केन्द्रीय संस्करण

भरतपुरमा रहेको सेनाको ब्यारेक सार्ने सहमति

person explore access_timeअसार ३१, २०७७ chat_bubble_outline0

भरतपुर । भरतपुर विमानस्थल विस्तार हुने भएको छ । भरतपुर विमानस्थल विस्तारको योजना संघीय सरकारको नीति तथा कार्यक्रममा परेपछि भरतपुर महानगर प्रमुख रेनु दाहालले सरोकारवालाहरुको बैठक डाकेर यसबारे थप निर्णय गरेकी हुन् । दाहालले जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, प्रमुख जिल्ला अधिकारी, जिल्लाका सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, विमानस्थल प्रमुखसहितलाई बोलाएर छलफल गरेकी छिन् । छलफलका क्रममा भरतपुर १० मा रहेको नेपाली सेनाको ब्यारेक (कालीबहादुर गण)लाई भरतपुर १ को आँपटारीमा रहेको दियालो बंगलामा सार्ने सहमति भएको दाहालले जानकारी दिइन् ।

“नेपाली सेनाले विकास निर्माणमा सहयोग गर्दै दियालो बंगलामा जान सहमत भएको छ” दाहालले भनिन्, “सेनाको घोडा फर्म (प्रजनन केन्द्र) समेत भरतपुर ११ बसेनीमा रहेको फायरिङ रेन्जमा सार्ने सहमति भएको छ ।”  छलफलका क्रममा बाग्मती प्रदेशसभा सदस्यहरु घनश्याम दाहाल, विजय सुवेदी र मिलनबाबु श्रेष्ठले विमानस्थल विस्तार गर्नु आजको आवश्यकता भएकाले सेनाले विकास निर्माणमा देखाएको कामको प्रसंशा गरेका थिए । विमानस्थल विस्तारका लागि सेनाको ब्यारेकको आवश्यक जग्गा लिने र बाँकी रहेको ठाउँमा सेनाको टुकुडी राख्दा विमानस्थलको सुरक्षा समेत मजबुत हुने उनीहरुको भनाइ छ । 

छलफलका क्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सेनाको ब्यारेक सरेर विमानस्थल विस्तार भएपछि बाँकी रहेको स्थानमा सेनाको एयर बेस र जलिस्टिक राख्न दिनुपर्ने बताए । सक्दो छिटो सेनाको ब्यारेक स्थानान्तरण गरेर विमानस्थल विस्तारको काममा अगाडि बढ्नुपर्ने भट्टराईको भनाई छ । 

भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले विमानस्थल विस्तारका लागि गुरुयोजना निर्माणको काम शुरु भएको बताए । हाल भरतपुर विमानस्थलको धावन मार्ग १२ सय मिटरको भएपनि ९ सय मिटर धावन मार्ग मात्रै प्रयोगमा आउन सकेको छ । धावन मार्ग विस्तार गरेर १५ सय मिटर पु¥याइएपछि भरतपुर विमानस्थलमा ८० सिट क्षमता भएका जहाज समेत अवतरण गर्न सकिने गौतमले बताए । अहिले विमानस्थलमा ४७ सिट क्षमताको  जहाज मात्रै अवतरण हुने गरेको छ । 

“भरतपुर विमानस्थल अहिले टु बी क्याटोगोरीमा पर्दछ” गौतमले भने, “यसको अपग्रेडपछि स्तर वृद्धि भएर थ्री सी हुनेछ ।” विमानस्थल विस्तारसँगै पश्चिम चितवन जाने चौबिसकोठी त्रिचोक सडकको भने विकल्प खोजिने भएको छ । पश्चिम चितवन जाने सडकका लागि रिजाल चोकको सडक, हाकिम चोकको सडक, लायन्सचोक क्यान्सर सडक प्रयोग गर्न सकिने स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.