शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोशीमा पानीको बहाव बढेपछि ३६ वटा ढोका खोलियो, उच्च सर्तकता अपनाउन आग्रह

शनिबार, २७ असार २०७७, १० : ४०
शनिबार, २७ असार २०७७

जनकपुर – निरन्तर वर्षातको कारण प्रदेश नम्बर २ को सिमा क्षेत्र कोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । लागातार वर्षातको कारण कोशी नदीमा पानी बढ्दै गएपछि कोशी नदीको फाटक खोल्ने क्रम पनि जारी नै छ ।

कोशीमा पानीको बहाव बढ्दै गएपछि त्यस क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन समेत स्थानीय प्रशासनले आग्रह गरेको छ । धनकुटास्थित तमोर नदी मुलघाटमा जलस्तर बढेपछि कोशीसंग जोडिएको प्रदेश नम्बर २ को सप्तरी र प्रदेश नम्बर १ को सुनसरीमा उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।

सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सप्तरी र सुनसरी सीमा छुट्याउने कोशी नदीमा पानीको बहाव बढ्दै गइरहेको बताए । अपरान्ह तीन बजेपछि कोशीमा पानीको बहाव २ लाख १५ क्युसेक कटिसकेको जानकारी आफूहरूलाई प्राप्त भएको उनले जनाए ।

उनले भने, ‘धनकुटास्थित तमोर नदी मुलघाटमा पानीको बहाव उच्च भइसकेको जानकारी आएको छ, तमोर नदी नै कोशीमा मिल्ने भएकोले यहाँपनि पानीको सतह बढेको हो ।’

कोशीमा पानीको बहाव ३ लाख क्युसेक कटिसकेपछि खतराको संकेतको रुपमा लिने गरिन्छ । पानीको बहाव लगातार बढ्दै गएपछि कोशी ब्यारेजको ५६ वटा ढोकामध्ये ३६ वटा खोलिसकेको उनले बताए ।

पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ३६ वटा ढोका खोलिसकेको प्रमुख जिल्ला अधिकारी आचार्यले भने ।

कोशी नदीमा आउने बाढीका कारण हरेक वर्ष सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका दर्जनौं गाउँ डुबान पर्ने गरेको छ भने यो क्षेत्र वर्षेनी वर्षातयाममा बढी नै प्रभावित हुने गरेको छ । कोशीको पानी गाउँभित्र छिरेपछि हजारौं स्थानीय बाढीको चपेटमा पर्ने गर्छन् भने अधिकांश गाउँवासीको उठिवास हुने गर्छ ।

लगातारको वर्षापछि कोशीमा बाढी आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले उच्च सतर्कता अपनाउदैँ नदी वरिपरी नजान सर्वसाधारणहरूलाई अपिल समेत गरेको छ ।

सप्तरीका प्रहरी निरीक्षक कृष्ण प्रसाईले बाढीका कारण आउनसक्ने चुनौतीको सामना गर्न आफूहरू तयारी अवस्थामा रहेको बताए ।

कोशी नदी र खाडो नदीमा बाढी आउदा हरेक वर्ष भारदह, पोर्तहा, जमुनिया, तिलाठी कोइलाडी लगायतका गाउहरू डुबानमा पर्ने गर्छन् भने गाउँलेहरुको उठिवास नै हुने गरेको छ ।

विगत वर्ष आएको बाढीले बगाएको तटबन्ध लगायतका निर्माण कार्य अधुरै रहेका कारण र यस वर्ष अधिक वर्षात हुने देखिएपछि सप्तरी र सुनसरीमा विगत भन्दा बढी यस वर्ष बाढी आउने अनुमान स्थानीय प्रशासनको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप