शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीमा कोरोना बढे पनि रोकिएन सफाइ अभियान

शनिबार, २७ असार २०७७, १८ : ०५
शनिबार, २७ असार २०७७

राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मतीलगायत उपत्यकाका सफाइ अभियानले भने निरन्तरता पाएको छ । वाग्मती सफाइ महाअभियानको ३७४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । 

पशुपति क्षेत्रको सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ भएको थियो । विगत हप्ताभन्दा पशुपति क्षेत्रमा फोहर कम भेटिएको उनले जानकारी दिइन् । असार १ गतेपछि पशुपति क्षेत्रमा सफाइको काम हुन थालेको जनाइएको छ । 

यसैगरी शङ्खमूल क्षेत्रको सफाइ अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा भएको थियो । सफाइका क्रममा सडक किनारका फोहर निकाल्नाका साथै फोहरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गरी व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए। 

सफाइमा अभियानकर्मीका साथै हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सक्रियता थियो । अभियानकर्मी नारायणकुमार श्रेष्ठको जन्मोत्सवका अवसरमा वाग्मती किनारा र हनुमान वाटिका क्षेत्रमा वृक्षरोपण समेत गरिएको थियो । सफाइमा प्रिया लामिछाने, रामप्रसाद पन्थीलगायत अभियानकर्मी पनि सक्रिय भएको जनाइएको छ ।

यसैगरी गुह्येश्वरी माथिको वाग्मती, चक्रपथको उत्तरी खण्ड, गोदावरी खोला, रुद्रमती, विष्णुमती, चक्रपथको पश्चिमी खण्डलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी सफाइ गरिएको छ । सबै सफाइ अभियानमा घर नजिक भएका अभियानकर्मी मात्र सहभागी हुनुभएको जनाइएको छ । राजधानीमा ढलमा पनि कोरोना भेटिएको भन्ने हल्लाका कारण पनि आजको सफाइ बढी सजगता अपनाइएको हो ।

सफाइ स्थलभन्दा टाढाका अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा चेतनामूलक अभियानसहित सफाइ अभियानलाई निरन्तरता दिएका छन् । 
विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएपछि उपत्यकामा यसका विभिन्न खण्डसहित सहायक नदी, चक्रपथका उत्तर र पश्चिम खण्डलगायत स्थानमा सफाइ अभियान सुरु भएको हो । 

यसैगरी उपत्यकाबाहिर पनि प्रमुख सहर, मुख्य नदीनालामा गरी १०६ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको जनाइएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएदेखि चाड पर्व, वर्षा, गर्मी, जाडो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका बेलासमेत सफाइ अभियान रोकिएको छैन । २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी जारी भएपछि भने चैत १५ गते शनिबार नदीमा नगई टोल सफाइ गरेरै भए पनि अभियानलाई निरन्तरता दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप