शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरसविरुद्धको खोप निर्माणमा नयाँ आशा

अक्सफोर्डको खोपले भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउने र सुरक्षित देखियो
सोमबार, ०५ साउन २०७७, २१ : १२
सोमबार, ०५ साउन २०७७

अक्सफोर्ड विश्वविद्यालयले परीक्षण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप सुरक्षित र भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउने देखिएको छ । १ हजार ७७ जनामा गरिएको खोपको परीक्षणमा उनीहरुको शरीरले भाइरसविरुद्ध लड्ने एन्टीबडी (antibodies) र टी–सेल (T-cell) निर्माण गरेको पाइएको हो ।

यो निकै उत्साहजनक खबर हो । तर, अहिले नै यस खोपले कोरोनाभाइरसविरुद्ध आवश्यक सुरक्षा प्रदान गर्छ भनेर भन्नु हतारो हुनेछ । यो सुनिश्चित गर्नका लागि ठूलो संख्यामा परीक्षण जारी रहेको छ । बेलायतले खोपको १० करोड डोज अर्डर गरिसकेको छ ।

सीएचएडीओएक्सव१ एनकोभ–१९ (ChAdOx1 nCoV-19) नाम दिइएको खोपलाई निकै तीव्र गतिमा निर्माण गरिदैछ । यसलाई चिम्पान्जीलाई रुघाखोकी लाग्ने भाइरसलाई जेनेटिकल्ली इन्जिनियर गरेर तयार गरिएको हो । मानिसलाई संक्रमण नहोस् भनेर र कोरोनाभाइरस जस्तो बनाउन यसमा थुप्रै परिवर्तनहरु गरिएका छन् ।

कोरोनाभाइरसले हाम्रो शरीरमा आक्रमण गर्नका लागि प्रयोग गर्ने स्पाइक प्रोटिनको जेनेटिक इन्सट्रक्सनलाई वैज्ञानिहरुले निर्माणाधिन खोपमा ट्रान्सफर गरेका छन् । यसको अर्थ खोप कोरोनाभाइरससँग मिल्दोजुल्दो छ । यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतालाई भाइरससँग लड्न सिकाउँछ ।

के हो एन्टीबडी र टी सेल्स भनेको ?

कोरोनाभाइरसको कुरा गर्दा धेरै ध्यान एन्टीबडीमा दिइन्छ । तर, यो हाम्रो शरीरको प्रतिरोधी क्षमताको एक अंग मात्र हो । एन्टीबडी भनेको हाम्रो शरीरको प्रतिरोधात्मक व्यवस्थाले निर्माण गरेको स–साना प्रोटिन हुन् जुन भाइरसको सतहमा टाँसिन्छन् । यसले कोरोनाभाइरसलाई निष्क्रिय बनाइदिन्छ ।

त्यस्तै, टी–सेल्स भनेको एक प्रकारको ह्वाइट ब्लड सेल हो । यसले हाम्रो शरीरको प्रतिरोधी क्षमतालाई शरीरको कुन कोषमा भाइरसको संक्रमण भएको छ भनेर पहिचान गर्न मद्दत गर्छ र त्यसलाई नष्ट गर्न सहयोग पुर्याउँछ । सबै प्रभावकारी खोपमा एन्टीबडी र टी–सेल हुन्छन् ।

यो खोप दिएको १४ दिन पछि टी–सेल र २८ दिनपछि एन्टीबडी उच्च तहमा पुगेको देखिएको छ । तर, यो कति लामो समयसम्म रहन्छ भनेर लामो समयसम्म भने अध्ययन नगरिएको लेन्सेन्टमा प्रकाशित रिपोर्टमा जनाइएको छ ।

अध्ययनमा खोप दिइएका ९० प्रतिशत व्यक्तिको शरीरले एक डोजपछि नै एन्टीबडी निर्माण गर्न सुरु गरेको थियो । १० जनालाई मात्र दुई डोज दिनुपरेको थियो । उनीहरु सबैको शरीरले एन्टीबडी निर्माण गरेको थियो ।

के यो सुरक्षित छ ?

छ, तर केही साइड इफेक्ट पनि देखिएका छन् । खतरनाक नभएपनि ७० प्रतिशतलाई ज्वरो र टाउको दुख्ने समस्या देखिएको छ । तर, अध्ययनकर्ताहरुले यसलाई प्यारासिटामोलले नियन्त्रण गर्न सकिने बताएका छन् ।

अब के ?

हालसम्मको विकास उत्साहजनक छ । तर, यो खोप सबैका लागि सुरक्षित छ भनेर सुनिश्चित गर्न जरुरी हुन्छ । अब बेलायतमा १० हजार जना यो खोपको परीक्षणमा सहभागी हुँदैछन् । बेलायतमा कोरोनाभाइरस संक्रमितको संख्या घट्दो क्रममा रहेको कारणले अमेरिकामा ३० हजार, दक्षिण अफ्रिकामा २ हजार र ब्राजिलमा ५ हजार जनामा यो परीक्षण गरिनेछ ।

अहिले ‘च्यालेन्ज ट्रायल’ "challenge trials" गर्ने कुरा उठेको छ जसमा खोप दिइएका व्यक्तिलाई जानीजानी कोरोनाभाइरसबाट संक्रमित बनाइन्छ । तर, यसको उपचार पत्ता नलागेको कारण यसबारे नैतिक प्रश्न पनि रहेका छन् ।

कहिले पाउन सकिन्छ खोप ?

यो वर्षको अन्त्यसम्म खोप तयार हुने सम्भावना रहेको छ । तर, तत्कालै यो सबैका लागि उपलब्ध हुनेछैन । यसलाई प्राथमिकताका आधारमा प्रदान गरिने बताइएको छ ।

यद्यपि, यो चरणमा पुगेको अक्सफोर्डको खोपमात्र एक्लो होइन । अमेरिका र चीनमा विकास भइरहेको खोपले पनि यस्तै नतिजाहरु दिइरहेको रिपोर्टहरु प्रकाशित भइरहेका छन् । अमेरिकी कम्पनी मोर्डना, बायो एनटेक र पीफाइजरले निर्माण गरेको आरएनए खोपले पनि सकारात्मक नतिजा दिइरहेका छन् । अक्सफोर्डजस्तै तरिका प्रयोग गरेर चीनमा निर्माण गरिएको अर्को खोपको नतिजा पनि सकारात्मक रहेको बताइएको छ ।

बीबीसी 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप