शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब ‘दामी’ बाट सबै नेपाली गीत-संगीत सुन्न सकिने

बिहीबार, २५ असार २०७७, १७ : ५५
बिहीबार, २५ असार २०७७

काठमाडौं  । पछिल्लो समय गीत–संगीत सुन्नका लागि युट्युव लगायत विभिन्न डिजिटल प्लेटफर्महरु उपलब्ध छन् । तर पनि मानिसहरु सन्तुष्ट हुन सकेका छैनन् । त्यसैले सधै खोज नयाँ विकल्पतिर हुने गरेको छ । त्यही विकल्प खोजको परिणाम हो ‘दामी’ म्युजिक एप  । रोशन श्रेष्ठ र सुदीप पोखरेललगायतको टिमले मिलेर यो एप तयार पारेका हुन् । 

करिब ६ महिनाको प्रयासपछि सञ्चालनमा आएको यो एपबाट जुनसुकै पनि नेपाली गीत–संगीत सुन्न सकिन्छ । दामीमा अहिलेसम्म करिब पन्ध्र हजार नेपाली गीत अपलोड भइसकेका छन् । ती सबै गीत चाहेको समय एम मार्फत सुन्न सकिने सञ्चालक मध्यका एक सुदीप पोखरेलले बताए ।

यो एपमा अधिकांश मूलधारका गीतहरू सुन्न पाइन्छन् । जुन दामी म्युजिकले रेकर्डिङ कम्पनी अथवा वितरकसँगको सहकार्यमा उपलब्ध गराउने गरेको छ । गीत सुन्न श्रोताले प्रतिदिन, प्रति हप्ता वा प्रति महिनाका दरले पैसा तिर्नुपर्ने हुन्छ । हुन त स्पटिफाइ जस्ता केही विदेशी एपमा पनि गीत संगीत उपलब्ध छन् । तर त्यसमा दामीको जस्तो आफुले चाहेको नेपाली गीत संगीत पाउन सकिन्न । दामीले चाहिँ नेपाली कलाकारलाई फोकस गर्ने भएर श्रोतालाई नेपाली गीत सुन्न सजिलो हुने पोखरेल बताउँछन् । उनले भने– ‘त्यसैले त हालसम्म दामीसँग ९००० भन्दा बढी श्रोता आबद्ध भएका छन् ।’

दामीले गायक वा गीतको अधिकार लिएको कम्पनीसँग दुई वर्षका लागि लिखित सम्झौता गरेर अपलोड गर्ने गर्दछ । अपलोड भएका गीत कतिपटक सुनियो भन्ने आधारमा गीतको रोयल्टी पनि गायक गायिका तथा कम्पनीलाई तिर्ने गरेको छ । कूल कमाइको पचास प्रतिशत एपले राख्छ भने बाँकी गायक वा कम्पनीलाई दिने गरेको छ । 

हालसम्म नेपालका चर्चित मुक्ति एण्ड रिभाभल, दीप श्रेष्ठ, दीपक बज्राचार्य, सविन राई, सुगम पोख्रेलदेखि, लाउरे, भिटेन, साइराम म्युजिक लगायत सय बढी गायक गायिका, ब्यान्ड तथा म्युजिक कम्पनि योसँग आवद्ध भएका छन् । 
‘अडियोमात्र रेकर्ड गराएका गायकलाई पनि केही राहत होस्, आफ्नो गीत सुनिएबापत् केही पैसा होस् भन्ने हेतुले नै दामी सुरु गरेको सञ्चालक सुदीपले थपे ‘गीत रेकर्ड गराएर अडियो घरमा थन्काएकालाई पनि यसले राहत मिल्नेछ ।’

 कसरी सुन्ने गीत 
दामी एप एन्ड्रोइड र आइओएस दुबैमा उपलब्ध छ । एकपटक गरेको सब्सक्रिप्सन ३० दिनसम्म रहन्छ । एपमा अनलाइन गीत सुन्न सकिन्छ भने अफलाइन डाउनलोड गर्न मिल्ने व्यवस्था पनि छ ।  तर, सब्स्क्रिप्सनको मिति सकिएपछि गीत सुन्न भने मिल्दैन । 

एकदिनका लागि गीत सुन्न चाहनेले तीन रुपैयाँ, एक साताका लागि पन्ध्र रुपैयाँ र एक महिनाका लागि पचास रुपैयाँ खल्ती, इसेवा, एनसेल लगायत एपबाट तिर्न सकिन्छ । देश बाहिर रहेकाले पे पाल र गुगल पेमार्फत समेत तिर्न सक्नेछन् । एप डाउनलोड गरेको सात दिनसम्मका लागि भने फ्रि ट्रायल उपलब्ध छ । एपमा रेडियो प्रसारण पनि उपलब्ध छ । एपबाट मैथली, नेवारी, थारु, मगर भाषाका गीतहरु सुन्न सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप