बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको जनसम्पर्क समिति अमेरिकामा नेतृत्वको विवाद : केसीलाई बनाइयो अध्यक्ष

मङ्गलबार, ३० असार २०७७, ११ : २९
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिकाको नयाँ नेतृत्व चयनको विषय विवादमा आएको छ । 

नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित भएपछि समितिका अध्यक्ष आनन्द बिष्टमाथि अध्यक्ष पद छोड्न दबाब थियो । 

विष्ट पार्टीको आमन्त्रित केन्द्रिय सदस्य पनि रहेको र ६ महिनाभित्र अधिवेशन गराउन असफल भएपछि समितिले निर्वाचित सभापति बिष्टलाई पदमुक्त गरेको बुझिएको छ । 

जनसम्पर्क समिति अमेरिकामा नेपाली काँग्रेससँग सम्बन्धित जनसम्पर्क समितिका पूर्वसंयोजक बिष्णु सुवेदीको नेतृत्वमा बसेको सक्रिय सदस्यहरूको बैठकले विष्टलाई पदमुक्त गर्दै उपाध्यक्ष धनन्जय नरसिंह केसीलाई सभापति बनाएको छ । 

तर, आइतबार अध्यक्ष बिष्ट र महासचिव मुनिन्द्र नेम्वाङले उक्त निर्णयको खण्डन गरेका छन् । 

‘नेपाली काँग्रेसले अर्को निर्णय नगरी विगतको निर्णयको आधारमा नै समितिको कार्यकाल सकियो भनेर संगठनको मूल्य, मान्यता र पद्धति विपरित सार्वजनिक बहस गर्नु गैरजिम्मेवार कार्य हो भन्ने समितिको ठहर छ । समितिको कार्यकालका सम्बन्धमा सम्पूर्ण निर्णय लिने अधिकार नेपाली काँग्रेस केन्द्रीय समिति समक्षसँग मात्र रहेको छ,’ विष्टद्वारा विज्ञप्तीमा भनिएको छ ।

सांगठनिक हित, एकता, संवाद र सहकार्यमा हातेमालो गर्दै संस्थागत प्रक्रियामा प्रतिवद्ध रहन सबैलाई उनको आग्रह छ ।

गलत र आधारहीन हल्लाका पछि नलाग्न आग्रह गरिएको कुरा विज्ञप्तिमा उल्लेख छ । 

तर केसी पक्षले भने बिष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्य भइसकेपछि अध्यक्ष खाली भएकाले निर्णय लिएको जनाएको छ ।  

यसअघि अधिवेशन तयारीका लागि केसी नेतृत्वमा ईश्वर सापकोटा, बिष्णु सुवेदी, प्रमोद सिटौला, कृष्ण लामिछाने, भक्त थापा र प्रतिक पाण्डे सदस्य रहने गरी समिति गठन गरेको थियो । 

सो समितिले सबैलाई समेटेर भेला बोलाउने जिम्मा पनि दिइएको थियो । सोही समितिले आइतबार गरेको जुम बैठकमार्फत केसीको नेतृत्वमा नयाँ कार्यसमिति बनाएको हो ।

समितिको वरिष्ठ उपसभापतिहरुमा डा. हेम चटौत, ईश्वर सापकोटा, सागर कँडेल, अनन्तराज सुवेदी र प्रतिक पाण्डेलाई चयन गरेको छ भने महासचिवमा सुभाष घिमिरे, सचिवमा मुक्ति पन्त र खड्ग उप्रेती तथा कोषाध्यक्षमा क्रान्ति अर्याल भण्डारीलाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा प्रमोद सिटौला, जगन्नाथ गौतम, राम मिश्र, नेत्र केसी, प्रभात सापकोटा, लक्ष्मी त्रिखत्री परियार, भेषबहादुर कँडेल, डा. अम्बरबाबु भण्डारी इन्द्र सिटौला, हरिराज खनाल, विकास थापा, निर्मल थापा, (सुरेश हमाल (बेग), श्रीराम थापा, अनुप अधिकारी, सुमन आचार्य, दीपकराज पन्त, रामकृष्ण भट्ट, राज ढुंगाना, अर्जुन बम र शशीचन्द्र अधिकारीलाई चयन गरिएको छ । बाँकी ४ जना भने पछि मनोनयन गरिने भएको छ ।

विष्णु सुवेदी, रविना थापा, कृष्ण लामिछाने, भक्त थापा, प्रियरन्जन दाहाल र अमृत सापकोटालाई सल्लाहकार चयन गरिएको छ ।

सन् २००७ मा अमेरिकामा नेपाली काँग्रेसको निकट नेपाली जनसम्पर्क समिति अमेरिका दर्ता भएको थियो । तर, बिष्ट सन् २००९ मा न्युयोर्कमा आफ्नै नाममा सोही नामको अर्काे संस्था दर्ता गरेका थिए ।

पछि नेपाली काँग्रेसले हस्तक्षेप गरेर सन् २०१४ मा दुबै संस्थालाई एक बनाउन एकता महाधिवेशन गराएको थियो । सो महाधिवेशनमा बिष्ट सभापतिमा निर्वाचित भएका थिए ।

२–२ वर्षमा अधिवेशन गर्ने विधानमा उल्लेख भए पनि बिष्टले अधिवेशन अहिलेसम्म महाधिवेशन गराउन असफल भए । त्यसपछि यतिबेला नयाँ जनसम्पर्क समिति गठन गरिएको छ । यो विषयमा काँग्रेस पार्टी कार्यालय भने बेखबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप