शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मौद्रिक नीतिका यी व्यवस्थाले उचाल्यो सेयर बजार

आइतबार, ०४ साउन २०७७, १५ : ५७
आइतबार, ०४ साउन २०७७

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको दुई दिनपछि पहिलो पटक खुलेको सेयर बजारमा निकै उत्साह देखियो । लागानीकर्ताहरुले खरिद चाप बढाउँदा बजार परिसूचक १ घण्टा पनि कारोबार हुन नपाउँदै सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भयो । करिब ८४ अंकले बजार बढ्दा नेप्से परिसूचक १४८० बिन्दुको नजिक पुगेको छ । गत फागुन २० गतेभन्दा पछिको उच्च विन्दु हो । 


खासगरी सेयर  बजारका लगानीकर्ता यसरी उत्साहित देखिनुमा सेयर  बजार लगायत समग्र अर्थतन्त्रमा मौद्रिक नीतिले लिएको योगदानलाई कारण मानिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई पुँजीबजार आफैंले पनि स्वागत गरेको छ भने अटो क्षेत्र, हाउजिङ क्षेत्र र लघुवित्त वित्तीय संस्थाबाहेक अरु सबैले यो मौद्रिक नीतिको प्रशंसा गरेका छन् । लघुवित्त सेयर बजारसँग प्रत्यक्ष रुपमा जोडिने क्षेत्र भएपनि यो क्षेत्रले समेत शुक्रबार राम्रै पर्फमेन्स देखाएको छ । 


मौद्रिक नीतिले के दियो सेयर  बजारलाई ? 
मौद्रक नीतिले सेयर  बजारलाई दिएको सबैभन्दा ठूलो ‘उपहार’ भनेको मार्जिन कर्जाको सीमा निर्धारण हो । यसअघि बैंक तथा वित्तीय संस्थाले आफ्नो सेयर  मूल्यको ६५ प्रतिशत रकम मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋणस्वरुप प्राप्त गर्थे । यो अहिले बढेर ७० प्रतिशत पुगेको छ । यसले गर्दा लगानीकर्ताहरुलाई थप ५ प्रतिशत ऋण लिने छुट मिलेको छ । अहिले त्यस्तो ऋणबापत करिब ३८ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । प्रवाह भएको उक्त ऋणकै धितोमा करिब १ अर्ब ९० करोड थप ऋण प्रवाह हुनसक्ने अवस्था देखिएको छ । 


राष्ट्र बैंकले सेयर  धितोमा प्रवाह हुने कर्जाको सीमा बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजीमा ४० प्रतिशतसम्मको सीमालाई राष्ट्र बैंकले यथावत नै राखेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको त्यस्तो पुँजी ४ खर्ब ८५ अर्ब रुपैंया छ । यसअनुसार कुल १ खर्ब ९४ अर्ब रुपैंया बराबरको ऋण दिन सकिन्छ । त्यस्तै, हाल ३ प्रतिशतसम्म सेवाशुल्क लिएको गुनासो गरिरहेका बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाहमा ०.७५ प्रतिशत देखि १.२५ प्रतिशतसम्म मात्रै लिन पाउने व्यवस्था कायम गरिएको छ । 

राष्ट्र बैंकले त्यस्तो धितो मूल्यांकनको आधार भने पछिल्लो १८० दिनको औसत मूल्यलाई घटाएर औसत १२० दिनमा झारेको छ । यो व्यवस्थाले सेयर  बजार बढ्दै जाँदा सेयर धितोमा प्रवाह हुनसक्ने कर्जाको आकार बढाउन सहयोग गर्छ । त्यसको विपरित सेयर  बजार घट्दै गयो भने यो आकार छिटो खुम्चिन्छ । बढ्दो बजारमा यसले पनि सकारात्मक ऊर्जा थपेको छ । 


यो वर्ष बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाफाबाट लाभांश वितरण गर्न पाउने भएका छन् । भारतमा लाभांश वितरणमा रोक लगाएको अवस्थामा नेपालमा पनि लाभांश दिन नपाउने व्यवस्था आउने हो कि भन्ने डर लगानीकर्ताहरुलाई थियो । मौद्रिक नीतिले त्यसमा बन्देज नलगाएको अवस्थामा यसले बजारलाई अर्को उत्साह थप्ने काम गर्यो । राष्ट्र बैंकले बैंकहरुलाई नगद लाभांशको लागि भन्दा सेयर  लाभांशको लागि जोड दिनुले पनि लगानीकर्ताहरु थप उत्साहित भएका हुन् । बजारमा नगद लाभांश भन्दा सेयर  लाभांशलाई बढी महत्त्व दिइन्छ । 


बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको साँवा ब्याज तिर्ने अवधि बढीमा १ वर्षलाई सरेको छ । अति प्रभावित क्षेत्रका लागि १ वर्ष, मध्यम प्रभावित क्षेत्रका लागि ९ महिना र कम प्रभावित क्षेत्रका लागि ६ महिनासम्म यस्तो कर्जा भुक्तानी गर्ने समय बढाइएको छ । यो समय बढ्दा ऋणीहरुलाई मात्रै फाइदा हुँदैन, बरु बैंकहरुलाई पनि उत्तिकै फाइदा हुुन्छ । यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गर्न नपर्ने हुँदा बैंकहरुको नाफा पनि यसले बढाउँछ । बैंक तथा वित्तीय संस्थाको अधिकांश हिस्सा रहेको सेयर बजारमा यसले थप उर्जा मिलेको देखिन्छ । 
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कर्जासँग निक्षेप र प्राथमिक पुँजीको अनुपात (सीसीडी रेसियो) लाई ८० बाट ८५ प्रतिशत पुर्याएको छ । यो व्यवस्थाले करिब १६० अर्बको लगानीयोग्य पुँजीको प्रवाह बजारमा गर्न सक्छ । जेठ मसान्तमा अहिले बैंकहरुको सीसीडी अनुपात ७२ प्रतिशत थियो । यो अनुपातका आधारमा मौद्रिक नीतिभन्दा अघिसम्म पनि बैंकसँग ३ खर्ब ऋण प्रवाहको क्षमता थियो । अहिले यो करिब साढे ४ खर्ब नाघेको छ । यसले निष्क्रिय रुपमा रहने तरलतालाई घटाएर बैंकहरुको लागत कम गर्न सहयोग पुर्याउँछ ।


अर्कोतर्फ बैंकहरुले जोखिमबापत राख्नुपर्ने विद्यमान जोखिमको भारलाई घटाइएको छ । सञ्चालन जोखिम, बजार जोखिम र समग्र जोखिमको लागि कायम गर्नुपर्ने पुँजीकोषको अनुपातलाई एक वर्षका लागि २÷२ प्रतिशतले घटाइएको छ । यसले पनि बजारमा प्रशस्त पुँजी परिचालन हुनसक्ने अवस्था देखाएको छ । उता काउन्टरसाइक्लिकल बफरका कारण १३ प्रतिशत पुगेको पुँजीकोष अनुपात सो बफर स्थगित गरेर १०.५ प्रतिशतमै सीमित राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप