बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली किन गर्न चाहाँदैनन् प्रचण्डसँग संवाद ?

शुक्रबार, १६ साउन २०७७, १७ : ००
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । साउन १३ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक र पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रस्तुत गरेका ६ बुँदे प्रस्तावपछि पार्टीमा तीव्र असन्तुष्टि बढेको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्माओलीले स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बसाएका थिए । सो बैठकमा अधिकांश प्रचण्ड–माधवकुमार नेपाल समूहका नेताहरुको सहभागिता रहेको थियो ।

ओली समूहले त्यो बैठकलाई गुटको बैठक भनेको छ तर सोही बैठकले पार्टीको आन्तरिक विवाद समाधानका लागि अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न जिम्मेवारी दिएको छ । पार्टीले गरेको निर्णयअनुसार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीसँग छलफल गर्न प्रयास गरिरहेका छन् तर सफल भइरहेका छैनन् ।

अध्यक्ष प्रचण्डले छलफलका लागि पटक–पटक खबर पठाए पनि प्रधानमन्त्री ओलीले इच्छा देखाएका छैनन् । अध्यक्ष प्रचण्डले हिजो पार्टीका महासचिव विष्णु पौडेललाई बोलाएर पनि यो विषयमा छलफल गरेका छन् । खुमलटार स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले महासचिव पौडेललाई पार्टीमा देखिएका विवादलाई चाँडै समाधान गर्नुपर्ने जनाउँदै यो समस्या तत्काल समाधान नभए विष्फोट हुनसक्ने बताएका छन् ।  

यो समस्याले सबैलाई डुवाउने बताउँदै प्रचण्डले यो समस्या समाधान गर्न प्रधानमन्त्री ओलीले पहल लिनुपर्ने भनेका थिए । पौडेलसँगको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीमा प्रधानमन्त्री ओलीका कारण विवाद बढेको समेत बताएका थिए । यसको समाधान प्रधानमन्त्री ओलीले नै गर्नुपर्ने भन्दै उनले छलफलको वातावरण तयार गर्न भनेका थिए ।

वार्ताका लागि वतावरण बनाउने सन्देश दिएर महासचिव पौडेल फर्केपनि हालसम्म प्रधानमन्त्री ओलीले वार्ताका लागि कुनै संकेत दिएका छैनन् । बरु आफ्ना गुटका नेताहरुसँग बालुवाटारमा दैनिक जस्तो छलफल गरिरहेका छन् । प्रचण्ड–माधव गुटलाई कसरी गलाउन सकिन्छ भन्ने रणनीति तयार नभएसम्म उनी प्रचण्डसँग छलफल गर्ने तयार छैनन् ।

यता, अध्यक्ष प्रचण्ड पनि आफ्ना गुटका नेताहरुसँग दिनदिनै खुमलटारमा छलफल गरिरहेका छन् । उनी आफ्नो गुटबाट बिच्किएका नेताहरुलाई मिलाउने प्रयास गरिरहेका छन् । असार १० गतेदेखि बसेको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजिनामा दिने कुरा उठेपछि विवाद उत्पन्न भएको हो ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान लिएपछि स्थायी कमिटीको बैठक प्रभावित भएको छ, हाल सो बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यता स्थायी कमिटीको बैठक स्थगित भइरहेका बेला उता केन्द्रीय समितिको बैठक माग गर्दै दुई तिहाई केन्द्रीय सदस्यहरुले पार्टीमा लिखितपत्र दर्ता गराएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप