झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम बढ्दो
–प्रेम रौले
मार्तडी । जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै आएका छन् । पुल निर्माण भएको वर्षौँसम्म पनि नयाँ पुल निर्माणका लागि कसैले पनि विकल्प ननिकाल्दा जिल्लाका दर्जन बढी झोलुङ्गे पुलबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीयवासी बाध्य भएका छन् ।
लगातारको अविरल वर्षाले त्रिवेणी र बूढीगङ्गा नगरपालिकाको ताप्रीसेरामा रहेको झोलुङ्गे पुल बाढीको जोखिममा रहेको छ । पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको स्थानीयवासी राजेश खत्रीले बताएका छन् । लगातार वर्षा भएपछि पुलमाथि नै पानी आउने गरेको बेला आवतजावत पनि बन्द हुने गरेको छ । स्थानीयवासीलाई बजार जान, दूध, दहीबजार पु¥याउन निकै सास्ती भएको खत्रीको भनाइ छ ।
जिल्लाका अन्य ठाउँका झोलुङ्गे पुल पनि जोखिममा रहेका छन् । बूढीगङ्गा नदीले बाजुराको द्वारी, तिपाडा, रापकअछामको साँफे, बूढाबगरलगायत ठाउका पुलहरु जोखिममा छन् । त्यस्तै कर्णाली नदीको पिलुचौर– जुकोट पुल पनि जोखिममा रहेको स्थानीयवासी बताउँछन् । ‘त्यहाँ पनि पुलमा नै पानी पुग्न लागेको छ, झोलुङ्गे पुल सधैँ वर्षात्को समयमा जोखिम बन्ने गरेको छ’ स्वामीकार्तिक गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीले भने ।
बूढीगङ्गा नदीको द्वारीमा रहेको झोलुङ्गे पुल अहिले खोलाको बगरमा लछारिएको छ । पानी आउने ठाउँमा मात्र थोरै माथि छ । त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताए ।
“पानीको बहाबले पुल जतिखेर पनि बगेर जाने भएकाले हामीले पानी परेको बेला स्थानीयवासीलाई आवतजावत गर्न रोक लगाएका छौँ”, उनले भने । पूर्वी–उत्तरी भेगको कर्णाली नदीमा रहेका आधा दर्जन पुल जोखिममा रहेका छन् । कर्णाली नदीमै रहेका वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु–बाजुरा–हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताएका छन् ।
लगातारको वर्षाले बाढी आएर पुलै छोप्ने गरी कर्णाली नदीमा पानीको बहाव बढेपछि बाजुराका कर्णालीपारिका वाई, साप्पाटा, जुकोटमा आवतजावत प्रभावित भएको स्वामिकार्तिक गाउँपालिका स्थानीय अगुवा भरत रोकायाले बताए । उनले यसमा सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको बताए । वर्षामा अचानक पानीको बहाव बढेपछि जतिबेला पनि कर्णाली नदीले पुलसँगै स्थानीय यात्रुलाई पनि बगाउने सम्भावना रहेको उनको भनाइ थियो ।
त्यस्तै बूढीनन्दा नगरपालिका–२ र ८ वडालाई जोड्ने दैयामा रहेको पुल पनि अत्यधिक जोखिममा छ । “वर्षायाम लागेपछि त हामी त्यसमा आवतजावत पनि गदैनौँ, साहै्र डर लाग्छ”, बुढीनदा–६ दैयाकी मेनका खत्रीले बताइन् । उनले भनिन्, ‘अहिले त नयाँ पुल बनिसकेको छ । तर हामीले धेरै वर्ष त्यही जीर्ण अवस्थामा रहेको पुलमा नै जोखिमपूर्ण यात्रा गर्दै आएका छौँ ।’ कोल्टी–कोटिला जोड्ने बड्डीगाड खोलामा रहेको पुल पनि जोखिममा परेको छ । पुल जोखिममा भएपछि यहाँका स्थानीय किसान, व्यापारी, विद्यार्थीलगायतलाई आवतजावत गर्न समस्या हुने गरेको छ ।
कोल्टी बजारमा मुख्य गरी दही, दूध, दाउरा कोटीलाबाट नै आउने गर्छ । वर्षाको समयमा खोलाको डरले किसान नआउने भएकाले बजार सुक्खा भएको होटल व्यवसायी दुर्गा जोशीले बताइन् । वर्षायाममा नदीमा पानी बढ्न थालेपछि बाजुराका अन्य दर्जनौँ पुलसमेत बाढीको जोखिममा छन् ।
अछाम–बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बूढीगङ्गा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, सदरमुकाम नजिकै रहेको बाहुलीखोला पुल, दहकोट, मौरेलगायतका नदीमा रहेका झोलुङ्गे पुल जोखिममा छन् । पुल जोखिममा भएपछि ज्यान जोखिममा राखेर पुलमा आवतजावत गर्नुपरेको स्थानीयवासीको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै