बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाग्मती सफाइ महाअभियान ३७३ औँ हप्तामा

शनिबार, २० असार २०७७, २२ : १३
शनिबार, २० असार २०७७

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ३७३औँ हप्तामा नदी किनारको गुह्येश्वरी, पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण नदी किनारमा बसोबास भएका अभियानकर्मीले सफाइ अभियानलाई निरन्तरता दिनुभएको हो । नदी किनारभन्दा टाढा निवास भएका अभियानकर्मीले भने टोलटोलमै सफाइ अभियानलाई निरन्तरता दिए ।

पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ भएको हो । पशुपति क्षेत्रमा विगत हप्ताभन्दा केही सफा देखिएको उनले सुनाए । वर्षाद्को बाढीका कारण पनि नदी सफा देखिन थालेको छ । पानीको बहावले नदी किनार सफा देखिए पनि त्यसमाथिका स्थानमा भएको फोहर उठाइएको जनाइएको छ ।

यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा.लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । सडकको फोहर हटाउनाका साथै झारपात पनि टिपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सो अवसरमा कुहिने र नकुहिने फोहरलाई छुट्याएर व्यवस्थापन गरिएको थियो । सफाइमा श्री हनुमान मार्ग टोल विकास समितिका पदाधिकारी एवं सदस्यसमेत उपस्थित भई भौतिक दूरी कायम गरी सफाइ गरिएको जनाइएको छ ।

यसैगरी गुह्येश्वरीमाथिको वाग्मती क्षेत्रमा ३३३ हप्ताको सफाइ अभियानलाई निरन्तरता दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको वाग्मती किनारमा रहेको छाडा छोडिएका गाई–बाच्छा संरक्षण स्थलमा सफाइ गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।

विष्णुमती, मनोहरा, चक्रपथको उत्तरी खण्ड, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियानलाई भौतिक दूरी कायम गर्दै निरन्तरता दिइएको छ । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानको प्रभावबाट देशभरका १०६ भन्दा बढी स्थानमा अभियान सुरु भएको छ । यी स्थानमा चैतदेखि बन्दाबन्दीका कारण अभियान सञ्चालनमा बाधा पुगेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप