शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लामो दुरीका यातायात सञ्चालन गर्न सकिने प्रस्ताव

बुधबार, ३१ असार २०७७, १७ : ५१
बुधबार, ३१ असार २०७७

काठमाडौं । यातायात व्यवसायीहरुले वातावरण सहज बने लामो दुरीको यातायात पनि सञ्चालन गर्न सकिने प्रस्ताव गरेका छन् । यातायात व्यवस्था विभागमा सरोकारवाला पक्षसँगको छलफलमा व्यवसायीहरुले सहज वातावरण भए लामो दुरीको यातायात सेवा सञ्चालन गर्न सकिने प्रस्ताव गरेका हुन् ।

सरकारले आफुहरुसँग परामर्श नगरी यातायात सेवा सञ्चालन गर्ने निर्णय गरेपछि रुष्ट बनेको व्यवसायीहरुले विभागमा भएको सर्वपक्षीय छलफलमा यस्तो प्रस्ताव गरेका हुन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले वातावरण सहज बने लामो दुरीको यातायात सञ्चालन गर्ने प्रस्ताव गरिएको बताए ।

आफ्ना मागहरुप्रति सरकार सकारात्मक बनि स्वस्थ्य यात्रा वातावरण बने लामो दुरीको सवारी सञ्चालन गर्न सकिने प्रस्ताव छलफलको क्रममा रहेको उनले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भीम ढकालले सवारी सञ्चालनका लागि जारी भएको प्रोटोकलका विषयमा छलफल भएको बताए ।

कोरोनाको संक्रमणबाट यात्रुहरुले जोगाएर आवागमनलाई सहज बनाउने सम्बन्धमा सर्वपक्षीय बैठकले निर्णय गरेको उनले बताए । स्वास्थ्य सुरक्षाका सबै पक्षलाई ध्यान दिँदै कुन निकायले के गर्ने भन्ने जिम्मेवारी समेत तोकिएको उनले बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले सवारी सञ्चालन गर्दा कोरोनाले पार्न सक्ने प्रभाव नियन्त्रण र न्यूनीकरणका विषयमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए । सरोकारवालसँगको वृहत छलफलपछि सवारी सञ्चालनका लागि ‘एक्सन प्लान’ बनेको उनले बताए । ‘एक्सन प्लान’ मा कुन जिम्मेवारी कुन निकायले लिने भन्ने सन्दर्भमा जिम्मेवारी समेत तोकिएको र त्यो जिम्मेवारीको डिटेल वर्क आउट गर्दै अर्को बैठकमा निष्कर्ष निस्किने बताए ।

विभागमा भएको छलफलमा यातायात कार्यालयका प्रतिनिधि, यातायात व्यवसायी, उपत्यकाका सबै स्थानीय तहका प्रतिनिधि, ट्रफिक प्रहरी प्रमुख, मजदुर ट्रेड युनियनका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि समेत छलफलमा सहभागिता रहेका थिए । सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेपनि पूर्ण रुपमा अझै यातायात सञ्चालन हुन सकेका छैनन् । व्यवसायीहरुले विभिन्न माग राख्दै यथास्थितिमा सञ्चालन गर्न नसक्ने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप