केन्द्रीय संस्करण

नाति पुस्तालाई के दिने, गौरवपूर्ण उपलब्धि कि एकादेशको कथा ?

person explore access_timeअसार २०, २०७७ chat_bubble_outline1

नेकपाभित्र सरकार र प्रधानमन्त्रीको बारेमा कैयाैं प्रश्नहरु उठेका छन् र खासगरी उहाँको पछिल्लो अभिव्यक्तिपछि चौतर्फी प्रश्नहरु उठेका छन् । 

दुबै पदबाट राजीनामा एक पदबाट राजीनामा वा अर्काे कुनै बीच बचाउको तरीका अपनाउने प्रश्नमा छलफल चलिरहेका छन् । यहाँ यो विषयमा चर्चा गर्न खोजिएको होइन । त्यसबारे चर्चा गर्ने कैयौं ठाउँहरु र प्रश्नहरु विद्यमान छन् । तर, यो समस्या त कुनै न कुनै रुपमा छिटै समाधान हुन्छ । यहाँ चर्चा गर्न खोजेको विषयको अर्काे पाटो हो, जसको समाधान तत्कालिन राजनीतिक परिवेशमा हुने देखिँदैन ।

त्यो पक्ष भनेको अब वर्तमान प्रधानमन्त्री हटिहाले भने त्यो स्थानमा कसलाई ल्याउने वा आउने समान पुस्ताबाट समाधान खोज्ने वा पुस्तान्तर गर्ने भन्ने प्रश्नहरु उठेका छन् । प्रवृत्तिगत किसिमले व्यक्ति परिवर्तनले मात्रात्मक रुपले फरक त पार्ला । तर, तात्विक फरक पार्दैन । यो कुरा व्यक्ति परिवर्तन वा पुस्तान्तरको परिवर्तनले पनि तात्विक फरक पार्दैन भन्ने नै म देख्दछु । त्यसका पछाडिका कारणहरु के–के छन् । र, के–कस्ता कारणले व्यक्ति परिवर्तन वा पुस्तान्तरको परिवर्तनले तात्विक फरक नपार्ने के कारणले देखिँदैछन्, यो पाटो नै यहाँ चर्चा गर्न खोजिएको मुख्य पाटो हो ।

पद हस्तान्तरण तात्कालिन समाधान त हुन सक्दछ । तर, आज देशका अगाडि जुन प्रकारका चुनौतिहरुका चाङहरु छन्, जुन प्रकारका प्रश्नहरु निरासाको चपेटामा पर्दै गइरहेका छन्, त्यसको सम्बोधन गर्न सक्ने वातावरण देखिँदैन । कम्तिमा म त्यसप्रकारको वातावरण देख्दिनँ । त्यसको कारण के भने समान पुस्तामा व्यक्ति फेरिए केही मात्रात्मक फरक देखिए पनि गुणात्मक रुपमा परिवर्तनको आभास हुन सम्भव हुँदैन र छैन ।    

किनकि समान पुस्ताका समान परिवेशबाट आएका र कमोवेश समान कार्यशैली भएका र लगभग एकै किसिमले सोच्ने, विचार गर्ने र उस्तै–उस्तै धारणा राख्नेहरुबाट धेरै ठूलो सकारात्मक परिणामको आशा राख्नु भोलिका निम्ति निरासाको सञ्चय गर्नुसिवाय अरु केही हुन सक्दैन र हुँदैन पनि । पुस्ता अन्तरबाट केही सम्भावना छन् कि भन्दा तत्कालै यस्तो सम्भावना पनि देखिँदैन, किनकि जतिसुकै पुस्ता अन्तर भने पनि आखिरमा आजको पुस्ता पनि त्यही पुरानै ढाँचा र ढर्रामा काम गरेको, त्यस्तै परिवेशमा प्रशिक्षण भएको र त्यही संरचनामा ढालिएका मानिसहरु नै हुन् ।

डिलाराम आचार्य

फेरि जस्तोसुकै नयाँ पुस्ताको कुरा गरे पनि पुरानो नेतृत्वको पुस्ताको वरिपरि पर्खालजस्तै उभिएको केही मानिसहरुको झुण्डको नै कुरा आउँछ । तिनीहरु कहीँ न कहीँ आफ्नो परीक्षण भइसकेका जमात नै हुन् । जतिसुकै पुस्ता अन्तरको कुरा गरे पनि त्यो पर्खाल नाघेर बाहिरबाट बेग्लै परिवेश परिस्थितिमा हुर्केको वास्तविक नयाँ पुस्तालाई त त्यसको नजिक पर्न पनि दिँदैनांै, हामी त्यसरी जसरी पुस्ता अन्तरले समाधान दिन सक्छ कि भन्ने हामीले आशा गछौं । त्यो सम्भावित नयाँ उभिएको पुस्ताको पनि पुरानै ढाँचामा पुरानै तरीकाले एउटा आकार पुरानै ढाचाको आकार ग्रहण गरिसकेको मानिसहरुको हुल नै हो ।

त्यसो भए के सबैतिर अँध्यारो नै छ त, सम्भावनाहरु कतै छैनन् त, के यहाँ निरासाको पोको फुकाउन खोजिएको हो त, के आजको युवा जमातले सोचे जसरी, चाहे जसरी, अझ भनौं आजको नयाँ पुस्तालाई राजनीतिक विकृतिबाट माथि उठेर राजनीतिक पार्टी त्यसका नेताहरु र समग्र राजनीतिक प्रणालीप्रति नै आशा जगाउने गरी काम गर्न सम्भव छैन त, के आज सामाजिक सञ्जालमा निरन्तर पोखिने युवा पुस्ताको नकारात्मक चर्चालाई सकारात्मक र रचनात्मक टिप्पणीमा रुपान्तरित गर्ने कुनै उपाय छन् त ? विल्कुल छन् । त्यो कार्यको थालनी हुन्छ, गर्न सकिन्छ र गर्न सक्नैपर्छ ।

त्यस्तो सकारात्मक सिर्जनशील र उत्साहजनक वातावरण बनाउन र आज जनमानसमा अमिट छाप परेको राजनीति र नेता नेतृत्वप्रतिको नकारात्मक धारणालाई बदल्न, व्यक्ति परिवर्तन वा पुस्ता परिवर्तनले भन्दा पद्धति परिवर्तनले प्राथमिकता पाउनुपर्छ । हाम्रो कार्यशैलीको आमुल परिवर्तनले प्राथमिकता पाउनुपर्छ । केही आफ्नो झुण्डको वरिपरि रमाउने मात्र होइन कि झुण्डमा कैद हुने, त्यही झुण्डलाई नै देश ठान्ने र तिनीहरुको जानकारी नै ब्रह्माण्डको सर्वाेत्कृष्ट चेतना ठान्ने, आप्mनो झुण्ड गुट जे भने पनि त्यसको फेराभन्दा बाहिर गएर सोच्ने धारणा बनाउने र आम जनताको जनभावनासँग जोडिने कुरा त कता हो कता, आफ्नो झुण्ड बाहिर उभिएका सबैलाई आफ्ना प्रतिद्वन्दी ठान्ने, आलोचनाहरु जसभित्र सकारात्मक भाव पनि लुकेको हुन्छ, त्यसलाई आत्मसात गरेर आफ्नो जीवन व्यवहारमा सुधार ल्याउनु त कता हो कता, आफ्नो झुण्डमार्फत् त्यससँग पौंठेजोरी खेल्ने प्रवृत्तिहरु आजको हाम्रो आन्दोलनभित्र हावी भएका आम प्रवृत्तिहरु हुन् । यो प्रवृत्तिमा अभ्यस्त हुँदै आएका हामीहरु र त्यस्मै अभ्यस्तरतहरुबाट नेतृत्व परिवर्तन हुँदा कायापलट भइहाल्छ भन्ने धाराणा बनाउनु भोलिका असन्तुष्टि राख्ने थैली सिलाउनु जस्तै हुँदैन र !

व्यक्तिहरुको आउने जाने क्रम त चलिरहन्छ, केही समय ढिलो चाडोको कुरा मात्र हो । व्यक्तिको परिवर्तन पनि समयअनुसार कहिलेकाहीँ महत्वपूर्ण हुन्छ नै । तर व्यक्ति परिवर्तन भन्दा कैंयौ गुणा बढी पद्धति परिवर्तन, कार्यशैलीको परिवर्तनको प्रश्नले धेरै नै महत्वपूर्ण र दूरगामी महत्व राख्दछ । व्यक्तिहरुको आउने जाने क्रममै रमाउने र निराश हुने साँघुरो घेराबाट माथि उठेर समग्र राजनीतिलाई जवाफदेही र आजको सापेक्षतामा जन उत्तरदायी कसरी बनाउन सकिन्छ, हाम्रा बहसलाई त्यहाँ केन्द्रीत गर्नुपर्ने हो । आज हामी त्यहाँ कोही छैनौं, बरु व्यक्तिको यो वा त्यो पक्षको समर्थन र विरोधमै सीमित छौं ।

आजको अवस्थामा परिवर्तन चाहन्छौं भने हामीले आफूलाई र आफ्नो पार्टी कम्युनिष्ट पार्टी मान्छौं भने सबैभन्दा अगाडि कम्युनिष्ट घोषणापत्र अगाडि राखौं । २००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापना भएको हाम्रो पार्टीको गौरवमय इतिहासलाई अगाडि राखौं, पहिलो घोषणापत्रदेखि हामीले अहिले पारित गरेका जनताको जनवाद समाजवादी दस्तावेजहरुलाई अगाडि राखौं ।

आज हाम्रो समाजका सीमा समस्याहरु, जनअपेक्षा र समाजको पछौटे अवस्था अल्पविसित र भुपरिवेष्ठित अवस्थालाई अगाडि राखौं, पुरानो पुस्ताको सीमा, समस्या र विशेषता एवं नयाँ पुस्ताका सम्भावनाहरुलाई अगाडि राखौं र हिजोको गौरवपूर्ण संघर्षको इतिहास त्याग, तपस्या र बलिदानका किर्तिमानहरुलाई अगाडि राखौं, हाम्रो पार्टीलाई गत निर्वाचनमा दुईतिहाइको गौरवपूर्ण स्थानमा पु¥याउने जनताको ऐतिहासिक फैसलालाई अगाडि राखौं ।

जनताको अपार विश्वासअनुरुप हामीले काम गर्न सके–नसकेको सीमा, समस्या र विषेशताहरुलाई अगाडि राखौं र ठोस सामूहिक कार्ययोजना बनाउँ र त्यसको कार्यान्वयनका निम्ति नेताहरुको एउटा समूहमात्र होइन, समग्र पार्टी पंक्ति र करीब १० लाख पार्टी सदस्यहरु उत्साहजनक रुपमा परिचालित हुने वातावरण सिर्जना गरौं । सामूहिक निर्णय र व्यक्तिगत उत्तरदायित्वलाई आत्मसाथ गरेर देश हाँक्ने वातावरणको सिर्जना गर्न सकियो भने आज पनि यो पार्टीको विकल्प छैन । त्यसरी नै गौरवपूर्ण संघर्षहरुको इतिहास बोकेको यो पार्टीको उत्साहजनक वर्तमान र उज्ज्वल भविष्यको निर्माण गर्न सम्भव हुनेछ । इतिहासको पानामा सीमित नहुने हो भने हामीले यो बाटो रोज्नैपर्ने हुन्छ ।

विभिन्न सीमा समस्याहरुका वावजुद यो पार्टी एकताले एउटा महत्वपूर्ण काम गरेको छ । त्यो हो नयाँ बनेको संविधानको कार्यान्वयन र देशमा स्थायित्वको प्रत्याभूति । सायद पार्टीको एकीकरण गर्ने काम नभएको भए आज यो अनुभव पनि हुने थिएन । जुन हिम्मतका साथ पार्टी एकता गरिएको थियो, आज फेरि त्यही हिम्मतका साथ आजको जटिलतालाई चिरेर विधि पद्धतिका साथ अगाडि बढ्नुपर्दछ । यो समयमा फुट विभाजनका योजना र हल्ला पनि जोडतोडले नचलेका होइनन् । त्यस प्रकारका सोचाइहरु तात्कालिन आवेगहरुबाट उत्पत्ति भएका हुन् ।

तत्कालिन आक्रोश, आवेग र उत्तेजनामा गरिने निर्णयहरुले तत्काल आत्मसन्तुष्टि त प्राप्त होला । तर, कालान्तरमा पश्चाताप र निरासाबाहेक केही हात लाग्ने छैन। दुईतिहाइको संघीय सरकार सातमध्ये छ प्रदेशमा नेकपाको सरकार र तेसकै अनुपातमा स्थानीय तहहरुको सफलतालाई बिस्तार गर्दै व्यवस्थित पार्टी, सबल आन्दोलनसहित नाति पुस्तालाई हस्तान्तरण गर्ने कि यो सबै नाति पुस्तालाई एकादेशको कथा हस्तान्तरण गर्ने ? भन्ने प्रश्नको सबैबाट सकारात्मक उत्तरको अपेक्षा राख्नु स्वाभाविक हो । हाम्रो पाको पुस्ताले, जसले हिजो सयौं–हजारौं हण्डर खाएर, त्याग तपस्या र बलिदानका कीर्तिमान खडा गरेर यो युगान्तकारी परिवर्तनको नेतृत्व ग¥यो, त्यही पुस्ताले प्राप्त उपलब्धीहरुलाई शून्यमा झार्ने काम गर्ने छैन र गर्नु हुँदैन। आज हाम्रो अगाडि उभिएका पार्टी र आन्दोलनका चुनौतीहरु, पार्टीभित्रका मतभिन्नता र मतभेदहरुलाई देश र आन्दोलनको भाबी पुस्ताको हितलाई अगाडि राखेर सही र सकारात्मक निष्कर्षमा पु¥याउन सबैको सकारात्मक पहलकदमी आवश्यक छ र त्यो पहलकदमीले सफलता पाउनैपर्छ।

आजको अवस्थामा नेकपा विभाजन हुनुको अर्थ देश फेरि अस्थीरतातर्फ जाने, प्राप्त उपलब्धीहरु धरापमा पर्ने एउटा नकारात्मक तस्वीर पनि हाम्रो अगाडि छ । त्यस्तो हुन नदिन र आजको जटिल परिस्थितिलाई सम्हालेर फेरि देशलाई जनअपेक्षाअनुरुप अगाडि बढाउन आजको अस्तव्यस्तताले पनि सकारात्मक भूमिका खेल्न सदक्छ । किनकि आजको मतविभाजनले फेरि हाम्रो हिजोका कार्यशैली कार्यपद्धतिहरुको विहंगम समीक्षाको माग गर्दछ  र त्यही सीक्षाको दौरान एउटा सकारात्मक सामूहिक निष्कर्ष निकालेर अगाडि बढ्ने एउटा दूर्भाग्यवश प्राप्त भएको शौभाग्य पनि हुन सक्छ आजको अवस्था ।

तसर्थ, व्यक्ति, व्यक्ति समूह समाएर होइन, समग्रलाई समाएर, डाली डाली समाएर होइन, सिंगो बृक्षलाई समाएर एउटा दीर्घकालिन समाधानका साथ अगाडि बढ्नु नै आजको हाम्रा अगाडि खडा भएका चुनौतिहरुको सही समाधान हुन सक्छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. July 6, 2020, 9:36 p.m. ShivLal Gautam
    धेरै राम्रो छ
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.