शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड-१९ समुदायमा फैलिएको पत्ता लगाउन ‘सेरो सर्वेक्षण’

सोमबार, ०५ साउन २०७७, १५ : २५
सोमबार, ०५ साउन २०७७

काठमाडौं  । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर अध्ययन गर्ने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोभिड–१९ का कारण कति मानिस प्रभावित बनेका छन् भनेर अध्ययन गर्न ‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ गर्न थालेको हो ।  

महाशाखाले विश्वस्वास्थ्य सङ्गठनको सहयोगमा कोभिड–१९ को देशभरि मानिसमा पारेको प्रभावबारे अध्ययन गर्न थालेको हो । महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले कोभिड–१९ ले समुदायमा कुन तहसम्म पुगेको भन्ने थाहा पाउनका लागि ‘सेरो सर्वेक्षण’ गर्न थालिएको बताए ।

यसअघि महाशाखाले काठमाडौँ उपत्यकामा कोभिड– १९ को सङ्क्रमण समुदायसम्म पुगेको छ वा छैन भनेर पाँच हजार जनामा पिसिआर परीक्षण गरेको थियो । ‘सेरो सर्वेक्षण’  रगतबाट गरिने परीक्षण भएकाले सङ्क्रमण देखिएका ठाउँमा गएर महाशाखाले मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । 

पिसिआर परीक्षणले तत्काल सक्रिय भाइरस पत्ता लगाउने गर्दछ भने ‘सेरो सर्वेक्षण’ ले पहिले मानिसमा देखिएका कोभिड– १९ को भाइरस पनि थाहा पाइने हुन्छ । ‘सेरो सर्वेक्षण’ ले कोभिड– १९ को सङ्क्रमण भई थाहै नपाई निको भएका बिरामीमा भाइरस रहेको अवस्था पनि पत्ता लगाउनेछ । ‘तत्काल समुदायमा कोभिड– १९ को सङ्क्रमण कस्तो रहेको छ भनेर पिसिआर परीक्षण गरिन्छ’ उनले भने, ‘महामारीका रुपमा फैलिएको कोभिड– १९ समुदायस्तरमा कत्तिको फैलिएको छ भनेर थाहा पाउन सेरो सर्वेक्षण गर्न थालिएको हो ।’ 

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड– १९ का ९७ प्रतिशत सङ्क्रमित विनालक्षणका देखिएका छन् । 

‘सेरो सर्वेक्षण’ का लागि महाशाखाले सातवटै प्रदेशका सङ्क्रमण बढी देखिएका जिल्लामा गएर मानिसको रगतको नमूना सङ्कलन गर्नेछ । महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले सेरो सर्वेक्षण गर्नका लागि अन्तिम तयारीमा रहेको बताए । “कोभिड– १९ को सङ्क्रमणबाट कति मानिस आफैँ नै सञ्चो भएका छन् । उनीहरुको सङ्क्रमण भए÷नभएको हामीलाई थाहा छैन”, उनले भने, “त्यसैले त्यस्ता मानिसमा रहेको भाइरसको अवस्था सेरो सर्भेलेन्सबाट थाहा हुनेछ ।” 

कोभिड– १९ को भाइरसको सङक्रमणको १४ दिनपछि मानिसमा एन्टिबडी उत्पन्न गर्दछ । सेरो सर्भेलेन्सबाट कोभिड– १९ को सङ्क्रमणमुक्त भएका मानिसको रगतमा भाइरसविरुद्धको एन्टिबडी कति बनेको थाहा हुनेछ । “मानिसमा रोगसँग लड्ने क्षमता हुन्छ । मानिस कुनै भाइरसबाट सङ्क्रमित भएपछि उसमा भएको रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाउने गर्दछ”, उनले भने, “त्यही रोगसँग लड्ने एन्टिबडी कति बनेको छ भनेर हेर्नका लागि पनि सेरो सर्भे गर्न थालिएको हो ।”

उनका अनुसार चाँडै नै सङ्क्रमण प्रभावित ठाउँमा गएर सेरो सर्भे गरिनेछ । नेपालमा अहिलेसम्म तीन लाख १५ हजार ५७० जनाको पिसिआर परीक्षण गर्दा १७ हजार ६५८ जनामा सङ्क्रमण देखिएको छ । यस्तै ११ हजार ६९५ जना सङ्क्रमणबाट मुक्त भइसकेका छन् भने ४० जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप