शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलबाट उडान बन्द

सोमबार, २६ भदौ २०७४, १६ : ३२
सोमबार, २६ भदौ २०७४

ताप्लेजुङ । कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन् । 

मौसम खरावीकै कारण गत असारको यहाँ हवाईसेवा बन्द छ । नेपाल वायुसेवा निगमले साताको बुधबार र शुक्रबार काठमाडौँ–ताप्लेजुङ उडान भर्दै आएको थियो । लामो समयदेखि उडान रोकिएपछि बाह्य तथा आन्तरिक पर्यटक कठिन यात्रा गर्न बाध्य छन् । 

मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रको सडकमा पहिरो झर्नेलगायतका कारण दुर्घटनाको जोखिम अत्यधिक हुन्छ । प्रायः यात्रुले हवाई यात्रालाई नै रोज्ने गरेका छन् । बिरामीले पनि उपचारका लागि हवाईसेवा उपभोग गर्ने गरेका छन् । 

जिल्लामा बाह्य तथा आन्तरिक पर्यटकको ओहोरदोहोर निकै बाक्लो हुने गर्छ । दशैँ तिहारलगायतका चाडाबाड नजिकिँदै जाँदा उडान नहुँदा टिकट बुकिङ गर्न नसकिएको नेपाल वायुसेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताउनुभयो । मौसममा सुधार आए उडान हुन सक्ने बताए । 

कालोपत्र गरेर दोहोरो धावन मार्ग बनाइए सेवा बन्द हुँदा मारमा परेका स्थानीयवासीको भनाइ छ । कालोपत्र गरेर दोहोरो धावन मार्ग निर्माण भएसँगै बाह्रै महिना जहाज सञ्चालन हुने भनिए पनि उडान ठप्प हुँदा स्थानीयवासी आक्रोशित बनेका छन् । विसं २०२८ मा निर्माण भएको यो विमानस्थललाई चार दशकपछि झण्डै रु नौ करोडको लागतमा कालोपत्र गरिएको थियो । कालोपत्र गरिएपछि निजी कम्पनीका गोमा र तारा एयरलाइन्सले केही समय उडान भरेका थिए । हाल ती उडान बन्द छन् । पछिल्लो समयमा नेपाल वायुसेवा निगमले मात्र उडान भर्दै आएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप