बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अयोध्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि काँग्रेसको प्रश्न : प्रधानमन्त्री पद व्यक्तिको जमिनदारी कि देशको जिम्मेवारी ?

बुधबार, ३१ असार २०७७, १५ : ४९
बुधबार, ३१ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाएको प्रतिक्रिया दिएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत नभए ओलीले शासन गर्ने नैतिक र राजनैतिक आधार गुमाए थप पुष्टि भएको बताए । 

सोमबार प्रधानमन्त्री ओलीलेअयोध्या नेपालमा पर्छ भन्ने विवादास्पद अभिव्यक्तिपछि काँग्रेसले यस्तो प्रतिक्रिया दिएको हो । यस्तै काँग्रेसले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति गम्भीर विमति प्रकट गर्दै यसबारे सरकार र नेकपाको संस्थागत धारणा सार्वजनिक गर्न माग गरेको छ ।

पछिल्लो समय देशमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्री ओलीका अभिव्यक्तिहरुले गम्भीर प्रश्न सृजना गरेका शर्माले बताए । 'प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु हाम्रो कर्तब्य भएको छ । देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरुले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद ब्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ?,' शर्माको प्रश्न छ ।

शर्माले प्रधानमन्त्रीको सोच, शैली, अभिव्यक्ति र ब्यवहार सम्पूर्ण रुपले बदल्ने या प्रधानमन्त्रीनै बदल्ने नेकपाको बिषय भएको पनि बताए । उनले भने, 'देशको प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकारकै संस्थागत अभिव्यक्ति हो कि होइन ? अनि उहाँको दल नेकपा पार्टीको विश्वास बमोजिमको हो होइन ? संस्थागत प्रस्टीकरण अनिवार्यसँग आवश्यक भएको छ ।'

आजको परिस्थितिमा प्रधानमन्त्रीको दायित्व एकातर्फ, ब्यवहार अर्कातर्फ हुनु देशका लागि दुर्भाग्य भएको उनको भनाइ छ । 'बाढी–पहिरोमा कयौंको मृत्युु भएको बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ र के हुनुपर्दछ ? केवल समवेदनाको एक वक्तव्य ?', शर्माको प्रश्न गर्दै भने, कोरोना महामारीका बेला देशको प्रधानमन्त्रीको दायित्व के हुन्छ कयौंको मृत्यु र हजारौं संक्रमित भएको विवरण बहिखातामा सारेर बस्ने तर समय सदुपयोग गरेर युद्धस्तरमा तयारी नगर्ने ?'

सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि प्रधानमन्त्रीको दायित्व भुलेर नक्सालाई सत्ता राजनीतिको ब्यक्तिगत हतियारका रूपमा उपयोग गरेको काँग्रेसको आरोप छ ।

'नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कुटनैतिक पहलकदमी भन्दा अयोध्याबारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ बिषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर हुनुहुन्न् भन्ने पुष्टि त भएको छ नै अपरिपक्व टिप्पणी मार्फत उहाँले संवेदनशील बिषयमा असंवेदनशील ब्यवहार प्रस्तुत गर्नु भएको छ,' विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने शर्माको भनाइ छ । संस्थागत जिम्मेवारीभन्दा अलग निर्दलीय आधिपत्य प्रधानमन्त्री पद संविधानले परिकल्पना नगरेको काँग्रेसको भनाइ छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप