बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा २२ करोड बढी लागतमा अन्तर्राष्ट्रिय मापदण्डको बधशाला बन्ने

बुधबार, ३१ असार २०७७, १४ : २९
बुधबार, ३१ असार २०७७

बुटवल ।  रुपन्देहीको बुटवलमा पशु बधशाला निर्माण गर्ने झण्डै दशकदेखिको प्रयास साकार हुने भएको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुधबार बुटवल उपमहानगरपालिका–१० रामनगरमा अन्तर्राष्ट्रिय मापदण्डको बधशाला शिलान्यास गरेका छन् । यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहरपछि उपमहानगरपालिकाले उच्चस्तरीय प्राविधिकहरुबाट अध्ययन गराएको थियो ।

सोही अध्ययनका आधारमा बधशालाका नयाँ गुरुयोजना बनाएर काम सुरु गरिएको हो । बन्न लागेको बधशाला २२ करोड १३ लाख ३५ हजार ९९६ को लागतमा  ठेक्का सम्झौता भएको थियो । सम्झौतामा काम थालेको १६ महिनामा निर्माण सम्पन्न गर्ने उल्लेख छ । 

मुख्यमन्त्री शंकर पोखरेलले बधशालाको शिलन्यास गर्दे महामारीकै बीचमा नयाँ कामको सुरुवात भएको बताए । 

उनले बुटवल उपमहानगरले किसान, व्यवसायी, सहकारी समेतको साझेदारीमा काम सुरु भएकाले बधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको जानकारी दिए । 

त्यसक्रममा कृषिको माध्यमबाट अर्थतन्त्र उकास्न सकिने आधार रहेको भन्दै पशुपालन र मासुजन्य व्यवसाय महत्वपूर्ण उद्योग बनिसकेकाले बधशालाले व्यवस्थित बजारिकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए । 

प्रमुख सुवेदीले सबैलाई स्वच्छ तथा गुणस्तरीय मासु उत्पादन तथा उपभोग गर्न प्रेरित गर्नपर्ने भन्दै बधशाला निर्माणमा बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए । 

निर्माण सुरु भएको बधशालामा पहिलो चरणमा खसी र बोकामात्रै बध गर्न मिल्ने बनाइने छ । प्रदेश सरकार, बुटवलका मासु व्यवसायी, पशुपालक किसान र सहकारीको सहकार्यमा निर्माण हुन लागेको बधशालामा प्राविधिक तहको साझेदारी अन्तर्राष्ट्रिय संस्था हेफर इन्टरनेशनलले गरिरहेको जनाएको  छ। 
बर्षौ पुरानो योजना 
बुटवलमा बधशाला निर्माणको पहल झण्डै २० वर्षअघि देखि भएको थियो । लामो समयदेखि प्रतिक्षा गरिएको बुटवलमा बधशाला बुधबार शिलन्यास भएसँगै निर्माणको चरणमा प्रवेश गरेको हो ।
शिलन्यास समारोमा मुख्यमन्त्री, मन्त्रीहरु, उपमहानगरका प्रमुख, उपप्रमुखसहितको सामुन्ने निर्माण कम्पनी शिवशक्ति कन्ट्रक्सन प्रालिका प्रभाकर लामिछानेले तोकेको अवधिभन्दा अगावै निर्माण सक्नेगरि काम गरिने प्रतिवद्धता जनाए ।
बधशालाका लागि पहिलो चरणमा प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु. सात करोड, बुटवल उपमहानगरपालिकाको रु. तीन करोड गरी आब २०७६÷७७ मा कुल १० करोड बजेट बिनियोजन भइसकेको छ । क्रमागत रुपमा बहुवर्र्षीय योजनाको रुपमा परियोजना सञ्चालन गरिने बुटवलका प्रमुख सुवेदीको भनाइ छ । 

परियोजनाका लागि तय गरिएको बजेटबाट साइट निर्माणमा एक करोड २२ लाख, भवन निर्माण तथा सिभिलवर्कमा छ करोड ७० लाख, मुख्य प्लान्ट तथा उपकरणमा छ करोड ६२ लाख, अन्य उपकरण तथा औजार तीन करोड ५७ लाख, संचालन पूर्व खर्च तथा कन्टिजेन्सी दुई करोड ९० लाख खर्च हुने प्रस्तावित बुटवल मासु प्रशोधन तथा उत्पादन केन्द्रको लागत विवरण रहेको उपमहानगरका वरिष्ठ इन्जिनियर एवम् उक्त परियोजनाका साइट इन्चार्ज इन्जिनियर गौतम रौनियारले बताए । 
साझेदारीको मोडल
एउटा टहरा निर्माण भएर त्यत्तिकै अलपत्र अवस्थामा रहेको बधशालालाई बुटवल उपमहानगरपालिकाको प्रस्तावमा सार्वजनिक–निजी साझेदारीको मोडलबाट सञ्चालन गर्न लागिएको हो ।

 बधशाला निर्माण सम्झौता अनुसार बधशाला निर्माण पश्चात उत्पादक किसानहरु र मासु व्यवसायीहरुले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले सञ्चालन गर्नेछ । उपमहानगरको आगामी विधान अधिवेशनमा निर्देशिका र ऐन निर्माण गर्नेगरि तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाई छ  ।  

बुटवल बधशालामा करिब १२ हजार खसी बोका उत्पादक महिला किसानहरु र ३०० जना मासु व्यवसायीहरु सहभागी हुने हेफरका कार्यकारी निर्देशक डा. तिर्थराज रेग्मीले बताए । 

उनले साना किसानलाई सशक्तिकरण गराउँदै आएको बताउँदै बुटवलसहति कोहलपुर, बिराटनगर, भरतपुर र पोखरामा बधशाला निर्माणका लागि हेफरले सहकार्य गरिरहेको बताए ।

यहाँ दैनिक एक हजार खशी बोका बध गर्न मिल्नेगरि बधशाला बन्ने छ । यहाँ बाख्राको चरण, होल्डिङ, पशु स्वास्थ्य चेकजाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरुका लागि प्राथिमक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उधान र बगैंचा निर्माण गरिने छ । यहाँबाट निस्किने फोहोरलाई प्रशोधन गरेर बायोग्यास निकालिने छ । भने पानीलाई पुनप्रयोग गर्न मिल्नेगरि प्रशोधन गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप