शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किसानलाई व्यावसायिक बनाउँदै पशुसेवा कार्यालय

मङ्गलबार, २३ असार २०७७, १३ : ०३
मङ्गलबार, २३ असार २०७७

कर्णाली प्रदेश सरकारअन्तर्गत सञ्चालनमा आएको पशु अस्पताल तथा पशुसेवा कार्यालय दैलेखले किसानलाई व्यावसायिक पशुपालनतर्फ अग्रसर बनाउने अभियान शुरु गरेको छ । 

परम्परागतरुपमा  पशुपालन गर्दै आएका नारायण नगरपालिकाका किसानलाई प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा १२० भैँसी वितरण शुरु गरिएको छ । 

नारायण– ३, ४, ५, ६, ७ र ११ का भैँसीपालक किसानलाई उन्नत भैँसी वितरण गरिएको हो । पहिलो चरणमा ६० भैँसी वितरण गरिसकिएको छ । करीब र एक लाख परेको एउटा भैँसीका लागि किसानले रु दश हजार मात्र लगानी गर्नुपर्ने प्रावधान छ । 

“बाबुबाजेको पालादेखि नै नै भैँसीपालन गर्दै आएका हौंँ, यसपालिदेखि व्यावसायिक र उन्नत भैँसी पालनका लागि सरकारले भैँसी प्रदान गरेको छ । हामीलाई निकै खुशी लागेको छ । अब दूध बिक्री गरेर सहजै आम्दानी गर्छाैँ”, नारायण नगरपालिका –७ का जङ्गबहादुर महताराले बताए ।

कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाको सांसद विकास कोषको रु ४० लाख,  नगरपालिकाको रु ४० लाख र भूमि, व्यवस्था  कृषि तथा सहकारी मन्त्रालय, पशु अस्पताल कार्यालय दैलेखको रु एक करोड  लगानी गरेर दुग्ध उद्योग सञ्चालनसमेत गरिने भएको छ ।

 किसानले उत्पादन गरेको दूध बिक्रीवितरणका लागि राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाले समन्वय गर्ने भएको छ । 

नगरपालिकाका गरीब एवं विपन्न किसानको आर्थिक अवस्था सुधार गर्नका लागि र तिनलाई व्यावसायिक पशुपालनमा अग्रसर गराउन चालु आवदेखि यस्तो अभियान थालिएको नगर प्रमुख रत्नबहादुर खड्काले बताए । 
पशु अस्पतालका कार्यालयका निमित्त प्रमुख भीमबहादुर विष्टले  व्यावसायिक किसान तयार गर्ने अभियानलाई सबैले साथ दिनुपर्ने बताए । किसानले ल्याएको दूध गैरसरकारी संस्थाले खरीद गर्ने र १५ दिनको एक पटक चेकमार्फत पैसा भुक्तानी गरिने व्यवस्था गरिएको विष्टको भनाइ छ ।  

किसानले उत्पादन गरेको दूध सहकारीले खरीद गरिदिने छ । 

 हरेक १५ दिनमा किसानको बैँक खातामा रकम जम्मा हुने छ । जिल्लामा खपत हुन नसके छिमेकी जिल्ला सुर्खेत र बाँकेसम्म दूध बिक्री गर्नेगरी दीर्घकालीन योजना निर्माण गरिएको राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दैलेखका अध्यक्ष  खमबहादुर थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप