बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा संकटमा छ, तर विभाजन रोक्न अन्तिम प्रयास जारी छ: अध्यक्ष प्रचण्ड

शुक्रबार, ०९ साउन २०७७, १५ : ४१
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संकटमा परेपनि विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहने बताएका छन् ।  शुक्रबार पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीलाई विभाजन हुन नदिएर एकताबद्ध राख्ने प्रतिवद्धता जनाएका हुन् । 

‘पार्टी विभाजन हुन दिइने छैन र एकताबद्ध राखिनेछ’ प्रचण्डको भनाई छ । उनले नेकपालाई व्यक्ति केन्द्रीत नभई विचार केन्द्रीत पार्टी बनाउने दावी पनि गरे ।  ‘पार्टीलाई विचार केन्द्रीत बनाइनेछ र विधि र पद्धतिमा चलाइने पार्टी बनाइनेछ । यो बहसको यो अन्तिम निश्कर्ष पार्टीमा विचार पनि स्पस्ट भएर आउने छ र विधिलाई पालना गर्ने कुरालाई जन्म दिने छ’ प्रचण्डको भनाई छ ।

उनले विचारको बहस गर्ने क्रममा कसैले पनि अहिले जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवाद नै पार्टीको कार्यदिशा बनिनसकेको भन्दै नयाँ विचारको खोजी भइरहेको र त्यसक्रममा पार्टीमा केही विवादहरु देखिएको बताए । उनले पार्टीको विचार नै सर्वैसर्वा हुने भन्दै कम्युनिस्ट पार्टीमा त्यही विचारका आधारमा सामूहिक नेतृत्व प्रणालीको विकास गरिने बताए । ‘पार्टी भनेको विचार विधि हो । विचार र विधि पद्धति नै पार्टी हो । यसमा एकरुपता कायम गर्नुपर्छ । यहि प्रयास हामीले गर्नुपर्छ’, प्रचण्डको भनाई छ । 

उनले सामूहिक निर्णयलाई नमाने एकता निश्कर्षमा नपुग्ने पनि बताए । पार्टी एकतापछि पार्टीमा समाजवादी राजनीति, अर्थतन्त्र र संस्कृतिको बहस चलिरहेपनि त्यो बहस जनतामा लैजान नसकिएको स्वीकार गरे । प्रचण्डले पार्टीको जारी बैठककै बेला नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको र देशभरी नाराजुलुस भएकाले धेरै नेता कार्यकर्तामा पार्टी एकता नसकिँदै फुट्न लागेको हो कि भन्ने आशंका उब्जनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । 
प्रचण्डले एकताको २ वर्षसम्म केन्द्रीय समिति बैठक गर्न नसक्नुमा नेतृत्व चुकेको भन्दै यो बीचमा सरकार र पार्टीको सम्बन्धमा दरार उत्पन्न भएको बताए । उनले अहिले सरकारले पार्टीमाथि हैकम चलाएको जस्तो देखिएको पनि बताए । ‘पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । सरकारले पार्टीमाथि हैकम चलाउने होइन’, प्रचण्डको भनाई छ । 

प्रचण्डले एकता र संघर्ष कम्युनिस्ट पार्टीमा सामान्य भन्दै तर चोचोमोचो मिलाएर एकता सम्भव नहुने बताए । ‘चोचोमोचो मिलाएर हुँदैन । त्यसबाट मात्रै एकता हुन्छ भन्ने जरुरी छैन । एकता, संघर्ष र रुपान्तरण । नयाँ आधारमा नयाँ एकता हुने हो’ प्रचण्डको दावी छ । कार्यक्रममा बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा विधि पद्दति र सामूहिक नेतृत्वको विकास गर्न जरुरी रहेको धारणा राखेका थिए  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप