केन्द्रीय संस्करण

डायनोसोरभन्दा पुरानो उभयचर प्राणी

पानीमा हैन, भालेको मुखमा अण्डा पार्ने विचित्रको भ्यागुतो पनि हुन्छ

person explore access_timeअसार १९, २०७७ chat_bubble_outline0

उभयचर प्राणीहरु यस संसारमा करोडौँ वर्ष पहिलेदेखि बस्दै आएका छन् । उनीहरु भीमकाय डायनोसोरको पालोभन्दा पनि अघिदेखि यहाँ बस्दै आएका हुन् । उनीहरुको उत्पत्ति करिब ४१ करोड वर्ष पहिले माछाबाट भएको हो । मेरुदण्ड भएको जमिनमा बस्ने पहिलो प्राणीको रुपमा उभयचर प्राणीलाई नै मानिन्छ । आज तिनीहरु ध्रुवीय क्षेत्रबाहेक संसारको जुनसुकै भागमा पाउन सकिन्छ । तिनीहरु मरुभूमिदेखि लिएर वर्षागर्ने जंगलको हरेक भागमा पाइन्छ । कोही त उच्च हिमालयमा बस्ने गरेको पाइएको छ । प्रायः जसो उभयचर प्राणीहरुले कम्तीमा आफ्नो जीवनको एक भाग पानीमा बिताउने गर्छन् ।

उभयचर प्राणीहरु चिसो रगत भएका प्राणीहरु हुन् । तिनीहरुले चरा र स्तनधारी प्राणीहरुले जस्तै आफ्नो शरीरको तापक्रम नियन्त्रण गर्न सक्तैनन् । यसको लागि भने तिनीहरु कहिलेकाहीँ घाम त कहिले चिसो ठाउँमा बसेर आफ्नो शरीरको तापक्रममा फेरबदल गर्ने गर्छन् । चिसो ठाउँमा बस्ने धेरै उभयचर प्राणीहरु विभिन्न कारणले गर्दा लामो समयका लागि शीतनिद्रामा जाने गर्छन् । प्रायः उभयचर प्राणीहरुको छाला चिल्लो हुन्छ । अरु प्राणीहरुको जस्तै तिनीहरुको छालामा स्केल वा रौं हुँदैन । मेरुदण्ड भएका अरु प्राणीहरु जस्तै श्वासप्रश्वासका लागि तिनीहरुको फोक्सो भने अवश्य हुन्छ । तर तिनीहरुले छालाको माध्यमले पनि सास फेर्न सक्छन् । यही कारण नै तिनीहरुको छाला सधैं ओसिलो हुन्छ ।

प्रायः सबै उभयचर प्राणीहरुले पानीमा अण्डा पार्ने गर्छन् । बच्चा नजन्मेसम्म तिनीहरु बाक्लो जेलीजस्तो पदार्थले घेरिएका हुन्छन् । यसले अण्डालाई अरुबाट जोगाउने काम गर्छ । अण्डाबाट स–साना ट्याडपोल निस्कन्छ । जसलाई हामी कहिलेकाहीँ घन्टाउके भन्ने गर्छौँ । ट्याडपोलहरु पानीमा नै बस्ने गर्छन् र त्यहाँ भएका  स–साना झारपातहरु खान्छन् । पौडनका लागि तिनीहरुको पुच्छर र सास फेर्नका लागि माछाको जस्तो फुल्का (गिल्स) हुन्छ । बिस्तारै तिनीहरु उभयचर प्राणीमा विकसित हुँदै जान्छन् र यसै समयमा उनीहरुको गिल्स फोक्सोमा परिणत हुन्छ र तिनीहरु जमिन बस्नका लागि तयार हुन्छन् ।

http://justfunfacts.com

उभयचर प्राणीका प्रकारहरु

यस संसारमा अहिले ४४०० प्रजातिका उभयचर प्राणीहरु पाइन्छन् । तिनीहरुलाई तीन भागमा विभाजन गरिएको छ । १) भ्यागुता २) स्यालाम्यान्डर र न्युट ३) केसिलियनस

१) भ्यागुता  (Frog)

अहिले करिब ४,००० प्रजातिका भ्यागुताहरु यस संसारमा रहेका छन् । भ्यागुताहरुमा टोड नामक भिन्न प्रकारको समूहको प्राणी पनि हुन्छ । भ्यागुता र टोडमा त्यति धेरै भिन्नता नभए पनि तिनीहरु भ्यागुताभन्दा अलि सुख्खा र खस्रा हुन्छन् । तिनीहरु धेरै समय जमिनमा नै बिताउने गर्छन् ।

प्रायः सबै भ्यागुताको छोटो जीउ हुन्छ । जीउको तुलनामा तिनीहरुको पछाडिको खुट्टा भने निकै लामो हुन्छ । तिनीहरु बडो फुर्तिका साथ पौडन र उफ्रन सक्छन् । कोही त रुखमा पनि चढ्न सक्छन् । तिनीहरुको खुट्टाको तल्लो भागमा  टाँसिने गद्दा हुन्छ । त्यसैको मदतले तिनीहरु सजिलै रुखमा चढ्न सक्छन् । तिनीहरुको मुख्य आहार भनेको स–साना कीराफट्याङ्ग्रा र माकुराहरु हुन् । सिकार पक्रन  तिनीहरुले आफ्नो लामो जिब्रोको प्रयोग गर्छन् । पहिले तिनीहरु आफ्नो सिकारलाई नियालेर हेर्ने गर्छन् र नजिक आउने बित्तिकै आफ्नो लामो जिब्रोले पक्रने गर्छन् । तिनीहरु चर्को ठूलो स्वरले पनि कराउन सक्छन् । तिनीहरुको चिउँडोको तलको भाग फुल्ने गर्छ जसले गर्दा उनीहरुको स्वर अझ थर्थराउँने भएर टाढासम्म सुनिने गर्छ ।

धेरै जसो भ्यागुताहरुले पानीमा नै अण्डा पार्ने गर्छन् । तर पानीमा हैन, भालेको मुखमा अण्डा पार्ने विचित्रको भ्यागुतो पनि हुन्छ । पोथी डार्विन भ्यागुताले भने भाले डार्बिन भ्यागुताको मुखमा अण्डा पार्छ । भालेले भने अण्डा परिपक्व भएर बच्चा ननिक्लेसम्म  अण्डालाई मुखमा राख्ने गर्छ । बच्चा निक्लने बेलामा भने त्यसले अण्डालाई पानीमा छाडिदिन्छ ।  

२) स्यालाम्यान्डर (Salamander) र न्युट (Newt)

स्यालाम्यान्डर र न्युट हेर्दा छेपारो जस्तो देखिन्छ । तिनीहरुको लम्बाई १०–२० सेन्टिमिटरको हुन्छ । तर कहिलेकाहीँ तिनीहरुको लम्बाई योभन्दा पनि ठूलो हुने गर्छ । स्यालाम्यान्डर र न्युट प्रजाति भित्र कोङ्गो इल पनि पर्छ । तिनीहरु इल माछा जस्तै हुन्छन् तर सामान्य इलभन्दा फरक तिनीहरुका काम नै नलाग्ने साना खुट्टाहरु हुन्छन् । एक समूहको स्यालाम्यान्डर र न्युटको त फोक्सो नै हुँदैन । श्वासप्रश्वासको लागि तिनीहरु आफ्नो छाला र मुखको बाहिरी भागको प्रयोग गर्ने गर्छन् । यसका लागि तिनीहरुको छाला सुख्खा हुनुहुँदैन । त्यही भएर तिनीहरु गुफा र ढुङ्गामुनि लुक्ने गर्छन् । चिसो दिनहरुमा मात्र तिनीहरु बाहिर आउने गर्छन् । स्यालाम्यान्डर र न्युटको मुख्य आहरा भनेको साना कीराहरु हुन् । ठुला प्राजातिका स्यालाम्यान्डर र न्युटले भने साना चरा र मुसा पनि खाने गरेको पाइएको छ ।

३) केसिलियन (Caecilian)

केसिलियनहरु उष्णप्रदेशीय क्षेत्र र तिनको आसपासमा बसोबास गर्छन् । तिनीहरु विशेष गरेर अफ्रिका, एसिया र दक्षिण अमेरिकामा पाइन्छ । झट्ट हेर्दा तिनीहरु गँड्यौला जस्ता देखिन्छन् । तिनीहरु जमिनमुनि नै बस्ने गर्छन् र गँड्यौलालाई आफ्नो आहार बनाउँछन् । केसिलियनको टाउको एकदमै मजबुत हुन्छ । त्यसको मद्दतले तिनीहरु सजिलै जमिनमुनि पस्न सक्छन् । तिनीहरुको शरीरमा अरु उभयचर प्राणीहरुभन्दा फरक स्केल पाइन्छ । केसिलियन करिब १.५ मिटर सम्म लामो हुन सक्छ तर कोही भने साना पनि हुने गर्छन् । तिनीहरुका साना आँखाहरु भए पनि तिनीहरु अन्धा हुन्छन् । टाउकोमा भएको जुँङ्गाजस्तो टेन्टेकलले तिनीहरुलाई बाटो पत्ता लगाउन मद्दत गर्छ । तिनै टेन्टेकलको मद्दतले तिनीहरु जमिनमुनि गन्ध र स्वाद पनि थाहा पाउने गर्छ ।

Photo: https://i.pinimg.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.