शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यात्रुको गुनासो : गाडी भाडा चर्को भयो, एकै दिन परे २ सय ६३ सवारीसाधन कारबाहीमा (भिडियोसहित)

बिहीबार, ०८ साउन २०७७, १४ : ४०
बिहीबार, ०८ साउन २०७७

यादव नेपाल कहिलेकाहीँ कोटेश्वरबाट सातदोबाटोसम्म सार्वजनिक बसमा यात्रा गर्छन् । लकडाउन पहिले १५ रुपैयाँ भाडा लिने बसले अहिले ३० रुपैयाँ लिन थालेका छन् । सरकारले सामाजिक दूरी कायम गरी बसमा यात्री राख्न र पहिलेको भाडाअनुसार ५० प्रतिशत बढी लिन सहमति दिएको थियो । त्यसअनुसार बसले १५ रुपैयाँ भाडामा ५० प्रतिशत बढाउँदा साढे २२ रुपैयाँ भाडा लिनुपथ्र्यो । 

विकास मगर लतिपुरको एकान्तकुनाबाट खरिबोटसम्म बसमा यात्रा गर्ने गर्छन् । उनले १५ रुपैयाँ भाडा तिर्ने  गरेकोमा अहिले ३० रुपैयाँ तिर्नुपरेको बताए । भाडा ठ्याक्कै दोब्बर भएको उनको गुनासो थियो ।  
रमेश विष्ट पहिले विद्यार्थी परिचयपत्र देखाएर १० रुपैयाँमा छोटो दूरीको यात्रा गर्थे । तर अहिले उनले ३० रुपैयाँ तिर्ने गरेका छन् । उनले भने– ‘कसैले ३० रुपैयाँ कसैले २५ रुपैयाँ लिने गरेका छन् । भाडा पहिलेको भन्दा चर्को भयो ।’

ईश्वर खड्का जुनेली यातायातका सहचालक हुन् । चक्रपथमा सञ्चालन हुने सो बसले पहिलेको भाडा अनुसार ५० प्रतिशत मात्र लिने गरेको बताए । 
ललितपुर काठमाडौँ टेम्पो चलाउने विनोद शाही लकडाउनमा यात्रीको सङ्ख्या पनि कम भएको र भाडा बढेको बताउँछन् । पहिलेको भाडाअनुसार ५० प्रतिशत बढी लिने गरेको उनले बताए । उनले एक पटक ६ जना यात्री बोक्ने गरेका छन् । कार्यालय समयमा भने टेम्पोभरी यात्री भए पनि धेरै भीड हुने भएका कारण झार्ने गरेको उनले बताए । झन्डै ४ महिनाको लकडाउन खुलेपछि सार्वजनिक बसका यात्रीहरुले चर्को भाडा तिर्नुपरेको गुनासो उनले गरेका छन् । 


सरकारले गत असार १ गतेदेखि लकडाउन खुकुलो गर्दैैै सुरक्षा सावधानी अपनाउँदै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले विभिन्न माग अघिसार्दै बस सञ्चालनमा असहयोग गर्दै आएका थिए । गत सोमबारदेखि भने बस सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका छन् । साथै मन्त्रिपरिषद्को बैठकले भदौदेखि लामो स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै बस सञ्चालन गर्ने निर्णय गरेको छ । 

बसमा यात्री थोरै, स्यानिटाइजर अनिवार्य

काठमाडौँ उपत्यकामा सञ्चालनमा आएका बसहरुमा लकडाउन खुले पनि यात्रीहरुको सङ्ख्या भने निकै न्यून रहेको छ । सरकारले दूरी कायम गर्दै बस चलाउन भनेअनुसार बस चलाएको तर दिनभर गाडि गुडाउँदा पनि डिजेल खर्च उठाउन धौधौ पर्ने सवारी चालक बताउँछन् । 

चक्रपथमा बस चलाउँदै आएका सवारी चालक अनिल तिमिल्सना यात्रीको सङ्ख्या पनि कम रहेका कारण दिनभर बस चलाउँदा पनि डिजेल खर्च उठाउन पनि धौधौ पर्ने बताउँछन् । जुनसुकै देशमा पनि सहरी क्षेत्रमा चल्ने बसमा यात्रीहरुलाई उभ्याएर यात्रा गराउने गरेको बताउँदै उनले बसभरी यात्री नभएसम्म घाटा लाग्ने उनले बताए । कोरोनाको जोखिमलाई मध्यनजर गर्दैै सरकारले गरेको निर्णयअनुसार नै  बस चलाउन थालेको उनले बताए । 
अधिकांश बसमा स्यानिटाइजर राखिएको छ भने कार्यालय समयमा कुनै कुनै बसहरु मापदण्डविपरीत चलेका पनि भेटिन्छन् ।

ट्राफिकले कति ग-यो कारबाही ?  
लकडाउन खुलेसँगै सडकमा सवारी चाप बढेको छ । कोरोना भाइरस रोकथाम मापदण्ड पालना नगर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनलाई कारबाही थालेको छ । 

बुधबार ट्राफिक प्रहरीले कूल २ सय ६३ सवारी साधानलाई कारबाही गरेको छ । यस्तै मापदण्ड पूरा नगर्ने र बढी यात्री राख्ने ३२ सार्वजनिक बस, ट्याक्सी, टेम्पोलाई बेलुका ८ बजेसम्म सडकमा होल्ड गरेर कारबाही गरेको ट्राफिक प्रवक्ता एससपी  बामदेव गौतमले जानकारी दिए । ट्राफिक प्रहरीले सडकमा गुड्ने यात्रीबहाक सवारी सधानले सङ्क्रामक रोग रोकथामका लागि मापदण्ड पालना गरे नगरेको बारे अनुगमन महाशाखाबाट ३ टोली खटाइएको जानकारी दिए । 

ट्राफिक प्रहरीले रसिद काटेर आर्थिक जरिवाना नगरी सडकमा सवारी होल्ड गरेर कारबाही गर्न थालेको छ । यस्तै काठमाडौँ उपत्यकामा चल्ने सवारी साधानहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारेमा विभिन्न २९ ठाउँमा अनुगमनका लागि प्रहरी परिचालन गरेको र विभिन्न स्थानमा रहेका ट्राफिक पोस्टहरुले पनि अनुगमन गरेर जानकारी दिने प्रवक्ता गौतमले बताए । 

सवारी साधनले बढी भाडा लिएको बारे हालसम्म प्रहरीलाई गुनासो नआएको र त्यस्तो भए ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे । 

भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप