शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महिलाबाट पीडित पुरुषहरुचाहि कहाँ जाने न्याय खोज्न ?

बुधबार, ३१ असार २०७७, १४ : ५८
बुधबार, ३१ असार २०७७

काठमाडौं । महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् । विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भएपनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन् । महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरेपनि उनीहरुले न्याय नपाएको बताए ।

राष्ट्रिय महिला आयोगको प्रतिवेदन माथिको छलफलमा सांसद गंगा चौधरीले पीडित पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गरिन् । उनले भनिन्, ‘महिला मात्रै पीडित छैनन् । पुरुषहरु कहाँ जाने न्याय खोज्न ? महिलाले पनि पुरुषमाथि अन्याय गरेको छ । श्रीमान विदेशमा काम गर्ने यहाँ श्रीमती अर्कैसँग घुम्ने, भए भरको सम्पत्ति कुम्ल्याउने । विदेशबाट फर्किदा न आफ्नो परिवार न सम्पत्ति, न श्रीमती ।’

सांसद हिरा गुरुङले आयोगले सहर केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्ने बताइन् । महिला मात्रै हिंसामा पर्ने गरेको नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले उनले दुबै पक्षलाई न्याय दिनुपर्ने बताइन् ।

आयोगका सचिव शान्ता अधिकारीले पुरुष हिंसा हुने गरेको भएपनि घटनाहरु बाहिर आउन नसकेको बताइन् । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उनको भनाई छ । उनले भनिन्, ‘विदेश गएका पुरुषका श्रीमती अर्कैसँग गएको सन्दर्भमा त्यहाँ अर्को पुरुषले शोषण गरिरहेको कुनै न कुनै रुपमा देखिन्छ ।’

२०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना घटेका छन् । आयोगको प्रतिवेदनअनुसार सबैभन्दा बढी महिलाहरु मानसिक हिंसाका ५ सय ८९ घटना घटेका छन् । शारीरिक हिंसाका ४ सय ५८, आर्थिक हिंसाका २ सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना घटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप