्क हो । यो त नेताहरुलाई पनि थाहा छ । त्यसैले जे मिलेको छैन उहाँहरु छलफल गर्नुहुन्छ । पर्सी बैठक हुने हो । भोलि उहाँहरु दुईवटा अध्यक्ष लामो छलफल गर्नुहुन्छ, होला । संवादबाटै निकास खोज्ने हो । त्यस्तो धेरै पेचिलो छैन ।’

 बाँस्कोटाले नेकपासित विभाजन हुने, एकतालाई बलियो बनाउने वा नेताहरुबीच कम्प्रमाइज हुने बाहेकको विकल्प नभएको पनिबताए । उनले भने, ‘नेकपासित के विकल्प छन् ? या त विभाजन हुन प¥यो या त एकता गर्नप¥यो या त कम्प्रमाइज गर्नप¥यो । यो भन्दा बाँकी त कुनै विकल्प नेकपासित छैन नि । सबैलाई थाहा छ, नेकपा संक्रमणकालमा चलिरहेको छ । त्यसैले यस्तो बेलामा दुईवटा स्कुलिङको द्वन्द्वपनि देखिन्छ । त्यो कुरा नेताहरुलाई थाहा छ ।’
उनले बैठकमा राजीनामाको कुरा उठ्नु स्वभाविक भएको बताए । लोकतन्त्रमा आफ्ना कुरा सबैले राख्न सक्ने तर अहिले सम्म लक्ष्मण रेखा कसैले ननाघेको बताए । उनले भने, ‘बैठक बस्छन् आफ्ना कुरा राख्छन्, आफ्नो दृष्टिकोण राख्छन् तर लक्ष्मण रेखा कसैले पनि नाघेको मैले देखेको छैन । नाघ्ने कोसिस पनि कसैले गर्दैन किनभने एकता गर्दा नै यसका पेचिला पक्ष र यसका उज्ज्वल पक्षहरुको बारेमा जानकार नै छन् ।’

उनले प्रधानमन्त्री र पार्टी अध्यक्षको पदबाट राजीनामा माग गर्ने एउटा कुरा भएको तर दिने या नदिने भन्ने कुरा प्रधानमन्त्रीको स्वविवेकको कुरा भएको बताए । उनले अझैपनि बहुमत प्रधानमन्त्रीकै पक्षमा रहेकाले राजीनामा दिनुपर्ने अवस्था नरहेको दावी गरे । 

उनले यक्ति हेरेर सिद्धान्तहरुको निरुपण वा प्रतिवादन गर्न नहुने समेत बताए ।  प्रधानमन्त्री पाँच वर्षलाई निर्वाचित भएको र दुईवटा अध्यक्ष महाधिवेशन नहुँदा सम्मलाई अध्यक्ष भएकाले एक व्यक्ति एक पद लागू नहुने पनि उनको तर्क छ । 

उनले अहिले प्रधानमन्त्रीमाथि कुनै ठूलो चौतर्फी आक्रमण पनि नभएको बताए । 

नेता बाँस्कोटाले संसद अधिवेशन अन्त्य गर्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी दलका नेता र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई समेत जानकारी रहेको दावी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप