बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेलाडीको पर्खाइमा खेल मैदान

बिहीबार, १५ साउन २०७७, १८ : ३१
बिहीबार, १५ साउन २०७७

काठमाडौं । महामारीको रुप लिएको कोभिड-१९ का कारण यति बेला अधिकांश खेल स्थलमा खेलकुद गतिविधि हुन सकेका छैनन् । दशरथ रंगशाला, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, एन्फा टेक्निकल सेन्टर र राष्ट्रिय खेलकुद परिषदका कर्भडहल खेलाडीको पर्खाइमा छन् । 

राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बिहानी सत्रमा ब्याडमिन्टन खेलाडीले अभ्यास गरिरहेका छन् । तर दिउँसोको समय खाली छ । राखेपले तोकेको कोभिड १९ रोकथामको मापदण्डलाई पूरा गर्दै ब्याडमिन्टन टोलीले अभ्यास गरिहेको छ । कभर्डहलमा ब्याडमिन्टन बाहेक अन्य कुनै पनि खेलको अभ्यास हुन सकेको छैन ।

राखेपको कभर्डहल सँगै जोडिएको दशरथ रंगशालामा कर्मचारी मर्मत सम्भारमा जुटिरहेका छन् । दुबो रोप्ने, पानी राख्ने काम भइराखेको छ । लकडाउन सुरु भएदेखिको चार महिनामा रंगशालामा खेलकुदका कुनै पनि गतिविधि भएका छैनन् । अहिले रंगशालामा अस्ट्रेलिया र चाइनिज ताइपेइसँग हुने खेलका लागि काम भइरहेको छ । सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटका लागि नेपालले दशरथ रंगशालामा अस्ट्रेलिया र ताइपेइसँग खेल खेल्नेछ । त्यसका लागि अहिले मैदान मर्मतको काम भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भने पिचको काम भइरहेको छ । साथै घाँस काट्ने कामले पनि तीब्रता पाइरहेको छ । बर्खायामा घाँस पलाउने हुँदा कर्मचारीले मेसी लगाएर मैदान बनाउन काममा जुटिरहेका छन् । सामान्य अवस्था भएको भए अहिले त्रिवि मैदानमा नेपालको चर्चित फ्रेन्चाइज लिग इपिएल हुने थियो ।

त्यस्तै केही अन्तर्राष्ट्रिय खेलमा पनि प्रतिस्पर्धा हुने थियो । त्रिवि मैदानमा व्यस्त क्रिकेट प्रतियोगिताका तालिकाले गर्दा केही वर्षयता पिचको काम भएको थिएन । तर लकडाउनको समयमा कर्मचारीले यथेस्ट समय लिएर मैदानको मर्मत गरिरहको छन् ।

एन्फा टेक्निकल सेन्टरको मैदानमा कुनै तालिका छैन् । भदौ १ गते देखी विश्वकप छनोटको अभ्यास हुने भएकाले मैदानमा कुनै कार्यक्रम राखिएको छैन् । अन्य ठाउँका खेल स्थलमा पनि कतै मर्मत सम्भारको काम भइरहेको छ भने कतै निर्माण कार्यलाई तिब्रता दिइएको छ । च्यासल मैदानको मर्मत गर्नेकाम ९५ प्रतिशत सकिएको छ । भदौ अन्तिम साता राखेपलाई हस्तान्तरण गर्ने गर्ने गरी खेल मैदान निर्माणको काम भइरहेको छ ।

व्यस्त तालिकामा हुने सबै खेल मैदानहरु अहिले शून्य प्रायः छन् । खेलस्थल खेलाडीको पर्खाइमा छन् भने खेलाडी अभ्यासका लागि मैदान पुग्न आतुर छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप