शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुरु पूर्णिमामा योगी नरहरिनाथको सम्झना, तस्विरमा हेर्नुहोस्

आइतबार, २१ असार २०७७, १३ : २६
आइतबार, २१ असार २०७७

आज गुरु पूर्णिमा पर्व मनाइँदै छ । असार पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै गरिएको हो । पर्वमा गुरुप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ वस्त्रआभूषण फेराउने र मिष्ठान्न भोजन गुरुलाई गराउने परम्परा छ । धार्मिक मठहरुमा गुरुपूजासहितका कार्यक्रम नै आयोजना गरिएको छ ।

संस्कृत भाषामा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रमा उल्लेख गरिएको हुँदा पूर्वीय परम्परामा यस पर्वको महत्व निकै रहेको छ। अज्ञानरूपी अन्धकारको नाश गरी जीवनमा ज्ञानको ज्योति दिने, फैलाउने व्यक्तिलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई पूर्वीय दर्शन र शास्त्रहरुले  ब्रह्मा, विष्णु र महेश्वरसहितका त्रिदेवका रूपमा मानेको छ ।

“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।

गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।”

पर्वले गुरुप्रति अहोभाव (कृतज्ञता) व्यक्त गर्न सिकाएको छ । पर्वले श्रेष्ठजनको सम्मान गर्ने शिष्टता र नैतिक आचरण एवं कृतज्ञताभाव बढाउने हुँदा पर्वले सामाजिक, सांस्कृतिक र पारम्परिक दायित्व र यसको महत्व अझ उजिल्याउने (उज्यालो बनाउने) अगुवाहरुको भनाइ छ ।

यही अवसरमा योगी नरहरिनाथका अनुयायीहरुले उनको प्रतिमामा सम्मान अर्पण गरेका छन् ।  योगी नरहरिनाथ नेपालका एक अध्यात्मिक व्यक्ति थिए। उनी नेपालका उद्भट आध्यात्मिक व्यक्तित्वका रूपमा परिचित छन्। वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् योगी आजीवन अन्वेषकका रूपमा रहेको पाइन्छ। देश एवं विदेशका धेरै ऎतिहासिक तथा पुरातात्त्विक स्थानहरूको भ्रमण गरेर उनले अध्ययन अनुसन्धान गरेका छन्। त्यस बाहेक उनी एक कुशल साहित्य सर्जक पनि हुन् । १७ फागुन १९७१ कालिकोटमा जन्मिएका उनको मृत्यु १३ फागुन २०५९ सालमा गोरकक्षपीठ, मृगस्थली, काठमाडौँमा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप