शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा

शुक्रबार, २६ असार २०७७, १२ : ०५
शुक्रबार, २६ असार २०७७

 काठमाडौं । पप्पु कन्स्ट्रक्सन फेरि कालोसूचीमा परेको छ । विकास निर्माणका विभिन्न आयोजनाको ठेक्का लिएर समयमै काम नगर्ने निर्माण व्यवसायीको छवि बनाएको हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन फेरि कालोसूचीमा परेको हो । तर अहिले यो कन्स्ट्रक्सन छोरा सुमित रौनियारले सम्हालेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पुसँग संयुक्त उपक्रममा रहेको बाम्ती जेभी समेत कालोसूचीमा परेको छ । अनुगमन कार्यालयका अनुसार हुलाकी राजमार्गको विभिन्न ठेक्का लिएको पप्पु बाम्ती जेभी अनामनगरलाई एक वर्षसम्म कालोसूचीमा राखिएको छ । पटक–पटक तोकिएको निर्माण कार्य पूरा गर्न सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयले निर्देशन दिए पनि अटेर गरेका कारण उनीहरुलाई कालोसूचीमा राखिएको हो । 

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको जिम्मेवारी पूरा नगरेको तथा आयोजनाको काममा गम्भीर लापरबाही गरेको आरोप पप्पुलाई छ । साथै सरकारी स्रोतको दुरुपयोग गरेको पाइएपछि २ वटा आयोजनाले एकैपटक बाम्तीका विश्वास झा सहित रौनियारलाई कालोसूचीमा राखिएको हो ।

यस्तै सो कार्यालयले विजी कन्सट्रक्सन चांगुनारायण भक्तपुरका गौतम दुलाल र श्रीहरि सेतीदेवी जेभी मनहरि मकवानपुरका हरिहर चौलागाईलाई समेत एकवर्षका लागि कालोसूचीमा राखेको छ ।

विशेष गरी सडक विभागले निर्माण गरिरहेको हुलाकी राजमार्गको काम झण्डै २ दशकदेखि अलपत्र  छ । नेपाल भारत सीमा नजिक सहज यातायात आवगमनका लागि निर्माण भइरहेको हुलाकी राजमार्गमा सरकारकै भाषामा भन्ने हो भने चरम लापरबाही हुँदै आएको छ ।

सो आयोजनाको योजना कार्यालय कपिलवस्तुले २ खण्डको काममा लापरबाही भएको ठहरसहित सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखी कालोसूचीमा राख्न आग्रह गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप