शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखियो : मणि थापा

बुधबार, १४ साउन २०७७, १६ : ३५
बुधबार, १४ साउन २०७७

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताएका छन् । उनले भने, ‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आइपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढ्नुपर्छ ।’ 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे । उनले भने,‘म एकताको पक्षमा छु । म महाधिवेशनबाट नयाँ नेकपा बनाउने पक्षमा छु । अबको एकता महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने पक्षमा छु ।’ उनले पार्टीभित्र पछिल्लो समय चलेको बहस र आन्तरिक संघर्षले पार्टी टुट÷फूट हुने हो कि भन्ने आम नेता तथा कार्यकर्तामा चिन्ता भएपनि पार्टी फुटको चरणमा नभएको दाबी गरे । 

थापाले हिजोको बैठकमा आफू अनुपस्थित भएको पनि सुनाए । उनले भने,‘दुई अध्यक्षको सहमतिको आधारमा नै बैठक स्थगित भएको भन्ने कुरा आएको थियो, त्यही भएर म गइनँ । तर, हिजो बालुवाटारमा बसेको स्थायी कमिटीको मिटिङको बारेमा मेरो विरोध छैन ।’

हिजोको बैठकमा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पक्षमा राखेको ६ बुँदे प्रस्ताव सही रहेको र आफूलगायत ११ जना स्थायी कमिटी सदस्यहरूले यसअघि नै त्यही आशयको प्रस्ताव ल्याइसकेको पनि उनले जानकारी दिए । 
उनले हिजोबाट नेकपा सहमति, सहकार्य र एकताको पक्षमा आएको विश्वास व्यक्त गरे । उनले भने,‘नेकपाको शक्ति सन्तुलन अब एकताको पक्षमा आएको छ।’ एकताको मर्मपनि पाँच वर्ष नै केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र महाधिवेशनसम्म दुवै अध्यक्ष रहने भन्ने रहेकोले अहिले पार्टी सोही दिशामा आईपुगेको उनको तर्क छ । उनले भने,‘मेरो पनि यही धारणा हो । पाँच वर्ष नै केपी ओली प्रधानमन्त्री र प्रचण्ड कमरेड कार्यकारी अध्यक्षको भूमिका रहने, चैत्रमा एकता महाधिवेशन्न सम्पन्न गर्ने हो । यो भनेको आम धारणा पनि हो ।’

उनले बहुमत/अल्पमतको आधारमा नभई सहमतिको आधारमा निर्णय हुनुपर्ने पनि धारणा राखे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप