इथियोपियामा गायकको मृत्युको विषयमा झडपः १ हप्तामा १६६ जना बढीको मृत्यु
एजेन्सी । इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक भडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको प्रहरी स्रोतहरूले आइतबार जानकारी गराएका छन् ।
अरोमिया क्षेत्रका प्रहरी उप-आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको शनिबार राति सञ्चारमाध्यमहरूलाई जानकारी गराए । प्रहरीले गत मङ्गलबार अदिस अबाबामा भएका झडपमा कम्तीमा १० प्रदर्शनकारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको जनाएको थियो ।
इथियोपियाका जनजातीहरूको अधिकारका लागि गाउने गरेका हाचालु हुन्देसाको मृत्युलाई लिएर उक्त समुदायले गरेका विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो । हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीले सत्ता छोड्न बाध्य पारेको थियो ।
हुन्देसालाई अज्ञात व्यक्तिले गत सोमबार गोली हानी मारेको थियो । उनको मृत्युपछि राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दवाव सिर्जना गर्दै आएका थिए ।
सञ्चारमाध्यमका अनुसार आन्दोलन चर्किदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ । हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा कम्तीमा दुई हजार २०० व्यक्तिलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरूले बताएका छन् । आन्दोलन र झडपका घटना शनिबारदेखि नियन्त्रणमा आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर
-
मनमोहन सेन्टर : १५औँ वसन्त पार गर्दै गर्दा...