शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको दोस्रो लहरको डर : युरोपमा चिन्ता र तयारी

बिहीबार, १५ साउन २०७७, ११ : २६
बिहीबार, १५ साउन २०७७

कोरोनाभाइरसको महामारीले सारा संसारलाई हावाकावा खेलाइरहेको छ । यसका विरुद्ध खोप बन्ने प्रक्रिया संसारभरि नै युद्धस्तरमा भइरहेको छ । केही मुलुकहरु खोपको अन्तिम चरणमा पुगिसकेको खबरले केही राहत त दिएको छ तर अहिले नै यसै होला भनेर भन्न सकिने स्थिति भने छैन । यस स्थितबीच कोरोनाभाइरस महामारीको सम्भावित दोस्रो चरणको लहर आउन सक्ने भयले युरोपका केही देशहरुले यसविरुद्ध अपनाइरहेका सुरक्षाका उपायहरुलाई झनै कडा बनाउन थालेका छन् ।

गएको हप्ता थुप्रै मुलुकहरुमा कोरोनाभाइरस संक्रमणको दरमा ह्वात्तै बृद्धि देखिएको छ । जर्मनीले कोरोनाभाइरसको दोस्रो लहर आउन सक्ने सम्भावनाका विरुद्ध तयारी थालिसकेको छ । त्यहाँको स्वास्थ्य अधिकारीहरुले दैनिक संक्रमणको दर ५०० बाट बढेर ८०० पुगेको जनाएको छ । महामारी शुरुभएयता जर्मनीमा मात्रै २ लाख मानिसहरु संक्रमित भइसकेका छन् । पछिल्लो सात दिनमा मात्रै त्यहाँ कोरोनाको संक्रामकताको दर १.०५ बाट बढेर १.१६ पुगेको छ । चिकित्सीय र वैज्ञानिक भाषामा आर नट भनिने यो मानकले देखाएअनुसार एउटा संक्रमित व्यक्तिले अर्को स्वस्थ्य व्यक्तिमा संक्रमण सार्ने स्थिति रहेको बुझाउँछ ।

कोरोनाभाइरसविरुद्धको लडाइँमा जर्मनीमा निको हुनेहरुको हिसाबले संसारकै सबैभन्दा राम्रोमध्येका एक मानिन्छ ।

पछिल्लो पटक जर्मनीमा कोरोनाभाइरस संक्रमणको नयाँ चरण देखापर्नुको कारणमा त्यहाँ मनाइएका ठूला उत्सवहरुलाई मानिएको छ । विदा पर्व  मनाइने गतिविधि, कार्यालयखुल्नु तथा समुदाय तथा स्वास्थ्य संस्थामा मानिसहरुको आवातजावतका बढ्दो गतिविधिहरुले गर्दा त्यहाँ संक्रमणमा बढोत्तरी भएको छ । त्यसैगरी, घर फर्कने यात्रीहरुलाई पनि त्यसरी संक्रमण बढ्नुको एउटा कारण मानिएको छ ।

यो स्थितिमा जर्मनीले कोरोना संक्रमणको उच्च जोखिम रहेका मुलुकहरुबाट फर्केकाहरुलाई अनिवार्य रुपमा परीक्षण गराउनुपर्ने व्यवस्था गर्न लागेको छ ।

जर्मनीले जस्तै फ्रान्सले पनि कोरोनाभाइरसको दोस्रो लहरका विरुद्ध तयारी थालेको छ । अहिले फ्रान्समा पनि दैनिक संक्रमितको संख्यामा बृद्धि भएर आएको छ । अहिले फ्रान्सका अस्पतालमा दैनिक १ हजार नयाँ संक्रमणका केसहरु आइरहेका छन् । महामारी शुरुभएयता फ्रान्समा २ लाख १७ हजार जना संक्रमित भइसकेका छन् । बीचमा केही समय ओरालो लागेको संक्रमणको दर फेरि उकालो लाग्न थालेपछि फ्रान्सका स्वास्थ्य अधिकारीहरुले फ्रान्स कोरोनाभाइरस महामारीको सन्दर्भमा गलत दिशातिर गइरहेको पो हो कि भनेर चेतावनी नै दिइसकेका छन् ।

उता स्पेनमा पनि त्यहाँको बार्सिलोना, जारागोजा र म्याड्रिड जस्ता शहरहरुमा नयाँ संक्रमण देखापर्न थालेको छ । त्यहाँको सरकारी तथ्यांकअनुसार गएको तीन हप्तामा संक्रमणको दर तेब्बर बढेर गएको छ । अहिले संक्रमण तीब्र रुपमा देखापरेका क्षेत्रहरुमा स्पेन सरकारले कडा उपायहरु अवलम्बन गरेको छ । स्पेनको क्याटालोनियाका सरकारले सबै रात्रीक्लबहरु र रात्रिकालीन बारहरु आगामी दुई हप्ताका लागि बन्द गराइसकेको छ । स्पेनमा कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुले पनि आफूलाई आइसोलेसनमा नराखेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारहिरुले कडा चेतावनी दिएका छन् ।

बेलायत र नर्वेले स्पेनबाट आउने मानिसहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने घोषणा गरिसकेको छ । त्यसैगरी, फ्रान्सले पनि आफ्ना नागरिकहरुलाई स्पेनको क्याटालोनियामा भ्रमण नगर्न चेतावनी दिएको छ ।

उता इटालीले पनि रोमानिया र बुल्गेरियाबाट आउने यात्रीहरुलाई दुई हप्ता आइसोलेसनमा राखेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप