शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा छैन कोरोना संक्रमितको लक्षण अनुसार उपचार गर्ने प्रोटोकल

मङ्गलबार, २३ असार २०७७, १६ : ०२
मङ्गलबार, २३ असार २०७७

चीनबाट सुरु भएको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणबाट विश्वभर १ करोड १७ लाख बढी संक्रमित भएका छन् भने ५ लाख ४१ हजार बढीको ज्यान गइसकेको छ ।  

नेपालमा पनि हालसम्म १६ हजार १ सय ६८ संक्रमित छन् भने ३५ को मृत्यु भइसकेको छ । हालसम्म कोरोना भाइरस संक्रमितको उपचारको लागि औषधि तथा भ्याक्सिन पत्ता लागेको छैन । 

यद्यपि औषधि पत्ता नलागेको अवस्थामा पनि विश्वका विभिन्न राष्ट्रहरुले कोरोना भाइरस रोगीको उपचारको लागि फरक–फरक खालका प्रोटोकल बनाएर औषधि उपचार गरेको पाइन्छ । 

नेपालमा भने कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने प्रोटोकल नबनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता जागेश्वर गौतमले बताए ।

 कोरोना भाइरस रोगीको उपचार नभए पनि नेपालमा लक्षणमा आधारित भएर गरिने उपचारमा एकरुपता पाइँदैन । लक्षणरहित कोरोना संक्रमितलाई उपचार गर्नेक्रममा अनुसन्धानका लागि फरक–फरक औषधि विभिन्न अस्पतालले दिने गरेको पाइएको टेकु अस्पतालका एक डाक्टरले बताए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले कोरोना भाइरसको औषधि पहिचान भइनसकेकाले संक्रमितको लक्षणको आधारमा उपचार हुने गरेको बताए । 

वर्तमान समयमा नेपालमा कोरोना भाइरस रोगीको उपचार कसरी गर्ने ? भन्ने बारेमा प्रोटोकल नबने पनि जस्तैः कोरोना संक्रमितलाई ज्वरो आएमा प्यारासिटामाल दिने, संक्रमितलाई अन्य इन्फेक्सन भएमा एन्टिभाइटिक दिने, संक्रमति खाना खान नसक्ने अवस्थामा पुगेमा स्लाइन पानी दिने, पिसाब फेर्न नसक्ने अवस्था रहे पाइप लगाइदिने, श्वासप्रश्वासमा समस्या भएमा अक्सिजन दिने, संक्रमितलाई अक्सिजन दिएर पनि गाह्रो भएमा भेन्टिलेटरमा राख्ने गरेको प्रवक्ता गौतमको भनाइ छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले कोरोनाभाइरसको लागि औषधि पत्ता नलागेको अवस्थामा नेपालमा संक्रमितलाई लक्षणको आधारमा कुन औषधि दिने वा नदिने भनेर नतोकिएको स्पष्ट पारे ।

नेपालमा अन्य देशको तुलनामा कोरोना भाइरस संक्रमित लक्षणसहितभन्दा लक्षण विहीनको संख्या बढी छ । कोरोना संक्रमित रोगीको उपचारका लागि औषधि तथा भ्याक्सिन पत्ता नलागेको अवस्थामा पनि हरेक देशले संक्रमितको लक्षणको आधारमा उपचार गर्नेका लागि प्रोटोकल बनाएसँगै केहीले राष्ट्रले एन्टिभाइरल ड्रग्स चलाउने गरेको र केहीले मलेरिया, एचआइभीका समेत चलाएको पुनले बताए । 

 विदेशमा कोरोना संक्रमितलाई मलेरिया र एचआइभीका औषधीहरु प्रयोग गरिएको थियो । हाल कोरोना संक्रमितको उपचार लागि प्रयोग गरिएका मलेरिया र एचआइभीका औषधी औचित्यविहिन भएको भन्दै विश्व स्वास्थ्य संगठनले रोक लगाएको छ । 

विश्वका भिन्न राष्ट्रले कोरोना संक्रमितको उपचारको लागि आआफ्नै प्रोटकल बनाए पनि नेपालमा भने अस्पताल अनुसार  लक्षणको आधारमा औषधि उपचार गरिएको छ । सरुवा रोग विशेषज्ञ डाक्टर पुनकाअनुसार टेकु अस्पतालमा भने संक्रमितको लक्षणको आधारमा बिरामीको उपचार गरिन्छ ।

 ‘संक्रमितको लक्षणको आधारमा औषधिको प्रयोग गरिए पनि टेकु अस्पतालमा मलेरिया र एचआइभीका औषधि संक्रमितलाई दिएको छैन,’ उनले भने, ‘अस्पतालअनुसार लक्षणका आधारमा संक्रमितलाई फरक–फरक औषधि दिएको सुन्न पाइन्छ ।’

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमितलाई मलेरिया र एचआइभीका औषधि प्रयोग गर्न रोक लगाउनु भन्दा  पहिलादेखि नै कोरोना संक्रमितको उपचारको लागि सो औषधि बिरामीमा प्रयोग नगरेको स्वास्थ्य मन्त्रालय गौतमले दावी गरे ।

 उता बेलायत सरकारले कोरोना संक्रमितको लागि पनि स्टेरोइड औषधिको प्रयोग उपयोगी भएको जनाएको छ । स्टेरोइड औषधि नेपालमा ८५ औं वर्षदेखि प्रयोग हुँदै आइरहेको उनले बताए ।

 स्टेरोइड औषधि नामक औषधि कोरोना भाइरस संक्रमित विरामीलाई उपयोगी हुने भने पनि अवस्था हरेर सबैलाई उपयोगी हुन सक्ने उनको भनाइ छ । 

धेरै राष्ट्रमा कोरोना संक्रमित हुनेमध्ये धेरैलाई लक्षण देखिएको छ भने कम संक्रमित लक्षणविहीन भएको पाइएको छ । नेपालको सन्दर्भमा भने लक्षणसहितभन्दा पनि लक्षणविहीन कोरोना संक्रमितको संख्या धेरै भएको डा पुनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप