राजदूत आचार्यको क्षमता र भूमिकामाथि प्रश्न : दिल्लीमा प्रेस कन्फरेन्स गर्न कसले रोक्यो ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय मिडियाबाट दुष्प्रचार भइरहेको विषयमा खण्डन नगरिएपछि दिल्लीस्थित नेपाली दूतावसमाथि प्रश्न सोझिएको छ । यद्यपि उक्त विषयमा दूतावासले भारतको विदेश मन्त्रालयलाई बिहीबार मौखिक रूपमा ध्यानाकर्षण गराएको जनाएको छ । त्यसैको संकेत गर्दै विहीबार कुनै सन्दर्भ उल्लेख नगरी राजदूत निलाम्बर आचार्यले ट्विटरमा लेखेका छन्, ‘बोल्नुपर्ने ठाउँमा बोल्ने हो, भन्नुपर्ने ठाउँमा भन्ने हो । त्यो बोलिएको छ, भनिएको छ ।’
बोल्नपर्ने ठाउँमा बोल्ने हो, भन्नपर्ने कुरा भन्ने हो। त्यो भएको छ। बोलिएको छ, भनिएको छ।
— Nilamber Acharya (@nilacharya) July 9, 2020
तर भारतीय मिडियाले प्रधानमन्त्री र चिनिया राजदूतको नाम जोडेर नेपालका बारेमा अतिरन्जित, अनर्गल र आपत्तिजनक विषय प्रसारण गरिएकाले त्यही ढंगले खण्डन गर्नुपर्ने आवाज उठेको छ । मुलुकको प्रधानमन्त्री र महिला राजदूतबीच काल्पनिक कथा बुन्ने काम अक्षम्य अपराध भएकाले नेपाल सरकारले एक्सन लिनैपर्ने मत बलियो ढंगले प्रकट भइरहेको छ ।
राजदूत आचार्यको सन्दर्भविहीन प्रतिक्रियाले उनको भूमिकामाथि पनि प्रश्न उठाइएको छ । यता बिहीबार साँझदेखि विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटरहरुले सरकारी स्वामित्वको दूरदर्शनबाहेक भारतीय सबै न्युज च्यानलको प्रसारण नेपालमा बन्द गरेका छन् ।
भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्याय यस विषयलाई कुटनीतिक ढंगले अगाडि बढाउनुपर्ने बताउँछन् । उनले भने, ‘राष्ट्रबारे फैलाइएका यस्ता अतिरञ्जित र अनर्गल प्रचारबारे डिप्लोमेटिकल मुभ गर्नुपर्छ । परराष्ट्रमन्त्रालयको भर नपरेर राजदूत आफैले पनि यो विषय उठाउनुपर्ने हो ।’
उपाध्यायले नेपालका लागि भारतीय राजदूतलाई पनि सरकारले बोलाएर यस विषयको खण्डन गर्नुपर्ने बताए । उनले भने, ‘तर सबैभन्दा बढी सक्रियता देखाउने काम दिल्लीस्थित हाम्रो दूतावासको हो । किनभने दूतावास त्यहाँको मिडिया सम्पर्कमा हुन्छ । सबै मिडिया उस्तै खाले हुँदैनन् ।’
पूर्वराजदूत उपाध्यायका अनुसार नेपालको संविधान जारी भएपछि भारतीय मिडियाले अनर्गल प्रचार गरेका थिए । तत्कालीन अवस्था सम्झिँदै उनले भने, ‘नेपालमा संविधान जारी भएपछि भारतीय मिडियाले यस्तै नकारात्मक रुपमा आक्रमण गरेका थिए । तर त्यो वास्तविक थिएन । हल्लाकै भरमा तत्कालीन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गलत सूचनाका आधारमा बोल्नुभयो । उनीहरुको त्यो प्रपोगाण्डा चिर्न तीन महिना लागेको थियो ।’
त्यसपछि फेरि नाकाबन्दीका बेला पनि भारतीय मिडियाले यस्तै प्रपोगाण्डा मच्चाएका थिए । ‘मिडियासँग बोल्न कन्फिडेन्स चाहिन्छ । त्यो भनेको आफ्नो सरकारको प्रमुखसँग, मन्त्रालयसँग पनि सिधै एक्सेस हुनुपर्यो । म भएको बेला प्रधानमन्त्रीले तपाईं जत्तिको मान्छे त्यहाँ भएका बेला आफ्नो विवेकले देखेका कुराभन्दा हुन्छ भन्नुहन्थ्यो । अहिले त्यो भनेको छैन कि ? तर दूतावासले यथार्थ कुरा के हो बोल्नुपर्छ नै । यस विषयमा प्रेस कन्फेरेन्स गर्न सकिन्छ ।’
भारतका सबै मिडिया उस्तै नभएको भन्दै मिडिया म्यानेज गरेर यथार्थ कुरा बाहिर ल्याउन दूतावास चुकेको उनको भनाइ छ । ‘नाकाबन्दीका बेला नेपाल सरकार चीनतर्फ ढल्कियो । यसो, त्यसो भनेर भारतीय मिडियाले निकै प्रपोगाण्डा गरेका थिए । त्यो प्रपोगाण्डाले मान्छेलाई दिग्भ्रमित पारेका थियो,’ उपाध्यायले भने, ‘त्यतिबेला मेरो मिसेस विरामी भएर म हस्पिटल गएको थिएँ । मोदीजीले नेपाललाई आत्मियता देखाउनुभयो तर नेपालले इग्नोर गर्यो भनेर हस्पिटलमै एक जनाले मलाई भने । मैले यथार्थ कुरा सुनाएपछि सो सरी भन्नुभयो । आफ्नो कुरा भन्नै सकेनौँ भने जे हल्ला हुन्छ त्यसैको प्रभाव पर्छ ।’
भारतमा नेपाली मिडियाको पहुँच नभएकाले आक्रामक तरिकाले आफ्नो कुरा राख्नुपर्नेमा उनको जोड छ । ‘भारतमा नेपाली मिडियाको पहुँच छैन । नेपालको बारेमा रुची हुनेहरुले इन्टरनेटबाट हेर्ने कुरा छुट्टै हो । होइन भने सर्वसाधरणमा हाम्रो पहुँच नै छैन । त्यो कुरालाई स्वीकारेर हामीले त्यहाँ एग्रेसिभ ढंगले आफ्नो कुरा राख्नुपर्छ,’ उपाध्याले भने, ‘नेपालले आफ्नो दृष्टिकोण प्रष्ट राख्नुपर्छ । यथार्थ कुरा बताएपछि भारतले रेस्पोन्स गथ्र्यो । अहिले किन त्यो हुन सकेको छैन ? मैले पनि बुझ्न सकेको छैन ।’
भारतका लागि नेपालका पूर्वराजदूत भेषबहादुर थापाले पनि भारतीय मिडियाको दुष्प्रचार रोक्न दूतावासको भूमिका अर्थपूर्ण हुने बताए ।
उनले भने, ‘भारतीय मिडियामा प्रधानमन्त्रीका विषयमा प्रयोग भएका शब्दले दुई देशबीचको समधुर सम्बन्धमा तिक्ततामा पैदा गर्ने प्रयास भएको छ । यस विषयमा दूतावसको मूभिका अर्थपूर्ण रहुन्छ । दूतावासले भारतको विदेश मन्त्रालयलाई मौखिक जानकारी गराएको कुरा आएको छ ।’
थापाका अनुसार दूतावास सक्रिय नभएको भन्दा पनि भारतीय मिडियाको अमर्यादित गतिविधि दुई देशको सम्बन्ध खलबल्याउने किसिमको छ । उनले भने, ‘प्रश्नले अट्याक गरेर प्रयोजित रुपमा जुन भाषा प्रयोग भएर दुष्प्रचार गरियो, त्यसले जनस्तरमा वातावरण नै दुसित बनाउँछ । त्यसको प्रतिकार भएको छ । भारतीय मिडियामाथि निषेधित कदम पनि चालिएको छ । यसबाट सबैले पाठ सिकुन् भन्ने आशा गर्ने कुरा हो ।’
तर भारतका लागि नेपालका पूर्वराजदूत लोकराज बरालले भने मिडियामाथिको प्रतिबन्धभन्दा सरकारी पक्षले कुटनीतिक रुपमा एक्सन लिनुपर्ने बताए । ‘विशेषत भारतका केही टेलिभिजन बढ्ता छन् । त्यो ठीक छैन । यस्तो विषयमा हाम्रो दूतावास दिल्लीमा कति सक्रिय हुन सक्छ, कति क्षमता छ त्यो उहाँको कुरा हो,’ उनले भने, ‘तर त्यस्ता टेलिभिजनबारे पत्रकार सम्मेलन गरेर यो वाहियत कुरा हो । अनावश्यक अतिरन्जित गराउने कुराले सम्बन्ध विग्रिन्छ भनेर प्रस्ट पार्ने दूतावसको दायित्व पनि हो ।’
तर त्यहाँभित्र भएको जनशक्ति र राजदूतको पहुँच कति छ भनेर यताबाट विश्लेषण गर्न नसकिने उनले बताए । बरालले भने, ‘एउटा त नेपाली दूतावासको आफ्नै लिमिटेसन छ । अर्को यत्रो ठाउँमा पहुँचको कुरा छ । धेरै कुरामा काउन्टर गरेर हिँड्न सम्भव पनि छैन । तर यो वाहियात कुरा हो भनेर रियाक्सन भने जनाउनुपर्छ ।’
उनका अनुसार भारतको मिडियामार्फत भारतकै मिडियालाई काउन्टर दिन सक्नुपर्छ । ‘दिल्लीस्थित राजदूतावसले कति मिडियामा आफ्नो पहुँच बनाएको छ। त्यसमा भर पर्ने कुरा हो । बाहिर हेर्दा केही देखिएको छैन । राजदूतको पनि आफ्नै समस्या होला । यसमा थप के कमेन्ट गरिराख्नु ?,’ बरालले भने ।
दिल्लीस्थित नेपाली दूतावासले भारत सरकारसमक्ष औपचारिक रूपमा विरोध जनाउनुपर्ने मागसमेत उठेको छ । भू–राजनीतिका जानकार अरुण कुमार सुवेदीले अहिलेको नेपाल भारत सम्बन्ध र रिसिविङ स्टेटको मिडिया प्रोभोकेसनमा दूतावासको अपेक्षित भूमिका पूरा नभएको बताए ।
‘यत्रो मिडिया प्रोभोकेसन भयो । दिल्ली दूतावासबाट कुनै प्रकारको रेस्पोन्स भएन । दोस्रो नेपाल–भारत यस्तो तनावपूर्ण अवस्थामा छ । यसमा दूतावासको भूमिका केही देखिएन । दिल्लीमा नेपालको कूटनीतिक नेतृत्व गर्नुभएको निलाम्बर आचार्यज्यूको यो असफलता पनि हो,’ उनले भने ।
राजदूत आचार्यले दुई देशबीच तनावपूर्ण अवस्था सिर्जना भएका काम गर्न भेटघाट र त्यहाँका मिडियालाई उचित कुरो राख्न नसकेको उनले बताए । उनले भने, ‘भारतको मिडियाले हामी चीनको ‘पेट स्टेट’ भयौँ भनेर सम्प्रेषण गरिरहेको छ । त्यो होइन, हामीबीच केही असमझदारी छन् । कूटनीतिक रुपमा हामी समधान गर्नसक्छौँ भनेर प्रेस कन्फेन्ससम्म नेपालको दूतावासले गरेन ।’
अनौपचारिक रुपमा भनिएका कुराको कुनै प्रभाव नदेखिएको उनको भनाइ छ । ‘नेपाल सायद उहाँ राजदूतको स्वभाव वर्तमान स्थितिसँग भूमिका गर्न असमर्थ रह्यो । यसलाई प्रतिष्ठाको विषय नबनाइ वापस हँुदा राम्रो हुन्छ,’ उनले भने । यस्तो अवस्थामा अब आचार्यलाई स–सम्मान राजदूतको जिम्मेवारीबाट फर्किन सुवेदीको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने
-
सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा