बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मनसुन सुरुवातसँगै १२३ जनाको मृत्यु, ४६ अझै बेपत्ता

मंगलबार मात्रै ९ जनाको मृत्यु, ३६ सडक पूर्ण अवरुद्ध
मङ्गलबार, ०६ साउन २०७७, २१ : ३२
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । अविरल वर्षासँगै सुरु भएको मनसुनका कारण ठुलो जनधनको क्षति भएको छ । जेठ ३० मा मनसुन सुरु भएपछि देशभर १२३ जनाले ज्यान गुमाएका छन् । साना–ठुला पहिरोका कारण देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग र ग्रामिण सडकमा ठुलो क्षति पुगेको छ । पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षाका कारण काठमाडौं आवत–जावतको मुख्य सडक पृथ्वी राजमार्गमा ठुलो क्षति पुगेको छ । 

पृथ्वी राजमार्गस्थित चितवन र धादिङ जोड्ने मौवाखोलाको पुलमा क्षति पुग्यो, धेरै ठाउँमा पहिरो खसेको छ ।  बाजुराको बुढीगंगा नगरपालिका–२ स्थित ताप्रिसेरा घट्टेखोला पुल बाढीले बगाएको छ ।  
सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–५ जम्बुमा याल्मो खोलाको बाढीले ठूलो क्षति गरेको छ । २४ असारमा आएको सो बाढीले बेपत्ता बनाएका १६ जनाको अझै अत्तोपत्तौ छैन । 

अविरल वर्षाको कारण आएको बाढी र पहिरोमा परेर देशभर ११९ जना घाइते भएको प्रहरीले जनाएको छ । मनसुनी बाढी र पहिरोका कारण घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । 
‘मनसुन सुरु भएपछि ११९ जना घाइते  भएका छन्’ नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) निरज शाहीले भने, ‘९ जनालाई सकुशल उद्धार गरिएको छ ।’ 
बाढी र पहिरोले देशभर ४६ जनालाई बेपत्ता बनाएको छ । तराई–मधेशका धेरै भुभाग डुवानमा परेका छन् ।  

मंगलबार ९ जनाको मृत्यु 
तीन दिनदेखि परेको अविरल वर्षाक कारण मंगलबार ९ जनाको ज्यान गएको छ । काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर ३ बर्षका जुम्ल्याहाको मृत्यु भयो । 
धनकुटाको भेरी–२ गुराँसे घर भएका रामकुमार रानामगरका छोरा सचिन र छोरी सन्ध्याको मृत्यु भएको महानगरीय प्रहरी वृत महराजगन्जका डिएसपी रोशन खड्काले बताए । 
यसैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।   

त्रिपुरासुन्दरी–६ स्थित गल्याङमा गएराति आएको पहिरोले पुरिएर २५ वर्षीय मिलन खाँण, २२ वर्षीया सम्झना खाँण र उनीहरुको डेढ वर्षीया छोरीको मृत्यु भएको हो ।
नवलपरासी (सुस्ता पूर्व)को बुर्लिङटार गाउँपालिकामा पहिरोले पुरेर शेरबहादुर नेपाली र खिनीमाया नेपालीको मृत्यु भएको नवलपरासी (सुस्ता पूर्व)का एसपी दिपक रेग्मीले जानकारी दिए । मृतक दम्पत्ति हुन् । 

दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ मा पहिरोले घर पुर्दा सुतिरहेका २४ वर्षीय अर्जुन दर्जी र १८ वर्षीय मिलन दर्जीको ज्यान गएको छ । 
बिहान करिब ३ बजे आएको पहिरोले स्थानीय लक्ष्मी ढोली गम्भीर घाइते भएकी छिन् । उनको छोरा ९ वर्षीय सुगम परियार र १२ वर्षीया छोरी सोनिया परियार सामान्य घाइते भएका छन् । 

३६ सडक पूर्ण अवरुद्ध
अविरल वर्षाको कारण आएको बाढी र पहिरोबाट साना–ठूला ३६ राजमार्ग र सहायक राजमार्ग पूर्ण रुपमा अवरुद्ध छन् । 


पृथ्वी राजमार्ग लगायत अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ । 

विभागले ग्याविन जाली भरेर पृथ्वी राजमार्गको मौवाखोलाको पुलसँगै भत्केको सडक संचालनमा ल्याउने प्रयास गरिरहेको छ । 
स्थानीय निकायहरुले बैकल्पिक बाटो खोलेर आवत जावत सहज बनाउने प्रयास गरिरहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप