शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोर्चुगलमा नेपालीको निःशुल्क खाना अभियान

१० हजार कोरोना प्रभावितलाई खाना खुवाइदै
आइतबार, २१ असार २०७७, १० : ०७
आइतबार, २१ असार २०७७

लिस्बन । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न वर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् । बाग्लुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न वर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् ।

सापकोटाले कोरोनाका कारण समस्यामा परेका राजधानी लिस्बनका २५ सय परिवारका करिब १० हजारलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जानकारी दिए । कोरोनाको महामारीका कारण रोजीरोटी गुमाएका लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका विपद्मा परेका परिवारलाई निःशुल्क खाना खुवाउन लागिएको हो । सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरि १० हजार पिज्जा निःशुल्क खुवाउन लागेका हुन् ।

२५ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा  पोर्चुगलका एक सफल व्यवसायी पनि हुन् । कोरोनाको महामारीबाट प्रभावित भइ समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्देश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए ।

सापकोटाले उक्त अभियानका लागि घुम्ती शिविरकै रुपमा खाना पकाउने व्यवस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयाँको लागतमा पिज्जा पकाउने चुल्हो (र्फोनो) खरिद गरि मोबाइल चुल्हो कै रुपमा सञ्चालनमा ल्याएका छन् ।

गत १६ जुनदेखि लिस्बनको बेलेईबाट शुरु भएको अभियान ११ जुलाईसम्म सञ्चालन हुने सापकोटाले जानकारी दिए । ‘हाम्रो अभियानलाई महानगरले समेत बिशेष महत्व दिएर साथ दिएको छ । महानगरका उपमेयर समेत दैनिक जसो अभियानमा सहभागी हुन आउनुहुन्छ । उहाँको उपस्थितीले हामीलाई थप उर्जा र हौसला मिलेको छ,’ सापकोटाले खुशी व्यक्त गर्दै भने ।

सापकोटाका अनुसार खाना वितरणको व्यवस्थापन र संयोजन महानगरले गरिरहेको छ । महानगरका केही सरकारी कर्मचारी सहित ५ सय जनाले स्वतस्र्फूत रुपमा यो अभियानलाई स्वयंसेवकका रुपमा सघाएको सापकोटाले बताए । निःशुल्क खाना अभियानलाई महानगरका उच्च अधिकारीहरुले समेत अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्ने गरेको उनले सुनाए ।

‘हामीले १७ सय २० परिवारका ८ हजारलाई खाना खुवाउने योजना बनाएका थियौँ, तर खाना खुवाउँदै जाने क्रममा यो संख्या बढेर २५ सय परिवारका १० हजार बढी पुग्ने भएको छ,’ उनले भने ।

उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका छन् । सापकोटाको अभियानको व्यवस्थापनमा अर्का नेपाली व्यवसायी लक्ष्मीप्रसाद सापकोटा पनि जुटेका छन् ।

महानगरले उपलब्ध गराएको सूचीका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना वितरण गरिएको छ । सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप