शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल प्रहरीका डीएसपी रमेश सिंहविरुद्ध विशेष अदालतमा उजुरी, परे निलम्बनमा

मङ्गलबार, ३० असार २०७७, १८ : ४५
मङ्गलबार, ३० असार २०७७

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । मंगलबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा बहालवाला डीएसपी सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।

डीएसपी सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाणपत्रको जन्म मिति सच्याई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएको भन्ने उजुरी परेको थियो ।  नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रहरूमा समेत उल्लिखित जन्म मिति सच्याई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको देखिएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

‘सोही उजुरीमाथि अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि सिंहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो,’ कोइरालाले भने, ‘सिंहलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको छ ।’अख्तियारले उनीमाथि ६ महिनादेखि एक वर्षसम्म कैद र दश हजारदेखि बीस हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरेको छ ।

सिंह हाल नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप