शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले आफ्नै पिठ्यूँ थप्थपाए तर डब्ल्यूएचओले गर्‍यो चीन र जर्मनीको तारिफ

मङ्गलबार, १३ साउन २०७७, ०६ : २१
मङ्गलबार, १३ साउन २०७७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ परीक्षण सेन्टरको भिडियो कन्फरेन्सिङमार्फत् उद्घाटन गरे । यसले पश्चिम बंगाल, महाराष्ट्र र उत्तर प्रदेशलाई फाइदा पुग्नेछ । मोदीले यतिबेला आफ्नै निर्णयको तारिफ गर्दै तत्काल लिइएको निर्णयका कारण भारतको स्थिती राम्रो भएको बताए ।

मोदीले भने, ‘कोरोनासँग लडाईंको मामिलामा भारतको स्थिती अन्य देशको तुलनामा राम्रो छ । भारतमा कोरोनाका कारण भएको मृत्यु अन्य देशको तुलनामा निकै कम छ । जनवरीमा हामीसँग कोभिड–१९ को परीक्षणका लागि एउटा मात्रै प्रयोगशाला थियो र अब यो १३ सय पुगेको छ ।’

यद्यपि, कोरोनाविरुद्धको लडाईंमा डब्ल्यूएचओले जुन देशको तारिफ गरेको छ, त्यसमा भारतको नाम कहिँ कतै छैन । डब्ल्यूएचओले चीन, जर्मनी र दक्षिण कोरियाको प्रशंसा गरेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेयाससले डब्ल्यूएचओले अहिलेसम्मको सबैभन्दा खराब विश्वव्यापी स्वास्थ्य संकटको सामना गरिरहेको कुरामा कुनै शंका नभएको सोमबार बताएका छन् ।

संसारभरीका एक करोड ६० लाखभन्दा बढी मानिसहरु यसबाट संक्रमित भइसकेका छन् । डाक्टर टेड्रोस एडहानोम गेब्रेयासस जेनेभाबाट एक भर्चुअल न्यूज ब्रिफिङलाई सम्बोधन गरिरहेका थिए ।

उनले भने, ‘मास्क लगाउनेदेखि भीडभाडबाट बच्नेसम्म, यस्ता उपायलाई कडा रुपमा पालना गरेर संसारले यो महामारीलाई मात दिनसक्छ ।’

महामारीमाथि रोकथाम गर्न सफल क्यानडा, चीन, जर्मनी र दक्षिण कोरियाजस्ता देशको तारिफ गर्दै डब्ल्यूएचओका महानिर्देशकले भने, ‘जहाँ यी सुरक्षाका उपायको पालना गरिएको छ, त्यहाँ कोरोना संक्रमितको संख्या कम छन् । जहाँ यसको पालना गरिएको छैन, त्यहाँ संक्रमितको संख्या दिनानूदिन बढिरहेको छ ।’

संसारका विभिन्न स्थानमा कोरोना संक्रमण पुनः फर्किरहेको छ । यसमा ती क्षेत्र वा देश पनि समावेश भएका छन् जहाँ स्थिती नियन्त्रणमा लिइएको ठानिकएको थियो । यो महामारीले अहिलेसम्म करिब साढे ६ लाख मानिसहरुको ज्यान लिएको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप