बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यही तरिकाले पार्टी एक रहन सक्दैन : प्रधानमन्त्री

‘राष्ट्रपतिलाई हटाउन खोजेपछि संसद अधिवेशन अन्त्य गरेँ’
शनिबार, २० असार २०७७, २० : ५७
शनिबार, २० असार २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब एक रहने सम्भावना निकै कम रहेको मन्त्रिपरिषद्का सदस्यहरुसँग बताएका छन् । पार्टीको विवाद चरम अवस्थामा पुगेको र एक रहने सम्भावना निकै कम रहेकाले त्यसलाई बचाउन आफूले अथक प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यसमा सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘म अन्तिम समयसम्म पार्टी बचाउने प्रयास गर्छु तर सकिएन भने अलग हुन्छ । त्यसमा तपाईंहरुको सहयोग र साथ चाहिन्छ । पार्टीका साथीहरुको गतिविधि तपाईं सबैलाई थाहा नै छ । कसले के गरिरहेको छ, त्यो कुरा पनि सबै थाहा नै होला । यस्तो गतिविधिले पार्टी एक रहन सक्दैन ।’ आफूलाई प्रधानमन्त्री र अध्यक्ष दुबैबाट राजीनामा दिन भनिरहेको तर त्यो सम्भव नभएको कुरा उनले राखेका थिए । प्रधानमन्त्री ओलीले आफूलाई हटाउन अन्तर्राष्ट्रिय ग्राण्ड डिजाइन भइरहेको र यसमा भारत पनि लागेको कुरा मन्त्रीहरुलाई बताएका थिए । 

पार्टीकै साथीहरुले राष्ट्रपति हटाउन महाभियोगको प्रस्ताव ल्याउने तयारी गरिरहेको थाह पाएर आफूले संसद अधिवेशन अन्त्यको निर्णय गरेको कुराको समेत मन्त्रीहरुलाई उनले जानकारी गराएका थिए । ‘आफ्नै पार्टीका नेताले आफ्नै राष्ट्रपतिलाई हटाउन प्रयास गर्नु, यो कस्तो संगठन हो ? कसरी संगठन चल्दैछ प्रस्ट बुझ्न सकिन्छ,' उनले भनेका थिए ।

देश र पार्टीलाई दुर्घटनाबाट बचाउने आफ्नो प्रयास अन्तिमसम्म रही रहने कुरा उनले पटक–पटक दोहोर्याएका थिए ।

‘जुन साथीलाई म मन पर्छु, त्यो साथीले मलाई साथ दिनुहोला, जुन साथीलाई म मनपर्दैन साथ नदिनुहोला,’ प्रधानमन्त्रीले भनेका थिए ।

प्रधानमन्त्री ओलीले बोलिसकेपछि मन्त्रीहरु वर्षमान पुन, घनश्याम भुसाल र विना थापामगरले धारणा राखेका थिए । उनीहरुले कुनै पनि हालतमा पार्टी फुट्न नदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

‘तपाईं पार्टी र सरकार दुवैको अभिभावक हुनुहुन्छ । तपाईंबाट विशेष पहल हुनुपर्छ । पार्टीमा कुनै विवाद छ भने तपाईं दुईजना अध्यक्ष बसेर मिलाउनुस्, पार्टी फुट्नबाट बचाउनुस्,’ उनीहरुले भनेका थिए ।

उनीहरुले पार्टी फुट्ने कुरा अध्यक्षस्तरबाट आउनु राम्रो नभएको बरु कसरी फुट्दैन त्यसको उपाय निकाल्नुपर्ने आग्रह गरेका थिए । उनीहरुले सचिवालयमा नै समस्या देखिएको हुनाले पहिला सचिवालयमा कुरा मिलाएर मात्र अगाडि बढ्न सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप