बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नाराबाजीका बीच प्रस्ताव पारित

आइतबार, २१ असार २०७७, १३ : २४
आइतबार, २१ असार २०७७

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकले प्रतिपक्षी दलको नाराबाजीका बीच ‘आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पारित गरेको छ । 

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका प्रदेशसभा सदस्यले आ–आफ्नो आसनवाट उठेर विरोध जनाएका थिए ।  विरोधकै बीच सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम माथिको कारवाही अगाडि बढाउनु भएपछि ती दुई पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए । नाराबाजीकै बीच आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु हुँदा उक्त प्रस्तावलाई बैठकले पारित गरेको हो ।

प्रतिपक्षी दलका सदस्यले बेल घेरेर नाराबाजी गरिरहँदा पनि प्रस्ताव पारित गर्ने कार्य असंसदीय भएको टिप्पणी काँग्रेसका सदस्य भरतबहादुर खड्काले गरे । सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यक्रमबारे प्रतिपक्षी सदस्यको माग सुनुवाइ नभएसम्म प्रदेशसभा बैठकमा विरोध जारी रहने उनले बताए ।

प्रतिपक्षी दलले राखेका मागबारे छलफल गर्न सरकार र प्रतिपक्षी दलकाबीच चारपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन नसकेको जनाइएको छ । बैठकलाई पुनः सञ्चालन बनाउने विषयमा छलफल गर्न बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा पनि कुनै सहमति जुट्न नसकेको बताइएको छ ।

सरकारले कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको रु ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएको जनाउँदै प्रतिपक्षीदलले विरोध गर्दै आएका छन् । ५३ सदस्य रहेको प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप