कविता : समर्पण
-नवीन लोचनमगर
पखेरा गुञ्जिएसँगै आएको हो –स्मरणशक्ति
रातलाई हकार्दै हिँड्ने
ती जूनकीरीहरूले चिनाएका हुन् –यो आकाश ।
दिन र रातको लुकामारीले
सिकाएको हो मलाई –सही र गलत,
उभिएको धरातलले सुनाएको हो –स्वाभिमान
आजसम्म मैले क–कसलाई चिनेँ ?
बाँच्दासम्म नदेखिने मृत्युको मूल्य
मरेपछि कसरी थाहा हुन्छ ?
म, ‘म’ हुनका लागि मैले केही गरिनँ
तर यौटा मृत्युलाई मारेर उभिएँ ।
क्षितिजभन्दा अलि पर ...
जीवनको अन्त्य छ, भन्नेकुरा
हिर्काउँदा हिर्काउँदै अभ्यस्त बनाएको हो
मेरो बलेसी वरिपरिबाट
चोलिको गन्ध चोरेर हिँड्ने यो हावाले ।
म ‘म’ बन्नका लागि मैले के गरेँ ?
आज सोच्दैछु,
मेरा लागि कुन गल्लि बाँकी थियो –मैलिन ?
मेरा लागि कुन पसिना बाँकी थियो –चोरिन ?
मेरा लागि कुन इज्जत बाँकी थियो –ढाक्न ?
तर, म आफ्नै स्वागतार्थ द्वार बनाउन लागेँ
आफ्नै तस्बिरमा फूल छर्दै हाँसिरहेँ
मैले जे गरेँ, केवल मेरै लागि गरेँ ।
आफ्नो अस्तित्व बेखबर हुँदा पनि
नअत्तालिएर हिँड्दाहिँड्दै
थाकी बसेका केही थान नाङ्गा पैतलाहरू
त्यसैलाई खरिद बिक्री गर्ने को हो ?
हावाको झोक्काहरूले पाखामा
ऐलानी बनेका ती इज्जती कहानी,
चुनौतीमाथि उक्लेर
लक्ष्यको पिरामिड घोकाउने,
र मेरा लागि कहिल्यै गुनासो नगर्ने
सम्मानको सबैभन्दा उचो शिर
जसको छातीमा टेकेर
म घमण्ड गरिरहन्छु –हरबखत ।
मैले के गरेँ म इतर कसैका लागि ?
जरुर, अब मैले केही गर्नुछ जीवनमा
कुनै गुनासो, तिक्तता र असन्तुष्टिविना
निष्कपट मेरै लागि सरोबर उभिएका
मेरी आमा र यो देशका लागि ।
–लिबाङ, रोल्पा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण