शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ

बिहीबार, ०१ साउन २०७७, १८ : ५७
बिहीबार, ०१ साउन २०७७

काभ्रे । नक्कली बिरामी बनाएर यात्रु बोक्ने एम्बुलेन्स चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बा५च ८६३८ नम्बरको एम्बुलेन्सका चालक सर्लाहीको चन्द्र नगर गाउँपालिका–३ बबरगञ्जका ३५ वर्षका जुगतलाल महतो रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार नक्कली बिरामी बनाएर सामाजिक विकास तथा वातावरण संरक्षण सङ्घ बबरगञ्ज सर्लाहीद्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालक महतोलाई आज बिहान अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पश्चिमी नाका साँगाबाट प्रक्राउ गरेको छ । 

“काठमाडौँ उपत्यका प्रवेशका क्रममा जाँच गर्दा नक्कली बिरामी बनाएर यात्रु बोकेको पाएपछि एम्बुलेन्सका चालक महतोलाई पक्राउ गरिएको छ”, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले भने, “एम्बुलेन्समा चालकसमेत आठ जना सवार थिए । सबैलाई सोधपुछ गर्दा कोही पनि बिरामी नभएको पाइएपछि एम्बुलेन्स चालकलाई पक्रिएको हो ।” चालक बाहेकका यात्रु र एम्बुलेन्सलाई सर्लाहीतर्फनै फर्काएइको उनले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा महतोले सर्लाहीबाट ती यात्रुलाई काठमाडौँसम्म लगिदिने सर्तमा रु १४ हजार भाडा लिएको खुलेको प्रहरीले जनाएको छ । महतोलाई मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद-५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा नैतिकताविरुद्धको कसुरअन्तर्गत दफा ११८ अभद्र व्यवहार गर्न नहुने कसुर शीर्षकमा मुद्दा दर्ता भई आजै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप भई हिरासतमा राखेर थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप