शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्वारेन्टिन होटलभित्रको ‘सेक्स स्क्यान्डल’ अष्ट्रेलियाको मेलबर्नमा कोरोनाभाइरस फैलाउन जिम्मेवार ?

शुक्रबार, १९ असार २०७७, ०९ : ०५
शुक्रबार, १९ असार २०७७

विदेशबाट आएका व्यक्तिहरुको क्वारेन्टिनका लागि प्रयोग गरिएको एक होटलका अनुबन्धित कर्मचारीले निर्देशिका पालना नगरेको  र लकडाउनमा भएका व्यक्तिहरुसँग यौन सम्बन्ध स्थापित गरिएको भन्ने आरोपमाथि  अष्ट्रेलियाका अधिकारीले न्यायिक छानबिनको थालनी गरेका छन् ।

राज्यका प्रमुख ड्यानियल एन्ड्रूले बिहिबार राज्य सरकारलाई छानबिनका लागि ३ मिलियन डलर सहयोग गर्ने घोषणा गरेका छन् । यसअघि उनले मे महिनाको अन्त्य र जुनको पहिलो सातातिर कोरोना संक्रमण बढ्नुमा क्वारेन्टिनका लागि तोकिएको होटलले नियम उल्लंघन गर्नुसँग सम्बन्धित भएको हुनसक्ने अनुमान गरेका थिए ।

सरकारले सीमा पार गरेर आएका व्यक्तिहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नपर्ने नियम लागू गरेको थियो । यसका लागि सरकारले थुप्रै होटल निश्चित गरेको थियो । अष्ट्रेलियामा आउने जो सुकै पनि १४ दिनको क्वारेन्टिनमा बस्नुपर्दछ । यसका लागि सरकारले प्रबन्ध मिलाएको छ ।

अष्ट्रेलियाका नागरिक र पीआरधारीलाई अत्यावश्यक कामका लागि देशमा प्रवेशको अनुमती दिइएको थियो ।

एबीसीका अनुसार मेलबर्नको स्ट्यामफोर्ड प्लाजा होटलसँग सम्बन्धित ३१ जनामा कोरोना संक्रमण देखिएको छ  । यस्तै अन्य संक्रमित स्वान्टन होटलसँग सम्बन्धित छन् ।

‘प्रस्ट रुपमा देख्न सकिन्छ कि यहाँ जे भयो त्यो अस्वीकार्य छ । खासमा के भएको हो, त्यो हामीले थाहा पाउन जरुरी छ,’ एन्ड्रूले एक वक्तव्यमा बताए ।

सीएनएनसँग सम्बन्धित नाइनन्यूजका अनुसार केही कर्मचारीले आइसोलेशनमा भएका पाहुनासँग यौन सम्बन्ध पनि स्थापित गरेको आरोप छ । साथै, सुरक्षाकर्मीमा तालिमको कमी पनि देखिएको आरोपमा उल्लेख छ । एक अनुबन्धित सुरक्षाकर्मीले टुडे शोलाई दिएको जानकारी अनुसार काम सुरु गर्नका लागि उनलाई पाँच मिनेटको तालिम दिइएको थियो ।

अधिकारीले आरोपको पुष्टि भने गरेका छैनन् । सीएनएन प्रतिक्रियाका लागि  राज्यमा क्वारेन्टिनको व्यवस्था मिलाइरहेको भिक्टोरियाको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेज पुगेको थियो । सीएनएनसँग सम्बन्धित सेभेनसँगको कुराकानीमा अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले भने, ‘यहाँ दुईवटा मामिलामा नियम तोडेको स्पष्ट रुपमा देखिएको छ ।’

सुरक्षाकर्मी र क्वारेन्टिनमा भएका पाहुना एकैठाउँमा सुतेको भन्ने आरोपबारे के भन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा हन्टले भने, ‘यदि यी कुरा सही हुन् भने यो पूर्ण रुपमा अस्विकार छ ।’

भिक्टोरियामा हालै कोरोनाभाइरसको संक्रमण दर उच्च देखिएपछि  मेलबर्नका केही स्थानमा पुनः लकडाउन लागू गरिएको छ । उक्त राज्यमा बुधबार मात्रै ७३ जनामा कोरोना संक्रमण देखिएको थियो । यससँगै यहाँ सक्रिय संक्रमितको संख्या ३ सय ७० पुगेको छ ।

एन्ड्रूले मेलबर्नमा विदेशी पाहुनालाई दुई हप्तासम्म प्रवेशमा प्रतिबन्ध लगाइएको जानकारी दिए ।

हालसम्म ६० हजार अष्ट्रेलियाली नागरिक घर फर्किसकेको र उनीहरुले होटल क्वारेन्टिन व्यवस्थाको नियमको पालना गरेको हन्टले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप