केन्द्रीय संस्करण
इतिहासको सीमान्तबाट

मन्त्रीजीको डायरी

person explore access_timeअसार २५, २०७७ chat_bubble_outline0

हुन पाए हुन्थ्यो भन्ने मेरो इच्छा उत्कट थियो । हुँला भन्ने आसचाहिँ शून्य बराबर थियो भने हुन्छ । तर म भएँ । जनआनदोलन भाग दुईपछि पनि म शोभनीय विभागको मन्त्री भएँँ । अहिले मेरो चिल्लो, चम्किलो, छुँदैमा दाग लाग्लाजस्तो आनन्ददायी वातानुकुलीत कार छ । मेरो अगाडि मेरो विरल गाथको चिनारी दिने झण्डा फहराइरहेछ । मेरो कुशल चालक छ ।  मेरो शस्त्रधारी अंगरक्षक पनि छ । जता जाऊँ, जदौ, सलामी र पाउलागीको मलाई कुनै दुख छैन । मनमुग्धकारी तलबभत्ता र सुस्वादु भान्साको त कुरै गर्नु परेन । नील गगनबाट चट्याङ परेसरीको यो मन्त्री पद पाएर म उध्धुमै खुशी हुनुपर्ने हो । तर मेरो मनको घडामा मेरो खुशी र दुःख आधाआधा छन् । साँच्चै भनूँ भने यो आधा दुःखमा घुलित भएर मेरो सुख सबै नै असह्य दुःखमा परिणत भएको छ ।

गुह्य कुरा के हो भने मभित्र दुईवटा ‘म’ छन् । एउटा मलाई मनपर्ने ‘म’, अर्को लोकले मबाट अपेक्षा गर्ने ‘म’ । यथार्थमा म जे हुँ, त्यो म खुलेर देखाउन सक्दिनँ । म जे हुइनँ, त्यो हुँ भनेर अभिनय गर्न म अभिशप्त छु । आशामुखी लोक मबाट उद्दाम साहस र उच्च त्यागको माग गर्छ । ऊ जे र जति माग्छ, म त्यो र त्यति दिन सक्दिनँ ।

हो, मेरा बहुआयामिक दुःख छन् । गुह्य कुरा के हो भने मभित्र दुईवटा ‘म’ छन् । एउटा मलाई मनपर्ने ‘म’, अर्को लोकले मबाट अपेक्षा गर्ने ‘म’ ।  यथार्थमा म जे हुँ, त्यो म खुलेर देखाउन सक्दिनँ । म जे हुइनँ, त्यो हुँ भनेर अभिनय गर्न म अभिशप्त छु । आशामुखी लोक मबाट उद्दाम साहस र उच्च त्यागको माग गर्छ । ऊ जे र जति माग्छ, म त्यो र त्यति दिन सक्दिनँ । त्यसैले लोक मसँग अतिशय असन्तुष्ट छ र म भित्रभित्रै पीडित छु । मन्त्री बन्ने रहर कहिल्यै नमेटिनु र आफूमा मन्त्री बनेर लोकका अगणित भिक्षार्थीहरूका अनेकओली अपेक्षाहरू पूरा गर्ने हुती नहुनु मेरो जीवनको त्रासद् विरोधाभाष हो । यो विरोधाभाष मेरा समस्त सन्तापहरूको मुहान हो ।

आ....के नै पो होला र भन्दाभन्दै यसपाला डरलाग्दो आन्दोलन भयो । अहिले भन्नु पो हुँदैन, यस्तो होला भनेर मैले पत्याएकै थिइनँ । मलाई यी जब्बर राजाको शासन कम्तीमा पनि आठदस वर्ष यस्सै जाला भन्ने लागेको थियो । त्यत्रो शाही सेना एकछत्र यिनका मुठ्ठीमा छ । दासतुल्य कर्मचारीतन्त्रमा यिनको पकड जमठ छ । कन्नापछाडि जे भने पनि यिनका मुखेन्जी ननिहुरिने कुनै माइकलाल म देख्दिनँ । आच्या ! यति लामो इतिहास भएको, यति गहिरा सांस्कृतिक जरा भएको संस्था त्यति सजिलै ढल्छ ? हो, मेरो अन्तरको गोप्य आवाज मलाई घरिघरि यसै भन्थ्यो । आफ्नो यो अन्तरङ्ग तर्कनाप्रति म विश्वस्त थिएँ । त्यसैले वचनले वा पाउले आन्दोलनलाई दम दिन मलाई कहिल्यै जाँगर चलेन । दिउँसो म यसो फिलिम हेरेर घरमा बस्थेँ । आधाजसो दिन त म सुतेरै बिताउँथे । घामले विश्राम गर्न डाँडापारि पहेँला खुट्टा खसालेपछि यदाकदा राजाका विश्वासिला मान्छेसँग मेरो भेटघाट नभएको पनि होइन । ती भेटमा लोकका आँखा छलेर तीसँग बसेर मैले खानपीन र मनोरञ्जन गरेँ । आउनुपर्‍यो नेताजी, मौकामा राजालाई सघाउनु पर्‍यो भनेर भेट भएइपिच्छे मलाई ती फकाउँथे । म आउँदिन मैले कहिल्यै भनिनँ । आउँछु भनेर हतारमा वाचा पनि मैले गरिहालिनँ । त्यो मेरो सुविचारित र दूरदर्शी रणनीति थियो । तर गाँठ्ठे ! एकाएक उल्का भयो । जता हेर्‍यो, सडकभरि सलहका बथानझैँ टाउकै–टाउका देख्न थालेँ । अरे, सपनामा पनि नचिताएको यो के भो ? कुन अदृश्य शक्तिको प्रभावले कुन दुलाबाट फुत्तफुत्त बाहिर निस्केका हुन् यी अगणित टाउकाहरू ? म रन्थनिएँ । मलाई लाग्यो, इतिहासको वायुवेगी बाहनको इन्जिन हठात् स्टार्ट भयो । अब म एक्लै पछाडि छुट्ने भएँ । अताल्लिँदै, वाहनमा चढ्न भनेर कुद्दै म सडकमा पुगेँ । मेरी आमा ! त्यो दिन मेरो बेइजती !

उत्तेजनाको उन्मादी घोडमा सवार भएको उच्छृङखल भीडले मलाई घेर्‍यो । त्यो पनि अन्त होइन, प्रहरी जत्थाका नाकै अगाडि । मलाई घेर्नेमा मेरै दलका बेसोमति ठेट्नाहरू पनि थिए ।

‘तँ भ्रष्ट याँ किन आइस् ?’ उग्र प्रश्नको वाण आएर ममाथि बज्रियो । हतप्रभ मुद्रामा म मौन उभिएँ ।

‘तँ भ्रष्ट भाग् ।’

तैपनि म अवाक् रहेँ ।

‘तेरो दागी अनुहार देखेर नरनारीहरू विच्किन बेर छैन । ए भ्रष्ट, तँ भाग् । सडकमा यो बासी मुख देखाउन तँ फेरि कहिल्यै आँट नगर् ।’

हूलको बीचबाट कोही एक जना फुत्त निस्क्यो । छाँटले ऊ किञ्चित विवेकवान् रहेछ । घरीघरी मतिर हेर्दै उसले सानो भाषण गर्‍यो । ‘साथी हो ! यो साझा सडकको आन्दोलन हो । यसमा भ्रष्ट पनि आउन सक्छ, चोर पनि आउन सक्छ । पाकेटमारा पनि आउन सक्छ, बलात्कारी पनि आउन सक्छ । कुरा यत्ति हो, यो भ्रष्ट आफ्नो कुरूप अनुहार कसैले नचिन्ने गरी छोपेर हिँडोस् ।’

किसानका कोठेबारीमा रङ्गेहात पक्राउ परेको मूला चोरझैँ मुन्टो निहुराएर म मूर्तिवत् उभिइरहेँ । हूलको बीचबाट कोही एक जना फुत्त निस्क्यो । छाँटले ऊ किञ्चित विवेकवान् रहेछ । घरीघरी मतिर हेर्दै उसले सानो भाषण गर्‍यो । ‘साथी हो ! यो साझा सडकको आन्दोलन हो । यसमा भ्रष्ट पनि आउन सक्छ, चोर पनि आउन सक्छ । पाकेटमारा पनि आउन सक्छ, बलात्कारी पनि आउन सक्छ । कुरा यत्ति हो, यो भ्रष्ट आफ्नो कुरूप अनुहार कसैले नचिन्ने गरी छोपेर हिँडोस् ।’

उता उद्दण्ड हूल गलल्ल हाँस्यो । यता मेरो मरेको जुनी भो । भाग्यवश्, मैले तिनका हातको चुटाइ भने खानुपरेन । अनि ङिच्च हाँस्दै थेच्चरो भएर भीडको बीचमा लुकीलुकी सुस्त गतिमा आन्दोलनको जोखिमपूर्ण भेलमा म हेलिएँ । त्यसो त म पक्राउ पनि परेँ । म पूर्वमन्त्री हुँ भनेर चिनेर होला, अथवा यो भोलिको हाम्रो मालिक हो भनेर डरले होला, मेरो पक्राउ नरम–नरमै भयो । कतिका टाउका फुटे, कतिका हातखुट्टा भाँचिए । कतिका आँखै झिकिए, कतिका ज्यानै गए । त्यत्रो महाभारतमा हल्का लछारपछार आखिर के नौ पो हो र ?

अनपेक्षित आन्दोलनको अदम्य चापले दोब्रिएर राजा नाटकीय ढङ्गले झुके । आकासभरि पुत्लाको धुँवा उडाउँदै बलशाली आन्दोलनले जित्यो । अनि पार्टी कार्यालयमा मन्त्री छान्ने घडी आयो । जाऊँ कि नजाऊँको दोधोरे मुडमा म लुसुलुसु कार्यालयतिर लागेँ । तातेका युवाहरुले मलाई कार्यालयभित्र पस्नै पो नदेलान् कि ! तिनले सडकमा जस्तै फेरि पनि मेरो हुर्मत पो लेलान् कि ! मलाई थाहा छ, विजयको उन्माद सदैव खतरनाक हुन्छ । तिनले मलाई पार्टीबाटै पो निकाला गर्लान् कि ! अनेक आशंकाले गाँजेको मेरो बेचैन मनमा यसरी अनिष्ट तर्कनाहरूको उत्ताल तरङ्ग उठेको थियो । तर आश्चर्य, मलाई तिनले केही गरेरन् । जुट्नलाई कार्यालयबाहिर युवाहरूको सानोतिनो सागरै जुटेको थियो । सत्ताको बाजी जितियो भनेर ती त्यसैत्यसै दङ्ग परेका थिए । धन्य भगवान्, आजलाई बाँचे ! मेरो भयाक्रान्त मन हलुङ्गो भयो । म भित्र पसेँ र जुँगामा ताउ लगाउँदै नेता बस्ने आसनमा बैठकमा बसेँ । तै तै जीवनमा फेरि सत्र पर्ला कि भनेर म आफ्नो गोप्य खोपीमा सानो चाणक्य चाल चलिसकेको थिएँ । हो, मैले आफ्नो गुटका अनुचरहरूका कान सुटुक्क फुकेको थिएँ । मन्त्री बन्ने पात्र जो हो, ऊ नामी त हुनुपर्छ नै, ऊ अनुभवी पनि त्यत्तिकै हुनुपर्छ । दुनियाँका नजरमा पत्याइनलाई ऊ निकट अतीतको सांसद र मन्त्री हुनु त यस्सै पनि अनिवार्य छँदैछ । नत्र कानुनका नौ सिङ जान्ने नोकरशाहहरूले हेपेर चोर औंलाका इसारामा यतै नचाउँछन्, उतै झुलाउँछन् । नभन्दै मेरो चतुर्‍याइँपूर्ण जुक्ति  फलिफाप भयो । यो बडो मजाको कुरा छ । उस्तैउस्ताहरू एक्लाएक्लै हुँदा पनि जीवनमा उस्तै ढंगले सोच्छन् । मन्त्री बन्न खुट्टा उचाल्ने अरुहरूसँग मेरो तर्क ट्याक्क मिल्न आयो । र, मिलिजुली मन्त्री बन्ने मोर्चामा हामीमाझ अटल नाता गाँसियो । ज्यान हत्केलामा राखेर सधैँ आन्दोलनमा भिड्नेहरू जो थिए, ती मूक मुद्रामा पाखातिर मिल्किए । जाबो तीन दिन भीडको किनारमा लुखुर–लुखुर हिँड्ने म जीवनाथ उपाध्याय खुट्टा उचालेर मन्त्रीको आसनमा माथि उक्लेँ । सम्झना छ, मैले जमानमा भाग्यवादको असीम विरोध गरेको छु । त्यसैले अहिले दुनियाँसामु मैेले आफ्नो अन्तस्करणको आवाज पोख्न मिल्दैन । तर अ‍ेचल मलाई कसोकसो भाग्यको लेखान्तरमाथि विश्वास लाग्न थालेको छ । नत्र म कसरी मन्त्री भएँ ? छन त कुरा अर्को पनि छ । पाखुरा खैँचेर, खालि कुदेर, चिच्याएर, टाउको थापेर, रगत बगाएर मात्र हुँदैन । आखिर जीवनमा बुद्धिको ताछिल्य भन्ने चीज पनि त केही छ । अँ, छुटाउनु नहुने अर्थपूर्ण एउटा कुरा छुट्न गएछ । त्यो म पक्राउ परेपछिको कुरा हो । कालक्रममा जीउ अर्कै भएछ, जिब्रो अर्कै भएछ । पुरानो बानी छुटेछ, थुनामा खान–सुत्न मलाई निकै नै असुविस्ता भयो । मनमा रातभरिजसो खेल्नु नहुने कुरा खेलिरहे । आन्दोलनतिर पाइला चाल्नुअघि ठमेलमा एउटा अन्तरंग कर्म गरेर म बाहिर निस्केको थिएँ । त्यहाँ एउटा लज छ । लजका मालिक मेरा आफ्नै मान्छे हुन् । दलभित्र मेरो गुटका बफादार अनुयायी । ती मलाई अटल भक्तले राजालाई मानेझैँ मान्छन् । ती मेरो मर्म बुझ्छन् । निकै वर्षदेखि तिनले मलाई त्यहाँ गोप्य खोपी दिएका छन् । हो, त्यही खोपीमा पाँच हजार रुपियाँको दामी रतिक्रिडा सम्पन्न गरेर म सडकमा ओर्लिएको थिएँ । ढल्किँदो उमेरकी नगरबधु शासक घरानाकी हुन् । माल ठीकै छ । थुनामा अनिदो क्षणमा यो कोल्टो र ऊ कोल्टो फेर्दै मैले दिउँसोको त्यो घटना सम्झेँ । अहो ! सडकका अरसिकहरूले त्यो चाल पाएका भए !...

यत्रो आन्दोलनपछिको मन्त्री हुन पाउँदा मलाई आफ्नो अग्लो छतमा उभिएर खुट्टा उचाल्दै ‘ए हे!’ भन्न मन लागेको थियो । तर, मेरो त्यो अपूर्व आनन्द एकदमै क्षणभंगुर रह्यो । मेरो नामले छापाहरू रंगिए । ‘भ्रष्ट’, ‘प्रतिगामी’, ‘दुईजिभ्रे’, ‘छेपारो’, ‘चमेरो’– तिनले मलाई केमात्रै भन्न बाँकी राखे र ? तिनले अतीतलाई उधिनेर मेरा हिजोका कुरा कोट्याए । त्यो राजावादी हो । त्यो शिष्टाचारी राजा नरहे सृष्टि नै नासिन्छ भन्ने झुन्डको प्यादा हो । मलाई लाग्यो, तिनले भनेको कुरा झुठो होइन । म जब राजाबिनाको राजको कल्पना गर्छु, मलाई कसोकसो असुरक्षाको अनुभूति हुन्छ ।

यत्रो आन्दोलनपछिको मन्त्री हुन पाउँदा मलाई आफ्नो अग्लो छतमा उभिएर खुट्टा उचाल्दै ‘ए हे!’ भन्न मन लागेको थियो । तर, मेरो त्यो अपूर्व आनन्द एकदमै क्षणभंगुर रह्यो । मेरो नामले छापाहरू रंगिए । ‘भ्रष्ट’, ‘प्रतिगामी’, ‘दुईजिभ्रे’, ‘छेपारो’, ‘चमेरो’– तिनले मलाई केमात्रै भन्न बाँकी राखे र ? तिनले अतीतलाई उधिनेर मेरा हिजोका कुरा कोट्याए । त्यो राजावादी हो । त्यो शिष्टाचारी राजा नरहे सृष्टि नै नासिन्छ भन्ने झुन्डको प्यादा हो । मलाई लाग्यो, तिनले भनेको कुरा झुठो होइन । म जब राजाबिनाको राजको कल्पना गर्छु, मलाई कसोकसो असुरक्षाको अनुभूति हुन्छ । म आफ्ना आँखासामु विराट रिक्तता देख्छु । त्यो रिक्ततामा खसेर मेरो अस्तित्व नै विलुप्त भयो भने ! तर जीवनमा सत्यलाई ठाउँ छैन । मैले आफ्नो अन्तरमा भूमिगत रहेको यो सत्यलाई उजागर गरेँ भने तिनले मलाई लखेटेर सोझै रित्तो दरबार पुर्‍याउँछन् । मेरो जीवनको अर्को दुःख हो यो । विश्वास एक थोक छ, भन्नु अर्कै थोक परेको छ । तालुमा फलेको आलुसरहको यो मन्त्री पद जोगाउनकै लागि पनि मैले केही न केही क्रान्तिकारी अभिनय गर्नु छ । मिलाएर गर्न खोज्छु, कतै केही मिल्दैन । अनि सूचनाका सुराकीहरू जिब्रो फुत्त बाहिर निकालेर हल्लाउँदै मलाई गिज्याउँछन् ।

तिनले ‘भ्रष्ट’ भनेको मलाई एकदमै मन पर्दैन । म त भन्छु, यो अपजसको असमान वितरण हो । पहिले मन्त्री हुँदा खान्छु नै भनेर मैले केही खाएको होइन । कताकताबाट चालै नपाईकन पैसो आउँथ्यो । पोका टक्य्राउनेहरू हजुर, चलिआएको यहाँको चलन यस्तै छ भनेर नौनीमय स्वरमा बिन्ती चढाउँथे । चलन फेर्न खोजिएन । बरु चलनको चुपचाप भोगचलन गरियो । यसरी गर्दिनँ भन्दाभन्दै दुईचार पैसाको आर्जन भइहाल्यो । छनलाई मेरो दलभित्र मेरोभन्दा ठूलो आर्जन गर्ने वीरहरू अरु नै थिए । तर गन्हाउने बेलामा मै अभागीको नाउँ ज्यास्ती गन्हायो । यस मुलुकका पत्रकारहरू मूर्ख छन् । यथार्थका पत्रहरूमुनि पसेर, अन्तरकुन्तर छामेर दुधको दुध पानीको पानी छुट्याउने सीप र जाँगर यिनमा लेसमात्र पनि छैन । नांगा आँखाले सर्सरी जीवन–सतहमा हेर्छन् र छुद्र जिब्रा हत्तपत्त चलाउँछन् । यसरी यिनले ममाथि जघन्य अन्याय गरेका छन् ।

लोकले ध्यानले सुनोस्, सतहमुनिको सत्य कुरो यस्तो छ । मेरो पैतृक जेथो छँदै थिएन भने पनि हुन्छ । मेरै छेउका अरुहरूको थियो । म नहुने अभागीको थोरै हुँदा त्यो के के न हो जस्तो देखियो । हुने भाग्यमानीहरूकोमा अरु डङ्गुर थपिँदा पनि केही थपिएजस्तो लागेन । ममाथि अन्याय हुनाको गाँठ्ठी कारण यही हो । अहिले राजधानीको नाभिनेर मेरा निकै अग्ला तीनवटा घर छन् । तर, मेरो नाउँमा एउटा पनि छैन । एउटा घर ब्याइते स्वास्नीका नाउँमा छ । मैले यो उसले दाइजोमा ल्याएकी हो भन्नु परेको छ । एउटा घर मलाई मनपर्ने महिलाका नाउँमा छ । मैले त्यो मेरो हो भन्ने मिल्दैन । अनि एउटा घर भानिज पर्नेका नाउँमा छ । अपजसको असमान वितरण हुनाले गर्दा एकबारको जुनीमा म आफ्नै नाउँको घरमा सुत्न नपाईकन मर्ने भएँ । मत्र्यलोकमा मानिसको यो बिजोकको मरण हो ।

अतीततिर फर्केर यसो गम खान्छु, यो दुःख निम्त्याउनुमा मेरो पनि दोष छ । म पहिले निकै आदर्शवादी थिएँ । गुमाउनलाई मसँग केही थिएन । मैले ठूलो स्वरले, नित्य सादा जीवन, उच्च विचारका कुरा गरेँ । स्वार्थ त्याग, जीवन–उत्सर्ग, परोपकार र करुणबारे त मैले प्रवचन कति दिएँ कति ! मेरो त्यो अतिरञ्जित आदर्श बुमराङ भएर अहिले मेरो सानो जेथोमाथि बज्रिन आइलाग्यो । जीवनमा गरिपुर्‍याउन नसकिने कुरा भन्दा पछि दुःख पाइने रहेछ ।

अतीततिर फर्केर यसो गम खान्छु, यो दुःख निम्त्याउनुमा मेरो पनि दोष छ । म पहिले निकै आदर्शवादी थिएँ । गुमाउनलाई मसँग केही थिएन । मैले ठूलो स्वरले, नित्य सादा जीवन, उच्च विचारका कुरा गरेँ । स्वार्थ त्याग, जीवन–उत्सर्ग, परोपकार र करुणबारे त मैले प्रवचन कति दिएँ कति ! मेरो त्यो अतिरञ्जित आदर्श बुमराङ भएर अहिले मेरो सानो जेथोमाथि बज्रिन आइलाग्यो । जीवनमा गरिपुर्‍याउन नसकिने कुरा भन्दा पछि दुःख पाइने रहेछ । मैले ढिलो बुझेँ । जब बुझेँ, त्यो बेला सबै कुरा चौपट् भइसकेको थियो । कहिलेकाहीँ दिक्दारीको मुद्रामा म कल्पिन्छु, साला मानव–स्मृतिलाई मथिङ्गलबाट ब्लेडले खुर्केर फाल्न पाएहुँदी....। तर यो व्यर्थको कल्पना मेरो दुःखमाथि दुःखैमात्र थपेर जान्छ ।

दसौँ लाखमा एक जनाले पाउने मन्त्री पदमा छु, तैपनि म दुःखी छु । यो कस्तो विडम्बना !

सडकछाप हल्लाखोरहरू धारमा राखेर कुरा गरिस् भन्दै ममाथि लाञ्छना लगाइरहेका छन् । ए बाबा ! धारमा राखेर नगरे म कहाँ राखेर कुरा गरुँ ? जीवन अनिश्चयको भुमरी हो, जहाँ जीवनको डुङ्गा हरपल ढलपलढलपल गरिरहन्छ । यो डुङ्गा मनचिन्ते कल्पनाको पारि किनारमा पुग्छ नै भन्ने ग्यार्‍यान्टी आखिर के छ ? तर जगत्का मूर्खहरू यो अकाट्य सत्य बुझ्दैनन् । मैले दोहोरो अर्थ लाग्ने साङ्केतिक भाषामा शिष्टाचारी राजा भएर बिग्रने कुरा केही छैन भनेको पूर्वानुमान गर्न नसकिने अनिश्चयको रहस्य बुझेरै हो । दुःखको कुरो, यथार्थलाई यथार्थका रूपमा स्वीकार गर्न नचाहने बतासेहरू मलाई वित्थामा गिज्याइरहेका छन् ।

अहो ! मलाई भनन्न रिङ्गटा लागेर आयो । मेरो यो अमूल्य मन्त्री पदको आयु...

रचनाकालः २०६३

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.