केन्द्रीय संस्करण

कथा : रत्ना भाउजू

person explore access_timeभदौ २४, २०७४ chat_bubble_outline0

कथा:
-लक्ष्मण सिटौला

रत्न दाइ गरिब थिए तर खुशी नै थिए । वास्तवमा मानिस गरिबीले दुःखी हुने होइन । दुःखी हुने कारक अरू अनेकौं  छन् । खानै नपाएर कुन चाहिँ जनावर मरेको छ र पृथ्वीमा ! रत्न दाइका तीन छोरा स्कुल पढ्दैथे । तामाका मुना जस्ता सलक्क हुर्कंदै गरेका । रत्ना भाउजू बिहान बेलुकी गाईलाई घाँस काट्थिन् । उनीहरू लगभग दिनको दुई पाथी दूध बेच्थे । त्यो भेगका प्रायः घरमा सबैले दूध बेच्छन् ।

सहर विस्तारले गर्दा काँठतिरको जग्गा किनबेच हुनथालेको धेरै भो । रत्न दाइले जग्गाको काम गर्न थाले । सहरको जग्गा सक्किदै गए । अझ भुकम्प पछित मानिसहरू उपत्यकामा बसाइँ सर्नथाले । रत्न दाइ ब्यस्त देखिन थाले। त्यो दुई बर्षमा रत्नदाइले जिन्दगीमा कायापलट परिवर्तन ल्याए । 

छोराहरू सरकारी स्कुलमा पढ्थे, अब महँगो बोर्डिङमा पढ्न थाले । बच्चाहरूको लवाइ खवाइ, हिँडाइ, बोलाइ सारा कुरामा परिवर्तन आए । ठूलो छोराको एउटा थोत्रो साइकल थियो । हेर्दाहेर्दै उसले दुई लाख पर्ने पल्सर बाइक किन्यो । क्रमशः छोरै पिच्छे बाइक भयो । घर भव्यसँग निर्माण गरे । यस्तो लाग्यो उनीहरू अन्त कतैबाट यहाँ एकाएक बसाइँ सरेका हुन् ।

पहिलाका साथीसङ्गती सब छोडेर अब उनीहरू नयाँ र सम्पन्न परिवारमा हेलमेल बढाउन थाले । दूध बेच्थे अब उनीहरू दूध किन्न थाले । 
योबीचमा सबैभन्दा ठूलो परिवर्तन मैले रत्ना भाउजूमा पाए ।
तिनै भाउजू हुन् हिजो घाँसको डोको बोक्न नसकेर आलि आलि बिसाउँदै हिँड्ने गर्थिन् । मैले कहिले तिनले नयाँ लुगा लगाको देखिनँ । तिनका हातकानमा सुन भन्ने धातु थिएन । गाईको भकारो सोहोरेको हात कहिले धोएको पनि  देखिनँ । पानी बोक्ता बोक्ता तिनका कम्मर छिनेका थिए । हिजै हो तिनले बोकेको ढोडको नाम्लो छिन्दा कम्मरमा बेरेको पटुकाले भारी बेरेर गोठ लगेको । भैँसीलाई कुँडो पकाउँदा नयाँ मकै घट्टमा पिँध्न गाकी अस्ति जस्तो लाग्छ ।

तर आज तिनी हिजोकी रत्ना भाउजू होइनन् । हिजो तिनका आँखामा सेवा, सत्कार, माया, साद्गीपन, भगवान, पूजा आरधना र स्त्रीत्व गुणहरू थिए । सोमबारको व्रत बसेर रत्न दाइलाई भात कुरी बसेको देख्दा यस्तो लाग्थ्यो कि श्रीमती सबैका रत्ना भाउजू जस्तै भैदिए कति भाग्यमानी हुन्थे सब लोग्नेमानिसहरू । भाउजूले गाईवस्तु पाल्न छोडिन् । भाउजूले दैनिक दुई तीन जोर सारी फेर्न थालिन् । भाउजू ऐँचो पैँचो, मेलापात, ऋण धन, सरसापटी र गरिब छिमेकीकोमा आउजाउ गर्न छाडिन् । अब गरिब छिमेकी उनलाई भेट्न जान थाले । करिब दश तोलाको घाँटे तिलहरी, हातभरी औंठी, सुनका पाउजूले भाउजू झकिझकाउ हुन थालिन् । रातोपिरो झरिली भरिली सुन्दरी भइन भाउजू । भाउजूका देब्रेपट्टिका दुई बाङ्गारा काला थिए । सुनको दात हालिछन् । यसरी जग्गाको दलाली कामबाट रत्न दाइले प्रशस्त कामाए र परिवारलाई अमन चैन दिलाए । खुसी र आनन्द छायो त्यो घरमा । 

भाउजूमा यति धेरै परिवर्तन आए । तर रत्न दाई उही हिजोकै भेषभूषामा । उनी धनी भए । तर धनी मान्छेले जस्तो देखाउने व्यवहार उनले देखाएनन् । तीन बच्चाकी आमा ती रत्ना भाउजूले एक दिन त फ्रक पो लाइछन् । म त लाजले भुतुक्कै भाको । हिजो मकैको ढोड बोक्ता बाङ्गो भाको तिनको टाउको अझैसम्म सोझिएको छैन । तर आज अर्धनग्न भएर टिन एजरको केटीले जस्तो लाजै नमानी हाफ पाइन्टपो लगाउँदै छिन । म तीन छक्क परेँ । आखिर सबै कुरो पैसा नै त रै छ नि ! 
मैले सुने लगभग पचहत्तर असी तोला त तिनले सुन मात्रै जोडेकी छिन रे ! रत्न दाइ बिहानदेखि बेलुकीसम्म जग्गा दलाली गर्छन् । बिचरा उनलाई फुर्सद छैन । खाना खान पनि भ्याउँछन कि भ्याउँदैनन् मलाई शङ्कै लाग्छ । एक दिन एउटा लक्का आर्मी जवान केटालाई जग्गा देखाउँदै थिए । “यो जग्गा बिक्री भयो भने त मेरो भागमा सीधै पाँच लाख कमिसन राम भाइ ।” 

कमिसन, लेखापढी, कित्ता काट, डिल्लीबजार, नापी, नक्सा पास, भूमि सुधार, हालैदेखिको बकसपत्र आदिभन्दा उनी अरू केही कुरै गर्दैनथे हामीलाई भेट्दा । जस्तो व्यवहार उस्तै कुरा यही हो मानिसको परिचय र उसलाइ बुझ्ने सङ्केत । किसानले खेतीपातीका कुरो गरेजस्तै हो नि । पेसा अनुसारका कुराले नै सभ्यताको बाटो लम्किरहेको हुन्छ ।

त्यो आर्मीको जवान भाइले जग्गा किन्न लगाएछन् अर्का  व्यापारीलाई । लक्का जवान आर्मीलाई रत्ना भाउजूले भाइटीका लगाइछन् । रत्न दाइसँग प्रायः सँगै देखिन थाले ती आर्मी भाइ । मेरो सालो भनेर परिचय गराउँथे तिनले जसलाई भेट्दा पनि । खाइलाग्दो  खिरिलो आर्मी केटो अघिपछि लाएर उसैको मोटर बाइकमा हिँड्न् थाले रत्न दाइ । सोचे राम्रै हो ।  पैसा कमाएँ, अब अलि बलियाको पनि सङ्गत गर्यो भने सुरक्षित पनि होइन्छ नि भाइ भन्थे मलाई । हरेक भेटमा ती रत्न दाइले छोराहरूको कुरा गर्दैनथे अब त्यो आर्मी लक्का जवानको बारेमा कुरा गर्थे ।

हेर्दाहेर्दै दुई छोरालाई रत्न दाइले अस्ट्रेलिया अध्यन गर्न पठाए । अब घरमा सानो कान्छो छोरा थियो । तिनलाइ पनि बोर्डस गरिदिए । रत्ना भाउजू सबै कुराबाट फुक्का हुँदै गइन् । हेर्दाहेर्दै भाउजूत फिलिम हेर्न जानी, स्विमिङ गर्न जानी सपिङ मलतिर सपिङ गर्न जान थालिन । हलमा धेरै नजाउ भनेर रत्न दाइले भाउजूका लागि भनेर होम थिएटर बनाइदिएका थिए । घरमै स्विमिङ्पुल पनि तयार भए  । अब घरमा तिनै आर्मी भाइ रत्न दाइ र भाउजू रहन थाले । रत्न दाइले कहिले पनि सम्पत्ति आफ्ना नाममा राखेनन् । सबै घरजग्गा श्रीसम्पत्ति रत्ना भाउजूका नाउँमा थिए । उनी भन्थे “ह्या राम भाइ मलाई त झ्याउ लाग्छ, सबै सम्पत्ति रत्नाकै नाउँमा गर्देको छु हौ, यो भारी के बोकेर हिँड्नु ।’’

छोराहरू अस्ट्रेलिया गएको ६ महिनामा रत्न दाइ छोराहरूको न्यास्रो लाग्यो भनेर अस्ट्रेलिया गए । रत्ना भाउजूलाई अब दिनहु ती आर्मी भाइले घुमाउन थाले । बेलुकी रात बिरात पनि ती घुम्न निस्कन्थे । भाइ टीका गरेको भाइलाई गाउँलेले शङ्का गर्ने कुरा पनि भएन । रत्न दाइले धेरै नै विश्वास गरे भाउजूलाई यो अति भयो भन्थे छिमेकी पनि । म सोच्थेँ, आ छिमेकीको कामै अरूका कुरा काट्ने हो तर एक दिन आफ्नै आँखाले देखेसी पत्याउन कर लाग्यो । किन यी भाउजू यति बिघ्न चम्केकी हुन भनेको कुरो यसो पो रेछ । दुई तीन दिनसम्म पनि मूल गेटभित्रबाट चुकुल लागेको हुन्थ्यो । दूध ल्याउने तरकारी ल्याउने मान्छे पनि ढोकाबाट फर्किएर जान्थे । बोलायो भने भाउजू छतबाट बोल्थिन्– “मैले बिहानै किनेर ल्याइसकेँ रत्न दाइ हुनुहुन्न भन्थिन् ।

एक हप्ता बित्यो । साइ शब्द केही छैन भाउजूको । त्यो आर्मी केटो पनि देखिन छोड्यो । सानो छोरोलाइ पन्ध्र दिन अगाडि रत्न दाइ जाने बेलामा देखेको थिए । ऊ भोलिपल्ट नै स्कुल गयो बोर्डस बस्ने भएर । म छिमेकी परँे । चियो चर्चो आराम बिराम भाको बेला हेर्नुपर्थो । लगभग तीन रोपनीमा बनेको घर । भित्र बागबगैँचा फूलबारी स्विमिङ पुल सब सुनसान देखेँ । बाहिर गेटको प्लालबाट सब देखिने । हिजो अस्ति भित्रबाट ताला मारेको हुन्थ्यो ती रत्ना भाउजू र तिन्का टीका लाको भाइ गिज्जिएर बस्थे तर आज बाहिर ठूलो भोटे ताल्चा लाएको छ । भित्र चकमन्न ।
छोराहरू पढ्न विदेश गए । कान्छो छोरो बोर्डस । रत्न दाइ पनि छोराहरू भेट्न् गए । जे भए पनि रत्न दाइ असाध्य सोझा र सहयोगी थिए । माया लाएर आयो ती दाइको ।
एक हप्तापछि कान्छो छोरा घरमा आयो । तर बाहिरबाट ताल्चा मारेको छ । “राम अङ्कल हाम्रो ममी खै ?” कान्छोलाई मेरै घरमा राखँे त्यो रात । अब रत्ना भाउजूको पिर लाग्यो । कान्छो छोरा रुन थाल्यो । भाउजूको अत्तोपत्तो छैन । मोबाइलमा फोन गरेको स्विच अफ छ । बल्लतल्ल अस्ट्रेलियाको नम्बर पत्ता लगाएर रत्न दाइलाई फोन सम्पर्क गरेँ । दाइ फोनमा रुन थाले नआत्तिनु भने । भोलिपल्ट राति रत्न दाइ टुप्लुक्क आइपुगे । ताला फोर्यौँ सबै भएर । घरमा चोटा कोठा सब हेर्यौँ । तर दराजमा भएका शय तोला जति सुन र चालीस लाख नगद केही थिएन ।
न कसैले हत्या गर्यो वा के भयो । सब अकमक्क पर्यौ । 

पुलिसमा जाहेरी दियाँै । घटनाको विस्तृत बयानको मुचुल्का तयार भयो । उपत्यकाको सबै नाकाहरूमा विवरण उपलब्ध गराइयो । जग्गा र घर रत्ना भाउजूकै नाउँमा थिए । ती धनी पुर्जा पनि उठाएर लगेपछि रत्न दाइ झसङ्ग भए । कान्छो छोरा अलि बुझ्नी भइसकेको थियो उसलाइ सम्झाइयो । पढाइ विगार्न हुन्न बाबू आमा मामाघर गाकी हुन भनेर सम्झाएपछि ऊ स्कुल गयो । प्रहरीले मोबाइलमा कता कता र कुन लोकेसनबाट कुरा भाछ भनेर पत्ता लाग्यो । भ्वाइस मेसेज रेकर्ड सुनेपछि दुई व्यक्ति चितवन पुगेको पत्ता लाग्यो ।

रत्ना भाउजू आर्मी केटासँग पोइल गएको प्रमाणित भयो । 
धेरै मुद्दा चल्यो । अन्तत लगेको पैसा र सुनबाहेक घर जग्गाको लाल पुर्जा फिर्ता आयो । 
त्यो दुर्दान्त घटना घटेको ठिक तीन वर्षपछि मैले तिनै रत्ना भाउजूलाई एक दिन  स्वयम्भूको भर्याङमा मकै पोल्दै गरेको अवस्थामा देखे । त्यति भरभराउँदी सुखी रत्ना भाउजूको कपाल सेतै पाकेका हिउँ जस्ता, अनुहार डढेलोले छोडेर गएको ऐंसुलुको बोट जस्तो, मलिन अनुहार, ओठभरी जुठो उस्रेको पाएँ । कस्तो नरमाइलो लाग्यो । अलि नजिक गए र बोलेँ । 

“ हैन हाम्री रत्ना भाउजू होइन त ?”
“हो रामबाबु नमस्कार !”
“यो के हो भाउजू, के देख्दै छु म ?”
“भागभोग, कर्म, ऊ जुनीको श्राप बाबू । मेरा छोराहरूको धेरै याद आउँछ कहाँ छन्, के छ नानी ?”
“भाउजू तपाईंले धोका दिएसी रत्न दाइ कान्छो छोरासहित अस्ट्रेलिया जानू भो  ।”
साँझ पर्न थालेको थियो । तिनका आँखाबाट टल्किएका आँसुमा क्षितिजमाथि ढल्किँदै गएको सूर्यको विम्ब खसिरहेको थियो । अस्तु ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...