शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंकको एकीकृत कारोबार सुरु

शनिबार, २० असार २०७७, १९ : ०१
शनिबार, २० असार २०७७

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सहयोगी विकास बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारकोे कार्यालयको स्वीकृति पश्चात प्राप्ति गरी आज असार २० गतेबाट एकीकृत कारोबार शुभारम्भ गरेको छ । 

सिटिजन्स बैंक र साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु सहभागी भएको एक विशेष समारोह बीच सिटिजन्स बैंकका सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले संयुक्त कारोबारको शुभारम्भ गरेका हुन् ।

असार १९ गतेसम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप रु. ९१ अर्ब ३५ करोड रुपैयाँ र  सर्वसाधारणलाई  दिएको ऋण लगानी रु. ७९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०९ पुगेको छ । 

हाल सिटिजन्सको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पँजी ९ अर्ब ८ करोड रुपैयाँ रहेको छ । धनुषा, महोत्तरी मा हाल ४ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको यस बैंकले अब उपरान्त कुल १७ वटा शाखाहरुबाट उच्चस्तरीय वित्तीय सेवाहरु थप परिस्कृत रुपमा प्रदान गर्नेछ जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

उक्त कार्यक्रममा बोल्दै सिटिजन्स बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीले यस प्राप्ति पश्चात बैंकको आन्तरिक वित्तीय, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा व्यक्तm गरे । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने विश्वास र यस किसिमको प्राप्तिले व्यवसायिक क्रियाकलाप एवं देशको समग्र वित्तीय क्षेत्रको गतिविधिमा समेत विशेष योगदान पुग्ने विश्वास भण्डारीले जाहेर गरे ।

त्यसै गरी साबिकको सहयोगी विकास बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कान्त झा ‘जीवन’ले सहयोगी विकाश बैंकका ग्राहक, कर्मचारी र लगानीकर्ताहरुको हित र भविष्य सिटिजन्स बैंकमा अझ झन् सुरक्षित र उज्वल हुने कुरा अभिव्यक्त गरे ।

त्यसैगरी, सिटिजन्स बैंकका संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डेले प्राप्ति पश्चात बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिबृद्धि हुने, बैंकको वित्तीय, मानव–संशाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि भई ग्राहकलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ्ग सुविधा प्रदान गर्न सहज हुने कुरा व्यक्त गरे । देशको बैंकिङ्ग तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने विश्वास अभिव्यक्त गरे । 

संयुक्त कारोबारको शुभारम्भ समारोहमा बोल्दै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले मर्जर पश्चात कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु अबलम्बन गर्ने बताए । बैंकको बढ्दो ब्यवसाय, शाखा/सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा त्यस्ता जोखिमको उचित व्यवस्थापन गरी संभावित हानीलाई न्यून गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने योजना रहेको बताए ।

प्रदेश नं २ मा सेवा दिदैँ आएको साबिकको सहयोगी विकास बैंकको १३ वटा शाखाहरु गरी यस प्रदेशमा बैंकले कुल २१ वटा शाखााहरुबाट सेवा प्रदान गर्नेछ । बैंकले करिव साढे पाँच लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दे आएकोमा अबवाट करिव साढे ६ लाख ग्राहकवर्गलाई सेवा प्रदान गर्नेछ । यस प्राप्ति पश्चात सिटिजन्स बैंकको प्रदेश नं २ मा उपस्थिति झन् दरिलो हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए । 

मिति २०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस अगावै नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त संस्था पिपल्स फाइनान्स लिमिटेड, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स लिमिटेडलाई प्राप्ति गरिसकेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टी.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप