शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘फेस शिल्ड’ लगाइ नाकामा खटिन थाले प्रहरी

आइतबार, ११ साउन २०७७, १० : १९
आइतबार, ११ साउन २०७७

पूर्वीनाका काँकडभिट्टामा कार्यरत प्रहरीले कोभिड–१९ सङ्क्रमणको जोखिमबाट बच्न ‘फेस शिल्ड’को प्रयोग गर्न थालेका छन् । 

यसअघि मास्क, ग्लोब र स्यानिटाइजर मात्र लगाएर सीमाको ड्युटीमा खटिने नेपाल प्रहरीले अबदेखि अनिवार्य ‘फेस शिल्ड’को प्रयोग गर्नुपर्ने नियम लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

पूर्वीनाका काँकडभिट्टा भारतबाट नेपालीहरु आउने मुलुकको प्रमुख स्थलनाका हो । यसै साता नाकामा कार्यरत २० सशस्त्र प्रहरीमा कोभिड–१९ सङ्क्रमण भएपछि नेपाल प्रहरीले सतर्कता अपनाएको हो । 

इलाका प्रहरी कार्यालय काँकडभिट्टा मातहत सीमाक्षेत्रमा १४० प्रहरी परिचालित छन् । जसमध्ये सीमा, होल्डिङ सेन्टर, मोबाइल गस्ती र क्वारेन्टिनमा खटिएका प्रहरीलाई एन–९५ मास्क, स्यानिटाइजर, ग्लोब र ‘फेस शिल्ड’ अनिवार्य गरिएको उनले जानकारी दिए ।

कोभिड–१९ को सङ्क्रमणबाट जोगिन प्रयोग हुने ‘फेस शिल्ड’, एन–९५ मास्क, ग्लोब र स्यानिटाइजर नेपाल प्रहरीले आफ्नै खर्चमा खरिद गरेको हो । १० थान गुणस्तरीय पिपिइ सेट र ११० थान रेनकोटजस्तै सामान्य पिपिइ सेटसमेत इलाका प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ ।
 
हाल कार्यालयसँग ५० थान मात्र ‘फेस शिल्ड’ भएको हुँदा सबै प्रहरीले प्रयोग गर्न पाएका छैनन् । जोखिम क्षेत्रमा खटिनेले मात्र ‘फेस शिल्ड’ लगाएका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका ४५ प्रहरीको यसै साता स्वाब परीक्षण गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप