शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बालविवाहले जन्माएकी देउती

शनिबार, २४ भदौ २०७४, ११ : ३८
शनिबार, २४ भदौ २०७४

अनिता गिरी 

प्राचीनकालदेखि अहिलेसम्म राज्यका सम्पूर्ण व्यवस्थाहरू जति सकारात्मक परिवर्तन भएतापनि नारीप्रतिको वास्तविक व्यवहारमा परिवर्तन महसुस गर्न नसकिने समाजको यर्थाथता चित्रण गरिएको उपन्यास देउतीमार्फत लेखकले नारी जीवनको वास्तविकता प्रष्ट पारेका छन् । 

देउती उपन्यास समाजमा गरिने बालविवाहमा केन्द्रित छ । देउतीमा गाउँतिरका ब्रह्मणीले बोल्ने खसभाषा सिन्धुमा बोलीले भाषाशैलीलाई जस्ताको त्यस्तै उतार्नु भएको छ । 
उपन्यासको शीर्षक कथाको प्रमुख पात्रको नामबाट राखिएको छ । उपन्यासमा ंंंविशेष गरेर बालकैमा विवाह भएकी देउती श्रीमानको माया र स्पर्शविना नै आफ्नौ जीवन विताउन बाध्यभएको कुरालाई उतारेका छन् । देउतीको श्रीमान चड्दो उमेर लिएर बनारस बेपत्ता भए । यसकारण देउतीले आफ्नो वैशालु उमेर मात्र होइन जीवनभरी समाजको कुरीति, विसङ्गति, आफन्तका वचन, पीडा र अन्यायमा जीवन विताउनु पर्यो । एउटा नारीको सङ्घर्षको जीवनयात्राले उपन्यास अन्त्यन्त मर्मस्पर्सी बनेको छ । 

विवाहको केही समयपछि विछोडिएका देउती र कान्छो बाहुन । देउती तिनै श्रीमानको सम्झनामा, कल्पनामा र सपनामा आफ्नो श्रीमानको माया महसुुस गर्छ । 
उपन्यास देउतीको वरिपरि घुमेको छ । देउतीको जीवन उतारेको छ । दुःख कष्ट, हन्डर ठक्कर भोगेको कुरालाई स्पष्टसँग उतारेको छ । बाल्यकालमा नै माग्न आउने कुटुम्बलाई कुरा छिनाइ बिहे गरेपछिको जीवन नै देउती उपन्यास हो ।  

देउती घरमा माइतमा भन्दा सुखसयलमा बसेकी छ । जीवन सुखसयलको मात्र होइन । यदि सुख सयल नै सबै थोक हुन्थ्यो भने देउती नामअनुसार देउती नै हुनु पथ्र्यौ । हो सुख सयलले मात्र जीवन पूर्ण हँुदैन । देउतीको जीवन उनको श्रीमान बनारस गएदेखि उनकै पछि गए जस्तो भयो । देउतीका श्रीमान घरमा नै हुन्थे भने उनको सुखमा सुगन्ध हुन्थ्यो होला । 

नेपाली समाजमा बुहारी र सासुबीच हुने खटपट धेरै छ । तर देउती यो कुरामा भाग्यमानी नै देखिइन । उनको लागि सासू आमा नै भएर आइन । माइतीमा आमाले गर्ने माया र घरमा सासूले गर्ने मायामा कुनै भिन्नता महसुस गरिनन । त्यो माया पनि उनका लागि सम्झनाको छाल जस्तो भयो । माया गर्ने मात्र नभएर आमा, बुवा र श्रीमानको माया दिने सासू बितेपछि देउतीको जीवन अस्ताउन थालेको पहेँलो घाम जस्तो भयो । त्यही भएर सासूको मृत्यु भएको समयमा देउतीले यसरी भनेकी छिन्– ‘मेरी सासू भने पनि, आमा भने पनि तपाईं मात्रै बाँकी हुनुहुन्थ्यो । जाने बेलामा एक वचन पनि सोध्नुभएन ? काल त कति निष्ठुरी रहिछस् । हाँगा भाँच्नु अगि कोपीलाको दया लागेन तँलाई ? मरेकालाई नै मार्ने.. ।’ यस्ता मर्मस्पिर्र्र्शी वाक्यले भरीभराउ छ उपन्यास । यी वाक्यहरू फगत वाक्य होइनन्, जीवन दर्शन हुन । त्यही भएर यी वाक्य पढ्दा घोत्लिन मनलाग्छ । सम्झन मनलाग्छ, ती लाखौँ बज्यैहरूलाई जसले देउतीको जीवन बाँचे, सङ्घर्ष गरे कैयौँ त कुशका श्रीमासँगै सती गए । 

यस्तो छ अन्तरसंवाद ‘आँसु हतियार त होइन तर त्यसले मुटुमा तिखो गरी हान्छ ।’ यो वाक्यमा धेरै पीडा लुकेको छ । हो आँसु जितको हतियार होइन तर त्यही आँसुले मुटु नै छिया छिया बनाउँछ । एउटै मान्छेलाई हेर्ने दृष्टिकोण समय समयसँगै बदलिन्छ । अबोध देउतीलाई हेर्ने दृष्टिकोण र युवा अवस्थामा रहेकी अथवा भनौँ वँैशले भरीपूर्ण देउतीलाई हेर्ने दृष्टिकोणमा आकास जमिनको फरक छ । देउती उही हो । तर समाजको दृष्टिकोण बदलिरहन्छ । 
समाज पहिले उमेर, आर्थिक पारिवारिक हैसियत अनुसार व्यवहार गर्छ । समाजले दुःख पीडा परेकालाई माथि ल्याउन चाहँदैन, बरु कठै बरको बर्कोले दबाउँछ । दयाको पात्र बनाउँछ । उसलाई न्याय दिलाउन होइन, अन्याय नै सहन विवश बनाउँछ । त्यही भएर होला उपन्यासमा छ ‘गाउँलेको काम गाउने हो, दुःखमा पनि गाउँछन् सुखमा पनि गाउछन् ।’

कृति : देउती 
विधा : उपन्यास
लेखक : अक्षरकाका
प्रकाशक : साङ्ग्रिला पुस्तक प्रा.लि.
मूल्य : ३३३ 


कुशको लास बनाएर देउतीको बाहुनलाई इन्द्रावतीमा सतगत गर्न लगाउनु । हुन पनि देउतीको जीवनमा लोग्ने नामको प्राणी त्यही कुशको प्रतिमा सरह न थियो । दुःखमा न त्यसले कहिल्यै ओतायो न त वैँशमा शीलता नै दियो । 
पारि गाउँको ढकालसँग आएको जुनकिरी कति दिन टिक्छ भन्ने कुरा पाठकले चितवनको देवघाट पुग्नै पर्छ । वर्षौं बेपत्ता भएका देउतीका बाहुन चितवनको देउवघाट आएर बसेको समाचारले उद्वेलित बनेकी देउती कुनै बालकभन्दा कम देखिँदैनन् । सूर्य सिपाको डाँडामा होइन, देउतीको अनुहारबाट उदायो । 
देउघाट पुग्दासम्म देउतीको मनमा खेलेका अनेक तर्कना पानीको फोका नै बने । घरबाट हिँड्दादेखि देउघाट पुग्दासम्म मनमा अनेक तर्कना सोचेकी थिइन । बनारस हिँडेका देउतीका श्रीमान कान्छा बाहुनसँग कहिल्यै भेट भएन  । भेट भयो त देउघाटको चितामा । कान्छा बाहुनले देउतीको सिन्दूरमा सिन्दूर हालेर दुलही बनाएका थिए भने देउतीले देउघाटको चितामा दागबत्ती दिएर पत्नी भएको कर्तव्य निभाइन् ।
असन पुगेर किनेको रातो साडी, राता चुरा र सिन्दूरको सानो बट्टाले जीवन परिवर्तन हुने सङ्केत गरेको छ । तर उनको त्यो सामान उनीलाई कहिल्यै काम लागेन । 
उपन्यासमा सिन्धुको भाषा, परिवेशले आन्चलिकता झल्काए पनि अन्य ठाउँका पाठकलाई भने धेरै  गाह्रो र झन्झटिलो छ । उपन्यासमा अँध्यारो गुफाको यात्रा गराएका छन् । के जीवन सधैँ यस्तै मात्र हो त ? के दुःखपछि सुख आउँदैन र ? दुःख कष्ट भोगेर पनि सुखको राजमार्गमा पुग्न सकिँदैन र ? सुखको राजमार्ग नभए पनि सानो सुखको गोरेटो त जीवनमा सबैले भेट्छन नि । तर उपन्यसमा पात्रमाथि धेरै अन्याय भएको लाग्छ ।
पाठकले हरेक पानामा देउतीको जीवनको जीवनमा उज्यालो नभए पनि जुनकिरीसम्म खोज्छन् । तर त्यो पनि भेटिँदैन । तर हरेक पानामा देउतीका नयाँ नयाँ दुःखकष्टसँग साक्षत्कार हुन्छ । यो उपन्यास पढिसकुन्जेल पाठक उज्यालो होइन जुनकिरी नै सही भनेर सोच्छ तर कही कतै भेट्दैन । यसले पाठकलाई पनि निरास बनाउँछ । 
अन्त्यमा नेपाली साहित्यमा महिलाका यस्ता दुःख कष्ट र सङ्र्घषका कुरालाई समावेश गरेर साहित्यको स्तर वृद्धि तथा विकासमा टेवा पुर्याउने काम लेखकबाट भएको छ । 

 

 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप