बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सडकमा यात्रु नदेखेपछि बस व्यवसायी पन्छिए, ग्यारेज सुनसान, बस मर्मत गर्न लगेनन् (भिडियो रिपोर्ट)

बुधबार, ३१ असार २०७७, १८ : २२
बुधबार, ३१ असार २०७७

काठमाडौं । बुधबार दिउँसो काठमाडौंको जडिबुटीमा रहेको वसन्त नकर्मीको वर्कसप सुनसान थियो । उनी र उनका सहयोगी कुराकानी गरेर समय कटाइरहेका थिए । अघिपछिको समयमा काठमाडौं उपत्यकामा चल्ने यात्रुबाहक बस मर्मतका लागि उनीहरुलाई भ्याई नभ्याई हुन्थ्यो । सरकारले लकडाउन खुकुलो पार्दै बस सञ्चालन गर्न भनेपनि विभिन्न माग तेस्र्याउँदै बस ब्यवसायीले असहयोग गरेपछि पर्याप्त मात्रामा यात्रुबाहक बस सञ्चालन हुन सकेको छैन । 
लामो समय पार्किङ गरेर राखिएका बस सामान्य मर्मतपछि सडकमा लैजानुपर्नेमा व्यवसायीहरुले बस मर्मत थालेका छैनन् ।   यता काठमाडौंको पेप्सिकोलामा रहेको मोटर ग्यारेजका श्याम सापकोटा पनि अहिले फुर्सदमा छन् । सँगै काम गर्ने अन्य दुई साथीहरु घर गएकाले उनीहरु फर्केर आएका छैनन् ।

गाडी मर्मत गर्ने प्राविधिक काम ठप्प भएपछि घर गएको उनले बताए । काम सुरु भएपछि मात्रै उनीहरु काठमाडौं आउने सापकोटाले बताए । अघिपछि दैनिक दशदेखि बाह्रवटासम्म बस मर्मत गर्न आउनेमा अहिले सुनसान रहेको उनले बताए । 

सरकारले लकडाउन खुकुलो पार्दै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेपनि यातायात व्यवसायीहरुले सडकमा बस गुडाएका छैनन् । सिमित संख्यामा मात्र बहस गुडिरहेको देख्न सकिन्छ ।  राजधानी काठमाडौंमा चल्ने अधिकांश बस ग्यारेजमा र पार्किङ स्थलमा थन्क्याएर राखिएको छ । चार महिना गुड्न नपाएका बसहरु मर्मतसम्भार गरेर मात्र सडकमा ल्याउनुपर्ने हुन्छ ।

सरकारले सार्वजनिक बस चलाउने निर्णय लिएपछि बस मर्मतका लागि आउने उनीहरूको अपेक्षा थियो । तर अहिलेसम्म मर्मतका लागि भनेर बस नआएको उनीहरुले बताए ।  काठमाडौं उपत्यकामा अहिले मयुर यातायात, संयुक्त यातायात, साझा यातायात, सफा टेम्पो लगायत सीमित संख्याका सवारी साधन सञ्चालनमा आएका छन् । 

लामो समय पार्किङपछि मर्मत गर्नुपर्ने, १५ हजारदेखि १ लाख सम्म खर्च लाग्ने  
झन्डै ४ महिना लकडाउनका कारण सञ्चालन हुन नसकेका बसहरु मर्मतपछि मात्रै सञ्चालन गर्नुपर्ने प्राविधिकहरु बताउँछन् । मर्मतका लागि १५ हजारदेखि १ लाखसम्म खर्च हुने उनीहरु बताउँछन् ।  इन्जिन स्टार्ट नगरी महिनौ पार्किङमा राखिएका गाडीमा मोबिल फेर्नुपर्ने, ब्याट्रीको पनि समस्या आउने, चार्जिङ डाइनामो मर्मत गर्नुपर्ने नकर्मीले बताए । 

यस्तै कतिपय गाडीको टायर कुहिने भएकोले टायर फेर्नुपर्ने हुन सक्ने उनले बताए । यात्रुबाहक बसको मोबिल जम्ने भएकोले अनिवार्य मोबिल फेर्नुपर्ने र त्यसका लागि १५ हजार लाग्ने उनले बताए । अन्य समस्याहरु पनि आउने भएकोले त्यहीअनुसार मर्मत खर्च लाग्ने हुन्छ । 

काठमाडौं सिन्धुपाल्चोक बस चलाउने राजेन्द्र गिरी सरकारले बस मर्मत खर्च दिनुपर्ने बताउँछन् । लामो समय पार्किङमा राखेका बस मर्मत गर्न डेढ लाखसम्म खर्च हुने भएकोले सरकारले ऋणको रुपमा भएपनि दिएर सहयोग गर्नुपर्ने उल्लेख गरे । उनले भने– ‘सरकारले यति मात्रै सहयोग ग¥यो भने पनि सडकमा बस लैजान सजिलो हुने थियो ।’

यात्रु छैनन्, बस चलाएर मात्र के गर्ने ? : चालक विष्णु कार्की 
भक्तपुर काठमाडौं रुटमा बस चलाउने चालक विष्णु कार्की लकडाउनपछि बेरोजगार बनेका छन् । अचेल घरभाडा तिर्न समेत समस्या हुन लागेको उनले बताए ।  अहिले सडकमा यात्रीको संख्या कम भएका कारण पनि बस चलाउन समस्या रहेको उनले बताए । विद्यालय, क्याम्पस सबै बन्द भएका कारण यात्री पाउन कठिन रहेको उनले सुनाए । 

उनले भने–‘बस कसरी चलाउनु ? यात्रीहरु नै छैनन् ।  स्कुल कलेज सबै बन्द छ । धेरैजसो यात्रीहरु विद्यार्र्थी हुने गर्थे । स्कूल कलेज बन्द भएपछि यात्रीको संख्या पनि कम भएको छ । बाटोमा मान्छे हुँदैनन् अहिले बस चलाउन सम्भव छैन ।’

उनले अहिलेको अवस्थामा लामो दुरीको सवारी साधन पनि खोल्नुपर्ने बताए । लामो दुरीको सवारी साधन सञ्चालन भएपछि काठमाडौँ बाहिर रहेका यात्रीहरु पनि काठमाडौ आउने र काठमाडौंमा आवत–जावत बढेपछि मात्रै बस सञ्चालन गर्न सजिलो हुने उनले बताए । 

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप